१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

तीन दिनभित्र कोरोना बिमाको भुक्तानी दिन निर्देशन

काठमाडौँ — कोरोना बिमाको दाबी भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयले बिमा समितिलाई निर्देशन दिएको छ । सात दिनभित्र दाबी भुक्तानी गर्न यसअघि दिइएको निर्देशन पालना नभएपछि अर्को निर्देशन दिनुपरेको अर्थ मन्त्रालयले जनाएको छ ।

तीन दिनभित्र कोरोना बिमाको भुक्तानी दिन निर्देशन

सात दिनभित्र दाबी भुक्तानी दिने निर्देशन पूर्ण रूपमा पालना नभएको, अझै धेरै संख्यामा दाबी भुक्तानी बाँकी रहेको, दैनिक प्रगति विवरण मन्त्रालयमा नपठाइएको, बिमा समितिले हटलाइन सेवा सञ्चालन नगरेकोलगायत कारण पुनः निर्देशन दिनुपरेको मन्त्रालयले बिमा समितिलाई पठाएको पत्रमा उल्लेख छ । गत कात्तिक १८ मा अर्थ मन्त्रालयले सात दिनभित्र दाबी भुक्तानी दिन भनेको थियो ।

‘कोरोना बिमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरूको भुक्तानी तीन दिनभित्र गरी दैनिक रूपमा मन्त्रालयमा जानकारी गराउनू,’ पत्रमा भनिएको छ, ‘भेरिफिकेसन गर्न बाँकी दाबी यथाशीघ्र प्रमाणीकरण गरी भुक्तानी व्यवस्था मिलाउनू ।’ कोरोना बिमाको हालसम्मको दाबी संख्या, पूरा भएको दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ सेवा विभाग पठाइएको दाबीको विवरण, नक्कली दाबी विवरण, दाबी भुक्तानी विवरण, सबै कागजात पूरा भए पनि भुक्तानी बाँकी दाबी संख्यालगायत विषयको तथ्यांक नियमित सार्वजनिक गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

सरकारको निर्देशनपछि पनि बिमितले दाबी भुक्तानी नपाएपछि अर्थ मन्त्रालयले पुनः पत्र पठाएको हो । बिमा कम्पनीहरूले समयमै भुक्तानी दिएको दाबी गरेका छन् । तर मापदण्ड पुगेका सयौं बिमितले महिना दिनसम्म पनि दाबी भुक्तानी नपाएको गुनासो गरेका छन् । शंकास्पद र निजी प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट प्रमाणीकरणका लागि ईडीसीडी पठाउनुपर्ने भएकाले समय लागेको बिमा कम्पनीहरूले बताउने गरेका छन् । यही मंसिर दोस्रो सातासम्म कोरोना बिमामा परेका २७ हजार ४ सय ३६ वटा दाबीमध्ये ४ हजार १ सय ८० को मात्र भुक्तानी भएको छ । भुक्तानी भएको संख्या कुल दाबीको १५.२३ प्रतिशत हो । गत कात्तिक १८ मा सरकारले सात दिनभित्र भुक्तानी दिन बिमा कम्पनीलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि (गत कात्तिकयता) मात्र थप करिब २ हजार ८ सय वटा दाबी भुक्तानी भइसकेको संघले बताएको छ । सरकारको निर्देशन आउनुअघिसम्म करिब १ हजार ४ सय वटा मात्र दाबी भुक्तानी भएका थिए ।

कारोना बिमा मापदण्ड २०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । संशोधित मापदण्डमा बिमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ ।

मंसिर दोस्रो सातासम्म परेका करिब साढे २७ हजार दाबीमध्ये ९ हजार ६ सय ४३ वटा दाबीको मात्र पूरा काजगात (डकुमेन्ट) प्राप्त भएको छ । यो कुल दाबीको करिब ३५ प्रतिशत मात्र हो । बाँकी करिब ६५ प्रतिशत दाबीको आवश्यक कागजात नपुगेको संघले बताएको छ । भुक्तानी हुन बाँकी दाबीमध्ये १ हजार ६ सय ४१ वटा सक्कली/नक्कली प्रमाणीकरण (भेरिफिकेसन) इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) पठाइएको, १ हजार ३ सय ६ वटा दाबी भुक्तानीका लागि तयार भएको र २ हजार १ सय ४४ वटा दाबीउपर अध्ययन भइरहेको बिमक संघले जनाएको छ ।

सो अवधिमा १ लाख ५६ हजार ५ सय बिमालेखमार्फत १७ लाख ४ हजार जनाले बिमा गरेका छन् । सो बिमाबाट ९८ करोड ३३ लाख ७९ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । जसमध्ये २१ करोड २० लाख रुपैयाँ ५४ हजार ६ सय ८९ रुपैयाँ गत भदौ २८ पछि भएको बिमाबाट संकलन भएको बिमा शुल्क हो । सो अवधिमा १५ हजार १ सय ८७ बिमालेखमार्फत ३ लाख ५५ हजार २ सय १८ जनाको बिमा भएको छ । कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमालेखको बिक्री सुरु गरिएको थियो ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?