सडक पूर्वाधारमा ११ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा ११ अर्ब ६४ करोड ८० लाख रुपैयाँ खर्च भयो
विमल खतिवडा

काठमाडौँ — सडक विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्ष (२०७७/७८) को प्रथम चौमासिकमा ११ दशमलव २ प्रतिशत बजेट खर्च भएको छ । विभागअन्तर्गत पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा १ खर्ब ४ अर्ब बजेट विनियोजन भएको थियो । त्यसमध्ये प्रथम चौमासिकमा ११ अर्ब ६४ करोड ८० लाख रुपैयाँ खर्च भएको हो ।

सडक पूर्वाधारमा ११ प्रतिशत बजेट खर्च

प्रथम चौमासिकमा सबैभन्दा राम्रो प्रगति पुल निर्माणमा भएको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए । अन्य क्षेत्रको प्रगति भने सुस्त छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार पुल निर्माणको वार्षिक लक्ष्य ३ सय वटा पुल निर्माण गर्ने थियो । यसमा प्रथम चौमासिकको लक्ष्य ३० वटा पुल निर्माण गर्ने हो । तर लक्ष्यभन्दा बढी ३५ पुल निर्माण भएको विभागले जनाएको छ ।

नयाँ कालोपत्र स्तरको सडक निर्माणको वार्षिक लक्ष्य १ हजार ८ किमि छ । प्रथम चौमासिक लक्ष्य ३ सय ८७ किमि रहेकामा २ सय ३४ किमि मात्र कालोपत्र भएको छ । त्यस्तै ग्राभेलस्तरको सडक निर्माणको वार्षिक लक्ष्य एक हजार किमिमध्ये प्रथम चौमासिकमा २ सय ५० किमि सक्नुपर्ने थियो । तथ्यांकअनुसार १ सय ७७ किमि मात्र बनेको छ । माटे सडक निर्माणको वार्षिक लक्ष्य पाँच सय किमि छ । त्यसमध्ये प्रथम चौमासिकमा सक्नुपर्ने १ सय ९६ किमिमा १ सय ४२ किमि मात्र निर्माण भएको छ । ‘असोज २१ सम्म पानी परेर बाढीपहिरो आउने क्रम रोकिएन,’ महानिर्देशक शर्माले भने, ‘जसले गर्दा निर्माणको काम प्रभावित बन्यो ।’ कोरोनाले गर्दा पूर्वाधार निर्माणको काम प्रभावित बन्यो ।

कालोपत्र स्तरको सडक पुनर्निर्माण तथा पुनःस्थापना गर्नुपर्ने वार्षिक लक्ष्य ३ सय ३४ किमि छ । यसमध्ये प्रथम चौमासिकमा १ सय ९७ किमि सक्नुपर्नेमा १ सय २१ किमिको मात्र काम भएको छ । वार्षिक आवधिक रूपमा मर्मत गर्नुपर्ने सडक ७ सय २९ किमि रहेको सडक विभागले जनाएको छ । प्रथम चौमासिकमा १ सय किमिमध्ये ३७ किमि मात्र आवधिक मर्मत भएको विभागले जनाएको छ । ‘कतिपय जिल्लामा अझै त्यहाँका स्थानीय तहले बाहिरी जिल्लाका मान्छे जान दिएका छैनन्,’ शर्माले भने, ‘जसले गर्दा निर्माणको काम अघि बढाउन सकिएको छैन ।’ मनाङ, मुस्ताङ र हुम्लामा यस्तो समस्या छ । कात्तिकदेखि निर्माण सामग्री पाइएको छैन । ‘क्रसर बन्द हुँदा निर्माण सामग्री अभाव भएको हो,’ उनले भने, ‘कोरोना यत्तिकै रहे र निर्माण सामग्रीको अभाव भइरहे लक्ष्य भेट्न गाह्रै पर्छ ।’ उनका अनुसार पुल निर्माणमा भने प्रथम चौमासिकको लक्ष्यभन्दा प्रगति बढी छ ।

‘अन्य क्षेत्रमा पनि हामी अघि बढ्ने क्रममै छौं,’ उनले भने । उनका अनुसार चक्रपथ विस्तारका लागि स्वयम्भूको चैत्य भत्काउन बाँकी छ । चक्रपथमै पर्ने महाराजन्ज क्षेत्रका घर पनि भत्काउन सकिएको छैन । ‘ठेक्का गर्नुअघिको तयारी हुँदै छ,’ उनले भने, ‘त्यसपछि विस्तृत डिजाइन तयार हुनेछ ।’ सिद्धबाबा सुरुङ मार्ग निमाण यस वर्ष थालिने उनले बताए । लामाबगर–लाप्चे सुरुङमार्गको काम पनि यसै वर्ष अघि बढ्नेछ ।

‘अन्य सुरुङमार्गका विषयमा भने प्रारम्भिक अध्ययन भइरहेको छ,’ उनले भने । अहिले निर्माणको समय हो । ‘यही बेला क्रसर बन्द छन्,’ उनले भने, ‘जसले गर्दा निर्माण सामग्री अभावमा कामले तीव्रता पाएको छैन ।’

प्रकाशित : मंसिर २०, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?