२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

संघीय सांसदका टुक्रे योजना

अवधेशकुमार झा

राजविराज — सप्तरीका संघीय सांसदले संसदीय विकास कोषको रकम यस वर्ष पनि टुक्रे योजनामै खन्याएका छन् । कतिपय सांसदले ५–६ वटा योजनालाई एउटैमा गाभेर १–१ लाख रुपैयाँको लगानी हुने टुक्रे योजनासमेत राखेका छन् ।

संघीय सांसदका टुक्रे योजना

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत संघीय सांसदले ४ करोड रुपैयाँ बराबरको योजना एक आर्थिक वर्षमा सञ्चालन गर्छन् । स्थानीय तहमार्फत ती योजना कार्यान्वयन गरिन्छ । चार वटा संघीय निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ का योजना अझै छनोट हुन नसकेको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ । निर्देशिकाअनुसार मंसिर १५ भित्रै योजना छनोट गरिसक्नुपर्ने प्रावधान छ ।

संघीय निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने र सो क्षेत्रका अन्य संघीय समानुपातिक सांसद एवं प्रदेश सांसद तथा क्षेत्रभित्रका स्थानीय तहका प्रमुख समितिको सदस्य रहने तथा जिल्ला समन्वय समितिका प्रमुख सदस्य सचिव हुन्छन् । यही व्यवस्थाबमोजिम सप्तरी क्षेत्र नम्बर ४ मा छानिएको योजनामा १ लाख रुपैयाँसम्मका योजना समेटिएको छ । त्यस क्षेत्रका प्रत्यक्ष सांसद कांग्रेसका तेजुलाल चौधरी हुन् । क्षेत्र नम्बर ४ अन्तर्गत सुरुंगा नगरपालिकामा ९४ लाख, बोदेवरसाइन नगरपालिकामा १ करोड, खड्ग नगरपालिकामा ९७ लाख र बलानबिहुल गाउँपालिकामा ८९ लाखबराबरका योजना छनोट गरिएको छ । तीमध्ये प्रायः योजना मठ–मन्दिर निर्माणमा राखिएको छ । बलानबिहुल गाउँपालिकाअन्तर्गत तपसी बाबाको मन्दिरको पर्खाल लगाउन १ लाख, बरकी टोल मल्हनियाबाट बलान जाने नयाँ बाटो निर्माण गर्न २ लाख, मोहित दासको जग्गामा हनुमान मन्दिर निर्माण गर्न २ लाखलगायत खुद्रा योजनासमेत क्षेत्र नम्बर ४ मा समावेश छन् ।

क्षेत्र नम्बर ४ मा छनोट भएका योजनामा १–२ लाख बराबरका योजनासमेत छन् । ५–६ वटा योजनालाई एउटै नाम दिएर टुक्रा पारी योजना छनोट गरिएको छ । यसैगरी क्षेत्र नम्बर १ मा पनि टुक्रे योजनाकै बाहुल्य छ । उक्त क्षेत्रका प्रत्यक्ष सांसद जनता समाजवादी पार्टीका सूर्यनारायण यादव हुन् । क्षेत्र नम्बर १ अन्तर्गत अग्निसाइरु कृष्णासवरण गाउँपालिकामा ८० लाख, हनुमाननगर कंकालिनी नगरपालिकामा ६५ लाख, कञ्चनरूप नगरपालिकामा १ करोड र सप्तकोसी नगरपालिकामा ७५ लाख बराबरको योजना छनोट गरिएको छ । क्षेत्र नम्बर १ मा छानिएका योजनामा १५ वटा योजना १० लाख रुपैयाँबराबरका छन् भने ९ वटा योजना १५ लाखका छन् ।

क्षेत्र नम्बर १ मा पनि छनोट गरिएका योजनामा मठ–मन्दिर र सडक स्तरोन्नतिको विषयलाई प्राथमिकता दिइएको छ । सप्तरीकै क्षेत्र नम्बर २ मा भने छानिएका योजना ठोस छन् । उक्त क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद उपेन्द्र यादव हुन् । क्षेत्र नम्बर २ मा महदेवा गाउँपालिकाको बथनाहामा रहेको द्वारिका श्रीलाल सतनी यादव माविको पहिलो तला चारकोठे तथा चारकोठे माथिल्लो तल्ला भवन निर्माणका लागि १ करोड ४० लाख, तिलाठी कोइलाडी गाउँपालिकाको राजेन्द्र देवकी माविमा भवन निर्माणका लागि १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित : पुस ६, २०७७ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?