कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वदेशी नटिक्दा भारतीय मजदुरकै भर

काम सिकेर दक्ष बनेका श्रमिक अन्यत्र पलायन हुँदा भैरहवा क्षेत्रका उद्योगले कामदारको अभाव झेलिरहनुपर्छ
माधव ढुंगाना

भैरहवा — जगदम्बा स्पिनिङ उद्योगले प्रत्येक वर्ष कामदार खोज्दै उद्योग सञ्चालनका लागि रोजगारीसहित तालिम दिएर काम सिकाउँछ । काम जानेका श्रमिकको अभाव उद्योगमा हुन नदिन उसले अदक्ष कामदारलाई तालिम दिँदै दक्ष बनाउने गरेको हो ।

स्वदेशी नटिक्दा भारतीय मजदुरकै भर

तर काम गर्न जानेका कामदार अभावको समस्या भने उद्योगले बर्सेनि झेल्दै आएको छ । काम सिकेर दक्ष बनेका श्रमिक अन्यत्र पलायन हुनु र काम सिकेका कैयौं स्थानीय कामदारले काममा निरन्तरता नदिनुले उद्योगले काम सिकाएर दक्ष बनाए पनि कामदारको अभाव हुने गरेको हो ।

‘काम नजानेका कामदारलाई रोजगारी दिएर काम सिकाउँदै उद्योगलाई आवश्यक जनशक्ति उद्योगभित्रै तयार गर्ने क्रम १४ वर्षदेखि जारी छ,’ स्पिनिङ उद्योगका सञ्चालक निर्देशक चिरञ्जीवी रायमाझीले भने, ‘काम जानेपछि अन्य उद्योगमा जाने र अनुकूल परेका बेलामा मात्र काम गर्न आउने प्रवृत्तिले उद्योग सञ्चालनमा समस्या हुने गरेको छ ।’ उद्योग सञ्चालन भएयता करिब ६ हजार जना कामदारलाई तालिम दिँदै काम सिकाइएको उनले बताए ।

निर्देशक रायमाझीका अनुसार उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न २४ सै घण्टा करिब एक हजार जना कामदार आवश्यक पर्छन् । तर उद्योगमा भने ५ सयको हाराहारीमा मात्र कामदार कार्यरत छन् । आवश्यकताअनुरूपका कामदार नभएकै कारण उत्पादित वस्तुको माग बजारमा उच्च भए पनि ४० देखि ६० प्रतिशत उत्पादन क्षमतामा मात्रै उद्योग सञ्चालन भइरहेको उनले बताए । फाइबरबाट धागो बनाउने क्रममा कामदारले गर्नुपर्ने कामबारे उद्योगले तालिम दिँदै सीप सिकाउने गर्छ । एक जना कामदारलाई रोजगारीसहित तीनमहिने प्रशिक्षण दिँदा न्यूनतम् पनि ४५ हजार रुपैयाँ खर्च लाग्ने दाबी उद्योगको छ । ५० प्रतिशतभन्दा बढी उत्पादन बाह्य मुलुकमा निर्यात हुने गर्छ ।

स्पिनिङ उद्योग नजिकै भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित अर्को उद्योग जगदम्बा सेन्थेटिक्समा पनि यही समस्या छ । प्लास्टिकका बोरा उत्पादन गर्ने यो उद्योगले पनि धेरै जनालाई उद्योगमा गर्नुपर्ने काम सिकाएर रोजगारी दिन्छ । काम सिकेपछि कामदार अन्यत्र काम गर्ने भन्दै पलायन हुन्छन् । काम सिकेका स्थानीय कामदार आफूलाई पैसाको खाँचो पर्दा मात्रै काममा आउने प्रवृत्तिले उद्योग सञ्चालका लागि कामदारको जहिले पनि अभाव हुने गर्छ ।

‘नेपालमा सेन्थेटिक्स उद्योग चलाउन जान्ने कामदार धेरै नभएकाले कामदार खोजेर उद्योगमा ल्याएपछि सिकाएर दक्ष बनाउने हो,’ सेन्थेटिक्स उद्योगका व्यवस्थापक रतन आचार्यले भने, ‘तलब दिएर काम सिकाएका कामदार धेरै तलब पाइने प्रलोभनमा भारततर्फ जाने र स्थानीयले काम छाड्ने प्रवृत्तिले गर्दा नचाहेर पनि भारतीय कामदार खोज्नुपर्ने अवस्था आउने गर्छ ।’ उनका अनुसार उद्योग सञ्चालन भएयता १२ देखि १५ हजार जना कामदारलाई उद्योगले काम सिकाएकामा यतिबेला करिब पाँच सय कामदार छन् । आठ सय जना कामदार उद्योगलाई आवश्यक पर्छ । थोरै संख्यामा रहेका कामदारलाई नै फकाएर ओभरटाइम दिँदै उद्योग धानिएको छ । काम सिकेपछि अधिकांश कामदार भारतको गुजरात, दिल्ली, अहमदावाद, रुद्रपुरलगायत स्थानमा जाने गरेका छन् ।

काम सिकेपछि कामदार अर्को उद्योगमा पलायन हुने र स्थानीय कामदारले काममा निरन्तरता नदिने स्वदेशी कामदारको प्रवृत्तिबाट स्पिनिङ र सेन्थेटिक्स उद्योग मात्र होइन, तराई क्षेत्रमा सञ्चालित सिमेन्ट, स्टिल, खाद्यान्नलगायत अन्य प्रकृतिका उद्योग पनि पीडित हुने गरेका छन् । काम जानेका नेपाली कामदारलाई समान प्रकृतिका भारतीय उद्योगमा लैजान उद्योगका कामदार उपलब्ध गराउने जिम्मा लिएका भारतीय ठेकेदार नेपाली श्रम बजारमा आउने गरेका छन् । उनीहरूले नेपाली कामदारलाई नेपालमा भन्दा केही धेरै पारिश्रमिक दिलाउने प्रलोभन दिने गर्छन् । तर वास्तविकतामा भने २/४ सय रुपैयाँको मात्र फरक हुने नेपाली व्यवसायीको दाबी छ । व्यवसायीका अनुसार २/४ सय रुपैयाँको प्रलोभनमा बिदेसिनुभन्दा आफ्नै घर परिवारसँगै रहेर काम गर्नु श्रमिकको हितमा हुन्छ । यता नेपालका उद्योग कामदारको अभावले ठेकेदारमार्फत भारतीय कामदारलाई ल्याएर रोजगारी दिन बाध्य हुने गरेका छन् । जसका कारण नेपाली कामदारको स्थान भारतीय कामदारले लिँदै जान थालेका छन् । स्वदेशका कामदारको सट्टा भारतीय कामदारलाई ल्याउन व्यवसायी आकर्षित हुने अवस्था सिर्जना हुने गरेको छ । नेपाली श्रमिक रहेको उद्योगमा विभिन्न पेसागत हकहितको माग उठाउँदै विभिन्न श्रमिक संगठनका नाममा हुने बन्द हडतालले उद्योग सञ्चालनमा अवरोध सामना गर्नुपर्ने अनुभव व्यवसायीसँग छ ।

लकडाउन र सिमाना सिल भएकाले यतिबेला भने नेपाली उद्योग (उद्योग सञ्चालन गर्ने मुख्य प्राविधिक कामदारबाहेक) नेपाली कामदारमै निर्भर छन् । नेपालका उद्योगमा मजदुर तथा कामदारको अभावले गर्दा कुनै पनि उद्योग क्षमताअनुरूप सञ्चालन हुन सकेका छैनन् । सिमाना खुल्नासाथ नेपालमा कार्यरत कामदार भारतीय बजारमा पुग्ने ताकमा रहेको व्यवसायी बताउँछन् ।

सिमेन्ट, सेन्थेटिक्स, स्पिनिङ, स्टिल, प्लाइउड, खाद्यान्नसहित २६ वटा उद्योग रहेको लुम्बिनी करिडोरमा मात्रै प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब पाँच हजार कामदार कार्यरत छन् । यसैगरी भैरहवा–परासी औद्योगिक करिडोर, भैरहवा–बुटवल औद्योगिक करिडोरमा समेत गरी झन्डै पाँच दर्जन उद्योग सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर १८, २०७७ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?