१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लुकिछिपी खुल्न थाले पार्टी प्यालेस

सरकारले जमघट, सभा, समारोहलगायत कार्यक्रम गर्न रोक लगाएपछि ठप्प बनेका पार्टी प्यालेसमा चहलपहल बढ्दै
लीला श्रेष्ठ

भक्तपुर — सरकारले पार्टी प्यालेस खोल्ने अनुमति नदिए पनि लुकिछिपी खुल्न थालेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि भन्दै गत चैतमा सरकारले घोषणा गरेको लकडाउनसँगै बन्द भएका पार्टी प्यालेस विवाहको लगनसँगै लुकिछिपी खुल्न थालेका छन् ।

कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गरी सरकारले जमघट, सभा, समारोहलगायतका कार्यक्रम गर्न बन्देज लगाएसँगै ठप्प बनेका पार्टी प्यालेसमा मंसिर १६ पछि चहलपहल सुरु भएको व्यवसायी बताउँछन् ।

सरकारले पार्टी प्यालेस खोल्ने अनुमति अझै दिएको छैन । तर स्वास्थ्य मापदण्ड पालना गरी सीमित व्यक्तिको सहभागितामा सञ्चालन हुन थालेको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसका सञ्चालक एवं नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एनबी थापको भनाइ छ ।

तारे होटलहरूमा सामाजिक समारोह गर्न दिने तर पार्टी प्यालेसमा सोही प्रकृतिका समारोह गर्न सरकारले अवरोध गरेको भन्दै व्यवसायीले स्वतस्फूर्त रूपमा मंसिर १६ बाट बुकिङ लिन सुरु गरेको उनी बताउँछन् । ‘बैंकको कर्जा, भाडासँगै कर्मचारी टिकाउनै मुस्किल भएपछि बाध्य भएर बुकिङ खोलेका हौं,’ उनले भने ।

पार्टी प्यालेसहरूले हलको क्षमताअनुसार जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गरेर १ सय ५० देखि २ सय जनासम्मलाई सेवा दिइरहेको योयो ब्याङवेटका अध्यक्ष श्रीभक्त कासिछ्वाको भनाइ छ । विगतका वर्षमा दुई हजार जनासम्मको जनसहभागितामा पार्टी गर्दै आएकामा यस वर्ष १ सय ५० मा सीमित भएको उनी बताउँछन् ।

‘गत वर्ष दुलाहाका तर्फबाट रिसेप्सन, दुलहीको विवाहसँगै दुवैतर्फबाट अरू छुट्टै पार्टी हुने गरेका थिए, अहिले मानिसले एउटै पार्टी गरेर विवाहको औपचारिकता पूरा गरिरहेका छन्,’ उनले भने, ‘विगतका वर्षमा विवाहको लगनमा एउटा पार्टी प्यालेसले २० देखि २५ वटासम्म इभेन्ट व्यवस्थापन गर्थे । अहिले त्यस्तो छैन ।’

सरकारले समयमा पार्टी प्यालेस खोल्न अनुमति नदिँदा धेरै पार्टी प्यालेस बन्द हुनेदेखि यसबाट पलायन हुने अवस्था आएको थिमी ब्यांक्वेटका विजय श्रेष्ठले बताए । ‘लाखौं रुपैयाँ ऋण लिएर पार्टी प्यालेस खोलेका छौं, ७५ जना हाराहारी मात्रै गेस्ट राखेर विवाह समारोह आयोजना गर्नुपरेको छ,’ उनले भने । लामो समय पार्टी प्यालेस सञ्चालन नहुँदा भएका उपकरण र सामग्री चलायमान नै होस् भनेर बुकिङ लिइरहेको उनी बताउँछन् । कोरोना महामारीअघि १५ सय हाराहारी सेवाग्राही सहभागी गर्ने गरेकामा अहिले न्यून संख्यामा उपस्थिति रहेकाले सञ्चालन खर्च उठाउन मुस्किल भएको श्रेष्ठको भनाइ छ ।

देशभर करिब सात हजारको संख्यामा पार्टी प्यालेस रहेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एनबी थापाले जानकारी दिए । त्यसमा कोभिड–१९ महामारीका कारण देशभर दुई सयभन्दा बढी व्यवसायी पलायन भइसकेको र ५० हजारभन्दा बढीको रोजगारी गुमेको उनले बताए । पार्टी प्यालेस बन्द हुँदा सरकारले अर्बौं रुपैयाँ राजस्व गुमाएको समेत थापा सुनाउँछन् ।

प्रकाशित : मंसिर २७, २०७७ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?