कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

झापामा तेजपत्ताको तेल उत्पादन गरिँदै

विश्व बजारमा तेजपत्ताबाट उत्पादित तेलको मूल्य प्रतिलिटर २५ देखि ३० डलर छ । भारतीय बजारमा भने प्रतिलिटर भारु ५ हजारसम्ममा बिक्री हुन्छ ।
पर्वत पोर्तेल

काँकडभिट्टा — भान्छामा मसलाका रूपमा प्रयोग हुने तेजपत्ताबाट झापामा तेल उत्पादन सुरु गरिएको छ । काँकडभिट्टाको महेन्द्रद्वार सहकारी संस्थाले मेचीनगर–८ जोरसिमलनजिकै ८ बिघा जमिनमा तेजपात प्रशोधन केन्द्र बनाई तेल उत्पादन थालेको हो । 

झापामा तेजपत्ताको तेल उत्पादन गरिँदै

प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७२ लाख रुपैयाँ आर्थिक सहयोगमा प्रशोधन केन्द्र बनाई तेल उत्पादन सुरु गरिएको सहकारीका अध्यक्ष राजु दाहालले जानकारी दिए । ‘बाँकी ५० लाख जति सहकारीबाट लगानी गरेर कारखाना निर्माण गरेका हौं,’ उनले भने, ‘तेल उत्पादन धमाधम भइरहेको छ ।’

दाहालका अनुसार तेजपत्ताको तेल उत्पादनका लागि भारतबाट मेसिन झिकाइएको छ । ‘भारतमा तेजपातबाट तेल उत्पादन गर्ने कारखानाहरू प्रभावकारी देखिए,’ उनले भने, ‘हामीले किन नगर्ने भनेर हात हाल्यौं ।’

नेपालको महाभारत पर्वतीय शृंखलामा समुद्री सतहबाट एक सय मिटरदेखि २ हजार ५ सय मिटर उचाइमा तेजपत्ताको उत्पादन अत्यधिक पाइन्छ । बाहुनडाँगीका किसान अर्जुन कार्कीका अनुसार पछिल्लो समय झापामा समेत तेजपत्ताको उत्पादन बढेको छ । उनका अनुसार हरियो तेजपत्ता प्रतिक्विन्टल १ हजार ५ सय र सुक्खा तेजपत्ता प्रतिकिलो ४० रुपैयाँमा बिक्री भइरहेको छ । झापामा उत्पादित तेजपत्ता सस्तो मूल्यमा भारतीय व्यापारी समूहले किसानका बारीबाटै किनेर लैजाने गरेको छ ।

झापामै कारखाना खुलेकाले किसानका सबै उत्पादन खरिद गरी तेल उत्पादनमा प्रयोग गर्ने सहकारीको योजना छ । दाहालले तेजपत्ता खेती विस्तारका लागि किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमसमेत ल्याउन लागिएको जनाए । ‘सोझै तेजपात भारत पठाउनेभन्दा पनि तेल पठाउँदा किसान र कारखाना दुवैलाई फाइदा हुने देखियो,’ उनले भने । दाहालका अनुसार सय किलो तेजपत्ताबाट बढीमा एक लिटर तेल उत्पादन हुन्छ । वाष्पीकरण प्रणालीअनुसार तेल निकालिन्छ ।

उत्पादित तेल भारत तथा तेस्रो देश निकासी गर्ने योजना सहकारीको छ । विश्व बजारमा तेजपत्ताबाट उत्पादित तेलको मूल्य प्रतिलिटर २५ देखि ३० डलर छ । भारतीय बजारमा भने प्रतिलिटर भारु ५ हजारसम्ममा बिक्री हुन्छ ।

भारत, चीनसँगै उत्तर अमेरिका, ल्याटिन अमेरिका, रसिया, पश्चिम युरोप, मध्यपूर्वी एसिया, अफ्रिका र जापानमा तेजपत्ताको तेलको माग अत्यधिक रहेको सम्बद्ध व्यवसायीहरू बताउँछन् । वनस्पतिविद् कमल मादेनका अनुसार एन्टिसेप्टिक, एन्टिबायोटिक र दुखाइ कम गर्ने गुण भएको तेजपत्ताको तेल सौन्दर्य प्रसाधन निर्माणमा पनि प्रयोग गरिन्छ ।

प्रकाशित : मंसिर १८, २०७७ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?