बन्दरगाहमा थन्किए सयभन्दा बढी महँगा कार

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा ठूलो परिमाणमा महँगा कार थन्किएका छन् । हाल बन्दरगाहको यार्डमा एक सयभन्दा बढी जिप, कार, भ्यान जाँचपास नगराई आयातकर्ताले राखेका छन् । तीमध्ये धेरैजसो ६ महिनादेखि एक वर्षअघि आयात गरेर ल्याइएको गाडी हुन् ।

बन्दरगाहमा थन्किए सयभन्दा बढी महँगा कार

नियमअनुसार भन्सार यार्डमा राखेको ६० दिनसम्म आयातकर्ताले आफ्नो सवारी साधन जाँचपास गराई नलगे त्यस्ता सवारीका लागि लिलामीको सूचना जारी गरिन्छ । तर महँगा कार भएकाले आयातकर्तालाई मार नपरोस् भनी भन्सारले पनि लिलाम गर्न सकेको छैन । चालु आर्थिक वर्षमा कोभिड महामारीका कारण लामो समय व्यापार–व्यवसाय बन्द भएको र उपभोक्ताको क्रय क्षमता पनि घटेकाले बन्दरगाहबाट नयाँ सवारी जाँचपास गराएर लैजाने क्रम घटेको हुन सक्ने बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेल बताउँछन् । ‘स्थिति सामान्य हुँदा यो नाकाबाट बर्सेनि सवारी साधनको आयात बढ्दै गएको हो । तर यस वर्ष त्यसको विपरीत हुन गयो,’ उनले भने, ‘यसको मुख्य कारण कोभिड महामारीले सिर्जना गरेको आर्थिक मन्दी र यसले उपभोक्ताको क्रयशक्ति घट्नु नै हुन सक्छ ।’ सवारी साधन आयातकर्ताले पनि काठमाडौंमा सवारीसाधनको बुकिङ भएपछि मात्र यहाँबाट जाँचपास गरेर लग्ने गरेको कट्टेलको भनाइ छ ।

‘सवारी साधनको मुख्य बजार काठमाडौं नै हो, ग्राहकले सवारी साधन बुकिङ गरेपछि मात्र आयातकर्ताले यहाँबाट आफ्नो सवारी जाँचपास गराएर लग्छन्,’ उनले भने, ‘तर काठमाडौंमा पनि नयाँ सवारी साधनको खरिदबिक्री घटेको छ । आयातकर्तालाई आफ्नो सवारी लैजान पटकपटक आग्रह गरेका छौं तर उनीहरूले आलटाल गरिरहेका छन् ।’

गो अटोमोबाइल, कन्टिनेन्टल ट्रेडिङ इन्डस्ट्रिज प्रालि, किशोर गियरलगायतका आयातकर्ताले यो नाका भएर बढी कार ल्याउँछन् । एउटै कार ४ देखि ५ करोड मूल्यसम्मका पनि छन् । यो नाकाबाट सवारी आयात गर्दा भारतको कोलकाता बन्दरगाहसम्म पानी जहाजमा र त्यहाँबाट रेलमा ढुवानी गरेर वीरगन्जसम्म ल्याइन्छ । रेलबाट सवारी साधनको ढुवानी सस्तो र सुरक्षित मानिन्छ ।

प्रकाशित : मंसिर २८, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?