कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ठगी मुद्दापछि मिलले दिन थाल्यो भुक्तानी

शिव पुरी

रौतहट — रौतहटको गरुडा नगरपालीका–४ महमदपुरस्थित श्रीराम सुगर मिलले यहाँका किसानको बक्यौता रकम भुक्तानी दिन सुरु गरेको छ । 

ठगी मुद्दापछि मिलले दिन थाल्यो भुक्तानी

मिल संचालकहरुले उखुको रकम भुक्तानी नगरेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि ३५ करोड रुपैयाँ भुक्तानीका लागि बैंकमा जम्मा गरिएको हो । त्यसपछि शुक्रबारबाट भुक्तानी दिन थालेको हो । प्रहरीले मिल संचालकहरुलाई ठगी आरोपमा पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।

किसानको उखु खरिद गरेबापत श्रीराम सुगर मिलले आर्थिक वर्ष २०७१/७२ को १२ करोड, ०७५/७६ को २८ करोड ५० लाख र ०७६/७७ को ५० लाख गरी ४१ करोड रुपैयाँ भुक्तानी दिन बाँकी राखेको उखु उत्पादक संघ रौतहटको दाबी छ । मिल संचालकहरुले आफूबिरुद्ध ठगी मुद्दा दर्ता भएपछि भुक्तानीका लागि ३५ करोड उद्योगको नाममा जम्मा गरिसकेको छ । आइतबारसम्म १६ करोड ४४ लाख ७० हजार भुक्तानी गरेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताए । ‘उद्योग संचालकले ३५ करोड भुक्तानी गर्न भनेर खातामा जम्मा गरिसकेको छ,’उनले भने,‘बाँकी बक्यौता रहेका किसानले धमाधम रकम बुझ्न थालेका छन् ।’ आफ्नो उत्पादन उद्योगलाई बेचेर वर्षौंदेखि उखु किसानहरु भुक्तानी पाउन संघर्ष गर्दै आएका थिए । यही क्रममा जिल्लाका ४६ जना उखु किसानहरुले मिलका संचालक हितेश गोल्छा, विशाल अग्रवाल र उपाध्यक्ष पद्यकान्त झाविरुद्ध बुधबार ठगी मुद्दा दर्ता गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय गौरले पक्राउ पुर्जी जारी गरेको थियो । यसको जानकारी पाएलगत्तै किसानको बाँकी बक्यौता भुक्तानीका लागि संचालकले खातामा रकम जम्मा गरेका हुन् । गत वर्ष भुक्तानी माग्दै देशभरीका उखु किसानले पनि आन्दोलन गरेका थिए ।

प्रकाशित : पुस ५, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?