१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

किसानले जोत्न छाडे जग्गा

ठाकुरसिंह थारू

नेपालगन्ज — धेरै भएको छैन, पश्चिम तराईमा खेती गर्न किसानहरू जग्गा पाउन जग्गाधनीलाई कुखुरा खुवाउँथे । दूध, दही र शुद्ध देसी घिउ कोसेली दिन्थे । किसान र जग्गाधनीबीचको सम्बन्ध निकै कसिलो हुन्थ्यो । अँधिया (बराबर) मा खेती गरिन्थ्यो । किसान र जग्गाधनीले आधाआधा अन्न बाँड्थे । अहिले समय फेरिएको छ, जग्गाधनीले कुखुरा खुवाउँछु भन्दा पनि अँधियामा खेती गर्न कोही किसान तयार छैनन् । तिकुरमा खेती गर्न पनि हारगुहार लगाउनुपर्छ ।

अँधियामा होइन, तिकुर (दुई भाग किसान, एक भाग जग्गाधनी) ले पाउने गरी जग्गा जोत्न पनि किसान पाउन मुस्किल छ । जसका कारण जग्गाधनीले खेत जोत्ने किसान नपाएर हैरान छन् । जसका कारण अन्नको भण्डार मानिने बर्दियामा खेतीयोग्य जमिन घट्ने क्रममा छ ।

पछिल्लो पुस्ता खेतीतर्फ आकर्षित हुन नसक्दा समस्या देखिन थालेको हो । उनीहरू दैनिक ज्यालादारी, मिस्त्रीलगायत पेसा गर्न थालेका छन् । तीमध्ये एक हुन बर्दियाको बढैयाताल गाउँपालिका–८ टेसनपुरका रामसजन चौधरी । उनका बुबाले बटैयामा खेती गर्थे । उनी भने नेपालगन्जमा घर बनाउने काम गर्छन् । दैनिक १ हजार रुपैयाँ ज्याला पाउँछन् । ‘मिस्त्री कामबाटै राम्रो आम्दानी छ । खेती गर्दा कति दुःख गर्नुपर्थ्यो । परिवारका सबै जनालाई जोतिनुपरेको थियो,’ उनले भने, ‘मलखाद किन्दै ठिक्क हुन्थ्यो । त्यसैले मिस्त्री काम सिकेको हुँ ।’ खेती गर्ने किसान नपाएका जग्गाधनीले अन्न फल्ने जग्गा इँटालगायत उद्योग सञ्चालन गर्न भाडामा दिन थालेका छन् । यो अवस्था किन आयो त ? ‘खेती महँगो हुँदै गयो । किसानले श्रमअनुसारको फाइदा पाउन छाडेपछि यो अवस्था आएको हो,’ बाँके कोहलपुर नगरपालिका शमशेरगन्जका नारायण चौधरीले भने, ‘एक बोरा मलको २ हजार पर्छ । धान क्विन्टलको २ हजारमा बिक्री गर्नुपर्छ ।’

उनका अनुसार त्यसैले किसान तिकुर पाए पनि खेत जोत्न तयार हुँदैनन् । जग्गाधनीले मल, बीउ र पानी सिँचाइका लागि लगानी गर्न तयार भएपछि खेत जोत्न प्रतिबद्धता जनाउँदा पनि खेती गरिदिने किसान मुस्किलले भेटिने गरेका छन् । पछिल्लो समय बर्दियामा सानाठूला उद्योग खुल्ने क्रम जारी छ । त्यहाँ युवाहरूले रोजगारी पाउन थालेका छन् । लामो समयदेखि अँधिया खेती गर्दै आएका बारबर्दिया नगरपालिका–११ का राजेश चौधरी नेपालगन्जस्थित एक प्लाइउड कम्पनीमा काम गर्न थालेका छन् । दैनिक ज्यालादारी ८ सय रुपैयाँ छ । ओभर टाइम पनि गर्न पाएका छन् । ‘खेतीमा के छ र ? खान ठिक्क हुन्छ । आम्दानी हुँदैन,’ उनले भने । उनका अनुसार धान बिक्री गरेर गहुँ छर्न मल किन्न ठिक्क र गहुँ बिक्रीबाट आएको पैसाले धान खेती गर्नुपर्ने बाध्यता छ । ‘अनि किसानले के पाउने ?’ उनको प्रश्न थियो ।

खेती गर्ने किसान नभेटिएपछि मुलुककै प्रमुख अन्न भण्डार बर्दियामा खेतीयोग्य जग्गा खुम्चिने क्रममा पुगेको छ । हरेक वर्ष खेतीयोग्य जग्गा घट्दै गएपछि कृषि उत्पादन कम हुन थालेको छ । वर्षमा कति हेक्टर खेतीयोग्य जग्गा घट्यो, त्यसको अनुसन्धान हुन बाँकी छ । तर देख्ने गरी नै डरलाग्दो रूपमा कृषियोग्य जमिन घट्ने क्रम जारी छ । बढैयाताल गाउँपालिका–८ का भुनेसर चौधरीले जग्गा जोत्ने किसान नपाएपछि निजी वन लगाएको बताए । उनीजस्तै दर्जनौंले यसैगरी खेतमा वन हुकाइरहेका छन् । कृषि अधिकारीहरूका अनुसार पछिल्लो समय निजी वन बनाउने क्रम बढ्दो छ । यसले निजी वनको क्षेत्रफल बढाए पनि खेतीयोग्य जग्गामा निकै कमी ल्याएको छ । ‘खेत जोत्ने किसान नपाएपछि एक बिघा जग्गामा रुख लगाइदिएको छु,’ बारबर्दिया नगरपालिकाका जग्गाधनी रामेश्वर शर्माले भने, ‘पहिले खेतीका लागि किसान आफैं जग्गा अँधियामा माग्न आउँथे । अहिले उल्टो भइरहेछ ।’

बर्दिया र बाँकेको कृषि क्षेत्र हेर्ने कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले पछिल्लो समय खेतीयोग्य जग्गा घट्ने क्रम बढेको बताए । यही क्रम जारी रह्यो भने अन्न भण्डार मानिने तराईमा कृषि क्षेत्र नै संकटमा पर्न सक्छ ।

प्रदेश तथा स्थानीयले कृषि क्षेत्रमा जोड दिइरहेका बेला खेतीयोग्य जग्गाको संरक्षणका लागि भने ठोस नीति ल्याउन सकेका छैनन् । ‘निजी वन, नदी कटान, प्लटिङलगायत थुप्रै कारणले खेतीयोग्य जग्गा घट्दै गएको छ,’ उनले भने, ‘खेतीयोग्य जग्गा संरक्षणका लागि ठोस नीति ल्याउन अब ढिला गर्नु हुँदैन ।’

बर्दियामा एक दशकअघि ७५ हजार हेक्टर जग्गामा खेती हुँदै आएको थियो । तर हाल भने घट्ने क्रममै छ । पछिल्लो तथ्यांकले करिब ४६ हजार हेक्टर जग्गामा धान खेती हुने देखाएको छ । त्यस्तै बाँकेमा खेतीयोग्य जमिन दिन प्रतिदिन घट्दै गएको छ । कृषिको तथ्यांकअनुसार बाँकेमा ५७ हजार २ सय ५२ हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ५२ हजार ८ सय ३८ हेक्टरमा खेती हुँदै आएको छ ।

तर इँटा उद्योगका कारण खेतीयोग्य जमिन घट्दै गएको हो । सञ्चालकले किसानका जग्गा लिजमा लिएर उद्योग खोल्ने गरेको पाइएको छ । किसानहरूले उत्पादन गरेको कृषि वस्तुको राम्रो मूल्य नपाउने गरेका कारणले पनि खेतीयोग्य जमिन मासिँदै गएको छ ।

खेतीबाट आउने आम्दानीभन्दा बढी मूल्य इँटा उद्योग सञ्चालकले दिने गरेका छन् । इँटा उद्योगका लागि जग्गा लिजमा दिँदा परिश्रम पनि गर्न नपर्ने तर राम्रो रकम पाउने गरेको किसानहरूले बताए । पछिल्लो समय खेती गर्ने जनशक्तिमा कमी आएपछि निजी वन लगाउने क्रम बढेको छ । वन डिभिजन कार्यालय बाँके र बर्दियाका अनुसार पछिल्लो समय खेतीयोग्य जग्गामा रुख रोप्ने क्रम एकदमै बढेको छ । एक पटक रोपेपछि आठ–दस वर्षमा बिनाझन्झट फाइदा हुने भएका कारणले पनि रुख रोप्ने बढेको उनीहरूको तर्क छ ।

मल, बीउ महँगो छ । भनेको बेला मल पाइँदैन । युवापुस्तामा खेतीप्रतिको आकर्षण निकै घटेको छ । त्यसैले पनि अन्न भण्डार मानिने बाँके र बर्दियामा खेती सुस्ताएको बताइन्छ । हाल मलको चरम अभाव छ । सरकारले मल उपलब्ध गराउन सकेको छैन । कृषि ज्ञान केन्द्रका प्रमुख ढकालले कृषि उत्पादन बढाउन सरकारले कृषिमा सहुलियत दिनुपर्ने सुझाव दिए । मल, बीउ महँगो हुँदा किसानले श्रमअनुसारको प्रतिफल पाउँदैनन् । उत्पादन गरेको खाद्यान्नले मुस्किलले मल र बीउ किन्न पुग्छ । ‘वर्षभरिलाई पुग्ने गरी राखेर बिक्री गर्ने हो भने सिँचाइ र मलकै पैसा पुग्दैन । त्यसैले युवाहरू खेतीमा नलागेका हुन्,’ किसान रामद्दिन चौधरीले भने, ‘वस्तुभाउ पाल्ने चलन हराइसक्यो । ट्याक्टरले जोताएर खेती भइरहेको छ ।’ खेत जोत्नका लागि गोरुराँगा गाउँमा देखिँदैनन् । खेती गर्नेले पनि ट्याक्टरले जोत्छन् ।

प्रकाशित : मंसिर २७, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?