कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

माग बढेका बेला वैद्यखानामा च्यवनप्राश उत्पादन ठप्प

कच्चा पदार्थ ठेकेदारले नल्याएको कर्मचारीको तर्क, सम्झौताअनुसार आपूर्ति गरिसकेको ठेकेदारको दाबी
प्रशान्त माली

काठमाडौँ — अनामनगरका ५५ वर्षीय टेकप्रसाद पोखरेलले सिंहदरबार वैद्यखानाबाट उत्पादित च्यवनप्राश  सेवन गर्न थालेको १० वर्ष बित्यो । उनी प्रत्येक वर्ष जाडोयाममा ‘स्पेसल च्यवनप्राश ’ खान्छन् । यस वर्ष कोभिड–१९ महामारीसमेत भएकाले झन् नटुटाईकन च्यवनप्राश  सेवन गर्ने उनको सोच थियो । ‘तर वैद्यखानाको उत्पादन यही बेला ठप्प भयो, अहिले विदेशी उत्पादन प्रयोग गर्न बाध्य भएँ,’ उनले भने ।

माग बढेका बेला वैद्यखानामा च्यवनप्राश उत्पादन ठप्प

च्यवनप्राश वैद्यखानाको सबभन्दा पुरानो उत्पादनमध्ये एक हो । यहाँ च्यवनप्राश , स्पेसल च्यवनप्राश र सुगर फ्री गरेर तीन थरी बनाइन्छ । स्पेसल च्यवनप्राश मा यार्चागुम्बु, पाँचऔंले, केसर जस्ता दुर्लभ बहुमूल्य जडीबुटीको मिश्रण हुन्छ । च्यवनप्राश उत्पादन गर्न नसक्नुमा वैद्यखानाका कर्मचारी भने ठेकेदारलाई दोष लगाउँछन् । सिंहदरबार वैद्यखानाका प्रबन्ध निर्देशक वंशदीप शर्मा खरेलले भने, ‘च्यवनप्राश उत्पादन गर्न ताजा जंगली अमला चाहिन्छ । ठेकेदारले समयमा कच्चा पदार्थ नल्याएकाले उत्पादनमा ढिलाइ भएको हो । अमला झार्नेबित्तिकै उत्पादन थाल्छौं ।’ उनले ठेकेदार कम्पनीलाई दुई पटक पत्रमार्फत तोकता गरिसकेको बताए । ‘तैपनि ठेकेदार कहिले चाडपर्व त कहिले कोभिडको कारण देखाएर पन्छिँदै आएका छन्,’ उनले भने । च्यवनप्राश बनाउन अमलाबाहेक मह, दालचिनी, सुकुमेल, त्रिकुट जस्ता कच्चा पदार्थ चाहिन्छ । कृष्णा ट्रेडर्सले गत वर्ष माघमा यी कच्चा पदार्थ यस वर्षको माघभित्र ल्याउने गरी २० लाखमा ठेक्का पाएको थियो । हालसम्म ६५ प्रतिशत मात्र कच्चा पदार्थ ल्याएको र अरू ल्याउन आलटाल गरिरहेको प्रबन्ध निर्देशक खरेलको आरोप छ । ‘ठेक्का अवधि नसकेकाले नयाँ टेन्डर आह्वान गर्न पनि मिलेन । मंसिरभित्र पनि नल्याए धरौटी जफत गरेर ठेकेदारले कबोल गरेको दरबमोजिम वैद्यखाना आफैंले खरिद गर्छौं,’ उनले भने । कृष्णा ट्रेडर्सका सञ्चालक जयकृष्ण मिश्रले भने सम्झौताअनुसार ८ हजार केजी जडीबुटी पुर्‍याइसकेको बताए । ‘अब पुर्‍याउन बाँकी सामान केही छैन,’ उनले भने, ‘तैपनि ताकेता गर्नुमा शंकास्पद नियत देखिन्छ ।’

अमला काभ्रे, ओखलढुंगा, धादिङ, संखुवासभा, रामेछाप, पाल्पालगायत जिल्लामा पाइन्छन् । वैद्यखानाले यस वर्ष च्यवनप्राश , शिलाजितलगायत औषधि ९ करोड बराबरको बिक्री गर्ने लक्ष्य राखेको थियो । तर, हालसम्म च्यवनप्राश उत्पादन नभएकाले लक्ष्य नपुग्ने देखिएको देखिन्छ । त्यसो त वैद्यखानाले विगत ९ वर्षदेखि लक्ष्यअनुरूप औषधि विक्री गर्न सकेका छैनन् । २०६८/६९ मा ३ करोड १३ लाख रुपैयाँ बराबरको औषधि बिक्री भयो । २०६९/७० मा २ करोड ९५ लाख, ०७०/७१ मा २ करोड ८७, ०७१/७२ मा २ करोड ९७ लाख, ०७२/७३ मा २ करोड ५१ लाखको मात्र उत्पादन बिक्री भयो । ०७३/७४ मा भने ३ करोड ४३ लाख, ०७४/७५ मा ५ करोड ३५ लाखको बिक्री भयो । ०७५/७६ मा २ करोड ४८ लाख, ०७६/७७ मा २ करोड १७ लाखको औषधि बिक्री भएको वैद्यखानाले जनाएको छ । औषधि उत्पादन पनि घट्दो क्रममा छ । संस्थामा दलीय राजनीति हाबी हुँदा उत्पादन र बिक्रीमा गिरावट आएको वैद्यखानाका अधिकारीहरू बताउँछन् ।

वैद्यखानामा पहिला ३ सय थरी औषधि उत्पादन हुन्थ्यो । अहिले घटेर आधा पनि हुन छाडिसकेको छ । वैद्यखानामा कब्जियत, पिसाब पोल्ने, पाइल्स, दम, खोकी, पत्थरी, ग्यास्टिक, अल्सर, युरिक एसिड, मधुमेह, सेतोपानी बग्ने, चाया पोते, यौनरोगलगायतका आषैधि उत्पादन गरिन्छ । नेपाली बजारमा भने यहाँकै निजी कम्पनी गोरखा, पशुपति, हिमालय तथा भारतीय कम्पनी डाबर, वैद्यनाथ र झन्डुका च्यवनप्राश पाइन्छ ।

मल्लकालीन राजा प्रताप मल्लको पालामा स्थापना भएको वैद्यखानाबाट उत्पादित औषधि २००९ मा मात्र सर्वसाधारणले उपभोग गर्न पाउने व्यवस्था गरिएको थियो । २०१३/१४ सालसम्म गुरुयोजनाअनुरूप चल्दा संस्थाले निकै फड्को मारेको थियो । पछि सिंहदरबार वैद्यखाना समिति गठन आदेश २०५१ आइसकेपछि ‘सिंहदरबार वैद्यखाना’ लाई ‘सिंहदरवार वैद्यखाना विकास समिति’ मा परिणत गरियो । त्यसयता संस्था नेताहरूको कार्यकर्ताको भर्ती गर्ने केन्द्रका रूपमा परिणत भएको वैद्यखानाका प्रबन्ध निर्देशक खरेलले बताए । ‘वैद्यखानासम्बन्धी विज्ञहरूभन्दा राजनीतिक पहुँचको भरमा कर्मचारी नियुक्त गरेपछि संस्था धराशायी भयो,’ उनले भने, ‘समितिमा अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधि रहने व्यवस्था २०७७ सालमा हटाएर संस्थालाई थप धराशायी बनाइयो ।’

खरेलका अनुसार पहिला प्रबन्ध निर्देशकको कार्यअवधि चार वर्षको हुन्थ्यो । नयाँ गठन आदेशमा प्रबन्ध निर्देशकलाई हटाएर कार्यकारी निर्देशकको व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्बाट नियुक्त गर्ने व्यवस्थालाई मन्त्रीस्तरीय निर्णयबाट गर्ने प्रावधान राखिएको छ । ‘यो व्यवस्थाका कारण मन्त्रीले चाहेको व्यक्ति निर्देशकमा आउने भयो । मन्त्रीले चाहेका बेला हटाउने भए,’ उनले भने । स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत गणेश श्रीवास्तवले वैद्यखानाले समस्याका विषयमा लिखित रूपमा कुनै प्रतिक्रिया नजनाएको बताए । ‘कुनै पनि नियम कानुन व्यवस्था राम्रो गर्ने उद्देश्यले नै बनाइएका हुन्छन्,’ उनले भने ।

डिलर अपर्याप्त

वैद्यखानाको बुटवल, सुनसरी, बागलुङ, विराटनगरमा १/१, बाँके र पोखरामा २/२, काठमाडौं उपत्यकाका बानेश्वर, पुतली सडक, अनामनगर, भोटाहिटी, नरदेवी, थसिखेलमा गरेर १४ वटा मात्र डिलर छन् । प्रदेश २, कर्णाली र सुदूरपश्चिममा एउटै डिलर छैन । उत्पादन घटेकाले वैद्यखानाको च्यवनप्राश अपुग हुने गरेको ललितपुरका डिलर तारा आयुर्वेद सप्लायर्सका सञ्चालक विश्वराज घिमिरेले बताए । ‘कोभिडका कारणले अहिले जति औषधि बनायो, त्यति बिक्री हुन्छ,’ उनले भने ।

वैद्यखानाबाट उत्पादित अश्वगन्धा, तुलसी चिया, ज्येष्ठवासादि, यष्ठिमधु र आमलकी जस्ता चूर्ण कोभिडका बिरामीलाई लाभदायक हुने गरेको वैद्यखानाका उत्पादन अधिकृत डा. विनोद साहले बताए । ‘कोभिडलाई लक्ष्य गरेर गुडुची चिया उत्पादन गरेका छौं,’ उनले भने । डा. साहले उत्पादन वृद्धिका लागि प्रदेश सरकारसँगको समन्वयमा जडीबुटी पहिचान गरेर संकलन गर्न कानुनी प्रक्रिया मिलाउने तयारीमा रहेको जानकारी दिए ।

प्रकाशित : मंसिर २६, २०७७ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?