यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

यातायात व्यवसायीले शुक्रबारबाट जोरबिजोर नमान्ने

पुस १० बाट देशभर फिल्म हल पनि खोल्ने व्यवसायीको तयारी
सरकारको निर्णयबिनै खुले पार्टी प्यालेस र जिम हल
विमल खतिवडा

काठमाडौँ — यातायात व्यवसायीले शुक्रबारबाट उपत्यकामा जोरबिजोर प्रणाली नमान्ने निर्णय गरेका छन् । उपत्यकामा मात्र असोज १ बाट लागू भएको जोरबिजोर प्रणाली यात्रुको चाप बढ्दा पनि कायमै रहेको भन्दै व्यवसायी सबै सवारी सञ्चालन गर्ने निर्णयमा पुगेका हुन् ।

सबै क्षेत्र खुल्दै गएपछि सवारी साधनमा यात्रुको चाप बढ्दो छ । तर जोरबिजोर प्रणालीले गर्दा सवारीको संख्या भने कम छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले मंगलबार संयुक्त रूपमा अपिल जारी गर्दै जोरबिजोर प्रणाली नमान्ने निर्णय गरिएको हो । जोरबिजोर प्रणालीमा सवारी सञ्चालन हुँदा सवारी संख्यामा कमी भएको र यात्रुको चाप बढी देखिएपछि कोरोनाको संक्रमण जोखिम बढ्न सक्ने भएकाले जोरबिजोर हटाउनुको विकल्प नभएको व्यवसायीको भनाइ छ ।

जोरबिजोरका रूपमा सवारी चलाउने कामले थप संकट निम्त्याएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । ‘उपत्यकाको रिङरोडबाट बाहिर जाने मात्र २९ वटा रुट छन्, सहरभित्र जोरबिजोर प्रणालीले ठूलो असर नगर्ला । तर बिहान सहर आएर बेलुका फर्किने रुट छन्,’ उनले भने, ‘तिनलाई ठूलो समस्या परेको छ ।’ यात्रुको चाप हुने रत्नपार्कबाट चापागाउँ, कीर्तिपुर, दक्षिणकाली, साँखु क्षेत्रमा जाने सवारीलाई सबैभन्दा ठूलो असर पुगेको उनको भनाइ छ । अहिले यात्रुको चाप बढेको छ । थोरै सवारी हुँदा यात्रुको चाप बढेको छ ।

‘कोरोना संक्रमण नियन्त्रण गर्न लागू गरिएको जोरबिजोरले सवारी साधनमा यात्रु खाँदाखाँद हुँदा झन् कोरोनाको जोखिम बढ्ने खतरा बढ्यो,’ उनले भने, ‘जसले गर्दा यात्रुलाई पनि कष्ट सहनुपर्‍यो ।’ यातायात श्रमिक मारमा परेको व्यवसायीको भनाइ छ । १५ दिन काम गरेर परिवार पाल्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘त्यति मात्र होइन, मजदुरहरूको आम्दानी पनि घटेको छ, १५ दिनको आम्दानीले महिना दिनसम्म सास अल्झाउन गाह्रो पर्‍यो,’ उनले भने, ‘सबैलाई अप्ठ्यारो परेको समयमा सरकारले अव्यावहारिक नीति किन कार्यान्वयन गरिरहन्छ ?’

यस विषयमा पटकपटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ । ‘तर सरकारले यसमा कुनै चासो दिएन,’ उनले भने, ‘हाम्रो अनुरोध शुक्रबारभन्दा अघि नै स्विकारेर सरकारले जोरबिजोर हटाउने निर्णय गरोस्, होइन भने सबै सवारी चल्छन् ।’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पनि सबै सवारी चलाउने निर्णयमा पुगिएको बताए । ‘सवारी साधन चलाएर कोरोना हुँदैन, भीडले हुन्छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सावधानी अपनाएर गाडी चलाउँछौं ।’

चैत ११ देखि बन्द रहेका फिल्म हल पनि सरकारले अहिलेसम्म खोल्न दिएको छैन । पटकपटक सरकारको ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेको भन्दै नेपाल चलचित्र संघले पुस १० बाट देशभरका फिल्म हल सञ्चालन गर्ने निर्णय गरेको छ । ‘सरकारलाई धेरै पटक फिल्म हल खोल्न माग गर्दै ज्ञापन बुझायौं तर सुनुवाइ भएन,’ संघका उपमहासचिव गोपालकाजी कायस्थले भने, ‘सबै क्षेत्र खुलिसके, हाम्रो क्षेत्रलाई मात्र किन बन्द गरेर राखिराख्नुपर्ने ? अब स्वास्थ्य मापदण्ड अपनाएर फिल्म हल खोल्छौं ।’ हल बन्द भए पनि विद्युत् महसुल, कर र जरिवाना तिरिरहेकाले ती शुल्क मिनाहा गर्नुपर्ने माग पनि आफूहरूको रहेको उनले बताए ।

फिल्म छायांकनका लागि बाटो खुला भइसकेको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए । ‘फिल्म हल खोल्ने बारेको प्रस्ताव मन्त्रिपरिषद्मा गइसकेकाले केही दिनमै निर्णय हुनेछ,’ उनले भने, ‘अब धेरै समय नलाग्ला ।’ यसबारे सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ सकारात्मक रहेको उनको दाबी छ ।

सरकारले निर्णय नगरे पनि पार्टी प्यालेस र जिम हल भने प्रायः खुलिसकेका छन् । बुधबारबाट सबै मठमन्दिर खुला भएकाले पार्टी प्यालेस पनि खुल्ने नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसीले बताए । ‘सरकारले औपचारिक रूपमा निर्णय गरेको छैन,’ उनले भने, ‘तर हामी अब ब्याक हुँदैनौं, स्वास्थ्य सावधानी अपनाएर सबै पार्टी प्यालेस खोल्ने निर्णयमा पुगेका छौं ।’

प्रकाशित : पुस २, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

खोप भण्डारण स्थलकै अभाव

२ देखि ८ डिग्रीको खोप भण्डारण क्षमता १ लाख ९५ हजार लिटर, माइनस २० डिग्रीको १५ हजार लिटर र माइनस ७० को शून्य
मकर श्रेष्ठ

काठमाडौँ — कोभाक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुक्त ठाउँसमेत अपुग हुने देखिएको छ । २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित खोप राखिएकाले कोभिड खोप राख्न ठाउँको अभाव हुने भएको हो ।

काठमाडौंमा रहेको चिस्यानयुक्त केन्द्रीय भण्डारणमा समेत नियमित खोप राख्ने ठाउँ मात्रै छ । अहिलेको संरचनाअनुसार चिस्यानसहितको भण्डारणस्थलको समस्या सबैभन्दा बढी वाग्मती र प्रदेश २ मा पर्ने देखिएको छ ।

चिस्यान भण्डार बढाउन स्वास्थ्य सेवा विभागले गत वर्ष कात्तिकमा टेकुस्थित विभाग परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन टेन्डर गरे पनि अझै निर्माण सुरु भएको छैन । ‘प्रदेश २ र वाग्मतीमा खोपसम्बन्धी विश्वव्यापी सञ्जाल (गाभी) ले उपलब्ध गराउने ३ प्रतिशत खोप राख्ने ठाउँ पनि छैन,’ विभाग स्रोतले भन्यो । वाग्मती प्रदेशका मकवानपुर, सिन्धुली र चितवनमा आवश्यक खोप हेटौंडाबाट वितरण गरिन्छ ।

वाग्मतीका अन्य जिल्लाका लागि भने काठमाडौंमा ५ हजार २ सय लिटरको भण्डारण क्षमता छ । ‘यो ठाउँ त नियमित भ्याक्सिनलाई मात्रै पुग्छ,’ विभागका आपूर्ति व्यवस्थापन शाखाका एक कर्मचारीले भने । सुविधामा आउने ३ प्रतिशत भ्याक्सिनलाई साढे १० हजार लिटर अट्ने ठाउँ आवश्यक पर्ने स्वास्थ्य विभागले आकलन गरेको छ ।

प्रदेश २ मा एउटा पनि चिस्यानयुक्त भण्डार छैन । वाग्मती प्रदेशको हेटौंडामा रहेको दुई हजार दुई सय लिटर भण्डारण क्षमतामा प्रदेश २ निर्भर हुनुपर्ने बाध्यता छ । कोभिड खोप राख्ने क्षमता अभाव पूरा गर्न खोपसँगै २० हजार लिटर भण्डारण गर्ने ठाउँसमेत बनाइदिन सरकारले गाभीलाई आग्रह गरेको छ । विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले प्रदेश २ र कर्णालीमा खोप राख्ने चिस्यानयुक्त भण्डार बनाउने योजना बनाइसकेको बताए । कर्णाली र लुम्बिनी प्रदेशको नेपालगन्जमा ९ हजार ७ सय लिटर क्षमताको भण्डारणमा भर पर्नुपर्ने बाध्यता छ ।

विभागले गाभीलाई खोपसँगै काठमाडौंमा चिस्यानयुक्त भण्डारसमेत बनाइदिन आग्रहसहितको पत्राचार गरेको स्रोतले जनाएको छ । यता, सरकारको लगानीमा बनाउने भनिएको भण्डारण स्थलको ठेक्का लागेको ५ महिनासम्म जगसमेत खनिएको छैन । कात्तिकमा टेन्डर सूचना निकालेर माघमा ठेकेदार छनोट गरिएको थियो । विभागका अनुसार उक्त भवन कौशिल बस्नेत/कुँवर जेभीले ८ करोड ४० लाख २० हजार ७ सय ५३ रुपैयाँमा ठेक्का पाएका छन् । असार १ बाट काम गर्ने गरी ठेक्का सम्झौता भएको विभागले जनाएको छ ।

सम्झौता भएको ६ महिना हुँदा पनि भवनको जग हालिएको छैन । भित्तामा पर्खाल लगाउनेबाहेक अरू काम भएको छैन । भवन बनाउने ठाउँमा जस्ताले बारबेर गरिएको छ । ‘गत माघमै मैले ठेक्का पाए पनि बजेट छैन भनेर असारमा मात्रै सम्झौता भएको हो । त्यसयता पनि काम सुरु गर्दा जमिनमा कालोमाटोको दलदल भएकाले माटो परीक्षण गरेर रिपोर्ट दिन भन्दा पनि नदिएपछि काम अघि नबढेको हो,’ ठेकेदार कौशिल बस्नेतले भने, ‘मेरो कारण काम रोकिएको होइन ।’ ढिलाइ हुनुमा विभागकै कमजोरी रहेको उनले बताए । विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेशकुमार खरेलले निर्माण काम सुरु भइसकेको बताए । ‘काम सक्नुपर्ने अवधि बाँकी भएकाले अहिले नै ढिलाइ भयो भन्नुहुँदैन,’ उनले भने ।

चिस्यान क्षमता कति ?

विभागको खोप शाखाका अनुसार मुलुकभर २ देखि ८ डिग्रीको खोप १ लाख ९५ हजार लिटर भण्डारण गर्ने क्षमता छ । यसमध्ये टेकुमा ४५ हजार ५ सय लिटर क्षमताको छ । माइनस २० को खोपका लागि देशभरको क्षमता १५ हजार लिटर मात्रै रहेको शाखाले जनाएको छ । ‘अहिले भएको जति क्षमता छ, नियमित खोपका लागि हो,’ खोप शाखाका प्रमुख डा. झलक गौतमले भने, ‘२ देखि ८ डिग्रीको खोप ल्याउँदा अरू खोपलाई केही समय रोक्नुपर्ने हुन्छ । काठमाडौंमा भण्डारणमा रहेको नियमित खोप केही समय प्रदेश पठाएर भए पनि व्यवस्थापन गर्न सकिन्छ ।’

मुलुकभरको चिस्यान भण्डारणको अवस्था र आवश्यकताको विश्लेषण गरी अभाव हुने क्षमताको पत्ता लगाइरहेको गौतम बताउँछन् । ‘२ देखि ८ डिग्रीको भ्याक्सिन राख्ने संरचना आजै आए पनि समस्या पर्दैन । माइनस २० को पनि सीमित छ,’ गौतमले भने, ‘सरकारी संरचना मात्रै नभई निजी क्षेत्रमा पनि कति राख्न सकिन्छ भनेर तथ्यांक लिइरहेका छौं ।’ माइनस २० को भण्डारण पोलियो खोप राख्न बनाइएको हो । माइनस २० को चाहिँ अहिले भएको संरचना नियमित गर्नका लागि हो । आवश्यक परे यसलाई विस्तार गर्न सकिने गौतमले बताए ।

विभागका अनुसार चिस्यानयुक्त भण्डारण प्रदेश १ को विराटनगरमा ९ हजार ७ सय लिटर क्षमताको छ । यसमध्ये ७ हजार १ सय लिटर नियमित खोपले ओगटेको छ । २ हजार ६ सय मात्रै थप राख्न सकिन्छ । एन्टी–रेबिजको भ्याक्सिन पनि यही भण्डारमा राख्नुपर्ने भएकाले क्षमता कम हुने विभागले जनाएको छ । ‘सुविधामा आउने पहिलो चरणको ३ प्रतिशत भ्याक्सिन राख्न त समस्या पर्दैन । दोस्रो चरणमा आउने १७ प्रतिशतका लागि उपकरण थप गर्नुपर्ने हुन्छ,’ विभागका एक कर्मचारीले भने ।

दोस्रो चरणको १७ प्रतिशत जनतालाई पुग्ने खोप आउँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भण्डारण क्षमता रहेको विभागको दाबी छ । केन्द्र, प्रदेश १, २ र वाग्मतीमा भने भण्डारण क्षमता बढाउनुपर्ने हुन्छ । कर्णालीमा आफ्नै चिस्यानयुक्त भण्डार छैन तर विगतदेखि नेपालगन्जबाट सप्लाई गरिन्छ । नेपालगन्जमा ७ हजार ५ सय लिटर क्षमता भण्डारण छ । प्रदेश २ मा भण्डारण स्थान नै छैन । सिरहा र सप्तरीमा विराटनगर भण्डारबाट खोप सप्लाई हुन्छ भने अरू ६ वटा जिल्ला हेटौंडाले हेरिरहेको छ ।

हेटौंडामा २ हजार २ सय ५० लिटर भण्डारण क्षमताको चिस्यान छ । गण्डकी प्रदेशमा ९ हजार ७ सय भण्डारण क्षमता छ । लुम्बिनी प्रदेशको बुटबलमा ११ हजार २ सय लिटर खोप भण्डारण क्षमता छ । बुटबलमा ६ हजार लिटर नियमित नै राखिन्छ । ५ हजार २ सय लिटर मात्रै ठाउँ बाँकी छ । भ्याक्सिनको साइज ठूलो भयो भने दोस्रो चरणमा आउने खोप भण्डारणमा समस्या पर्न सक्ने विभागको आकलन छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा ९ हजार ७ सय लिटरको भण्डारण क्षमता रहेको विभागले जनाएको छ । यसमध्ये ५ हजार २ सय नियमित खोपले ओगट्छ । ४ हजार ५ लिटर क्षमताले १७ प्रतिशत खोप आउँदा पनि भण्डारण गर्न समस्या नपर्ने विभागले जनाएको छ ।

पहिलो चरणमा आउने कुल जनसंख्याको ३ प्रतिशतलाई पुग्ने खोप आउने सरकारले आकलन गरेको छ । पहिलो चरणमा आउने खोप स्वास्थ्यकर्मीलाई लगाउने सरकारको योजना छ । दोस्रो चरणमा ५१ लाख ६४ हजार जनसंख्यालाई पुग्ने सहयोगको खोप आउँदैछ । जुन खोप ५५ वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक, ४० देखि ५४ वर्षका दीर्घरोगी र प्रवासी कामदारहरू (दीर्घरोगी) लाई लगाइने सरकारको योजना बनाएको छ ।

तेस्रो चरणमा ४० देखि ५४ का बाँकी र १५ देखि ३९ वर्ष उमेर समूहका ५२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । १५ देखि ३९ वर्ष उमेर समूहका कुल जनसंख्याको ४२.०७ प्रतिशत अर्थात एक करोड २७ लाख ८० हजार जनसंख्या रहेको सरकारले आकलन गरेको छ । उनीहरूका लागि मात्रै २ करोड २८ लाख ४३ हजार खोपको मात्रा आवश्यक पर्ने सरकारले योजना बनाएको छ । ‘४२ प्रतिशत जनतालाई आवश्यक पर्ने खोप एकै पटक ल्याएर भण्डारण गर्ने क्षमता हामीसँग छैन,’ विभाग स्रोतले भन्यो ।

प्रकाशित : पुस २, २०७७ ०७:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×