काममा फर्कन थाले ठेकेदार

घनश्याम खड्का

म्याग्दी — कोरोना कहर देखाएर निर्माणाधीन योजना अलपत्र छाडेर सम्पर्कविहीन बनेका निर्माण व्यवसायी सर्वत्र दबाब भएपछि काममा फर्कन थालेका छन् । उनीहरू काममा फर्के पनि पूर्ण क्षमतामा उपकरण तथा जनशक्ति भने परिचालन गरेका छैनन् ।

योजनाको निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद गुज्रे पनि पटकपटक म्याद थप्दै बसेका व्यवसायीमाथि सञ्चार माध्यम, स्थानीय, प्रदेश र संघीय सरकारका विभिन्न कार्यालयले काममा फर्कन चर्को दबाब दिएका थिए ।

‘केही व्यवसायी आअफ्नो साइटमा फर्केर काम थालेको देखिएको छ । साना योजनाका ठेकेदार साइटमा देखिए पनि ठूला ठेकेदार पूर्ण परिचालित छैनन्,’ जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले भने, ‘केहीले बिस्तारै जनशक्ति र उपकरण थप्दै लान्छौं भनेका छन् ।’ बेनी–दरबाङ कालोपत्रे, बेनी–जोमसोम कालोपत्रे र पोखरे–चित्रे सडक कालोपत्र गर्ने काममा ठेकेदारले पूर्ण क्षमता खर्चिएका छैनन् । गलेश्वर–भगवती सडकलगायत अन्य केही योजनाका ठेकेदार अझै काममा फर्केका छैनन् ।

प्रतिनिधिसभा सदस्य सञ्चालक रहेको समानन्तर कन्स्ट्रक्सनको लामा–समानान्तर जेभीले चर्को दबाबपछि एउटा डोजर पठाएर बेनी नगरपालिका–४ सिङ्गामा परिचालन गरेको छ । तर काम पूर्ण क्षमतामा भएको छैन । २०७६ माघ ४ भित्र सक्नुपर्ने योजनाको दोस्रो म्यादअनुसार २०७७ असोज मसान्तसम्म काम सक्नुपर्ने थियो । तर त्यसको भौतिक प्रगति ४० प्रतिशत हाराहारी मात्र रहेको पूर्वाधार विकास कार्यालय बेनीले जनाएको छ ।

बेनी–दरबाङ सडकको दोस्रो खण्डको दुखुखोला–दरबाङ ६.८ किलोमिटर खण्डमा पनि छुट्टै निर्माण व्यवसायीबाट स्तरवृद्धि र कालोपत्र गर्ने ठेक्कामा काम भइरहेको छ । त्यस्तै दुई वर्षअघि नै निर्माण सकिसक्नुपर्ने मालिका गाउँपालिका–६ रातोढुंगामा निर्माणाधीन ३३/११ केभी सबस्टेसनमा पनि निर्माण व्यवसायी भर्खर काममा जुटेका छन् ।

प्रकाशित : मंसिर २८, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?