कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धरानको कृषि बजारमा चिस्यान केन्द्र संचालनमा 

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित कृषि उपज बजारमा शुक्रबारदेखि शित भण्डार (चिस्यान केन्द्र) संचालनमा आएको छ । कोसी करिडोरका पूर्वी पहाडी र तराईका जिल्लामा उत्पादित फलफूल, तरकारीको सबैभन्दा ठूलो थोक विक्रेता केन्द्र भएर पनि यसअघि शित भण्डारको व्यवस्था थिएन ।

धरानको कृषि बजारमा चिस्यान केन्द्र संचालनमा 

अर्बौं रुपैयाँको फलफूल, तरकारी, मसला, दाल लगायतको कारोबार रहने कृषि उपज बजारमा कृषक र व्यापारीहरुले डेढ दशकदेखि शित भण्डारको व्यवस्था गर्न माग गर्दै आएका थिए ।

पछिल्लो समयमा प्रदेश १ सरकारको ५० लाख रुपैयाँ र कृषि बजारको २५ लाख गरी ७५ लाख रुपैयाँको लागत साझेदारीमा पाइलट प्रोजेक्टको रुपमा शित भण्डारको व्यवस्था गरिएको हो । बजार व्यवस्थापक लक्ष्मण भट्टराईकाअनुसार परीक्षणको रुपमा शुक्रबार १० टन स्याउ भण्डारण गरिएको छ । उनले भने, ‘एक महिनासम्म ट्रायल गर्ने छौं । कति विद्युत् र अन्य खर्च हुँदोरहेछ सोही अनुपातमा न्यूनतम शुल्क लिएर कृषक, व्यापारीलाई शित भण्डारको सेवा सुविधा दिने छौं ।’

धरान १३ स्थित कृषि उपज बजारमा जडान गरिएको शित भण्डारका उपकरण सबै भारतीय कम्पनीबाट निर्मित हो । शित भण्डारमा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिने बताइएको छ । तीनवटा च्याम्बर रहेको शित भण्डारको प्रत्येक च्याम्बरको २५ मेट्रिक टन क्षमता रहेको भट्टराईले बताए । एउटा च्याम्बर कृषकहरुको आरक्षणका लागि सुरक्षित गरिएको छ । एक पटक तापक्रम मिलाएपछि कुन फलफूल तरकारीलाई कति चिसो चाहिन्छ सोहीअनुसार स्वचालित रुपमा संचालन हुने शित भण्डारले कृषक, उपभोक्ता र व्यापारीलाई फाइदा पुग्ने भट्टराईले बताए ।

उनले भने, ‘पहिलो चरणमा ट्रायलको रुपमा संचालनमा आएको शित भण्डारमा स्याउ, सुन्तला र हरिया सागसब्जी तरकारी राखिने छन् । यही प्रविधिमा आधारित दोस्रो चरणमा एकै पटक ३ सय मेट्रिक टन क्षमताको शित भण्डार विस्तार गरेर आलु र प्याजजस्ता खाद्यवस्तु राख्ने शित भण्डार गर्ने योजना छ ।’ थप विस्तार हुने शित भण्डार पनि प्रदेश र संघीय सरकारकै साझेदारी लागतमा निर्माण हुने उनले बताए ।

उनले कृषि बजारमा तेस्रो चरणमा मासुजन्य खाद्य पदार्थ राख्ने शित भण्डारको पनि व्यवस्था गर्ने बताए । नेपालमा सरकार मातहत संचालित कालीमाटीसहित ११ वटा कृषि उपज बजार छ । तीमध्ये पहिलो पटक धरानको कृषि बजारमा शित भण्डार निर्माण भएकाले पूर्वका कृषक, व्यापारी र उपभोक्ता लाभान्वित हुने भट्टराईले बताए ।

धरानका फलफूल तरकारीका अधिकांश थोक व्यापारीहरुले कृषि बजारमा शित भण्डार नहुँदा विराटनगरको एक निजी कम्पनीले संचालन गरेको शित भण्डारमा वार्षिक साढे पाँच लाख रुपैयाँ शुल्क तिरेर फलफूल तरकारी राख्ने गरेका छन् । तर धरानमै शित भण्डार संचालनमा आएपछि महँगो शुल्क तिरेर विराटनगरको शित भण्डारमा फलफूल तरकारी राख्न नपर्ने भएको धरानका थोक व्यापारी शैलेन्द्र चौधरी र मानबहादुर प्रधानले बताए । प्रधानले भने, ‘धरानमै शित भण्डार नहुँदा पूर्वी पहाड र अन्य क्षेत्रबाट ल्याएका फलफूल तरकारी कुहिनबाट जोगाउन विराटनगरको शित भण्डारमा पुर्‍याउने गरेका थियौं । धरानमै शित भण्डार भएपछि ढुवानी खर्च मात्र होइन शुल्कमा पनि राहत हुने भयो ।’ मूल्य उच्च भएको बेला शित भण्डारबाट निकालेर बेच्न सकिने भएको छ ।’ फलफूल तरकारीका थोक विक्रेता ज्ञानबहादुर बस्नेतले यो सिजनको सुन्तला शित भण्डार गर्ने तयारी गरेको बताए । उनले भने, ‘बन्द हड्ताल भएका बेला वा बिक्री नभएका बेला सिजन अनुसारका फलफूल तरकारीलाई शित भण्डारमा राखेर केही सातासम्म राखेर पछि बिक्री गर्न सकिने वातावरण बल्ल आएको छ ।’

सातौं पटकसम्म मुलुककै उत्कष्ट कृषि बजारको रुपमा पुरस्कृत हुँदै आएको धरानको कृषि बजारमा वार्षिक डेढ लाख मेट्रिक टन अर्थात् करिब ६ अर्ब रुपैया बराबरको फलफूल तरकारी, मसला, दाल र जडिबुटी जन्य नगदे बालिको कारोबार हुने गरेको छ ।

प्रकाशित : मंसिर २६, २०७७ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?