१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

४ महिनामा आयो ४१ करोडको सेनिटाइजर

सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गरे आयात प्रतिस्थापन गर्न सकिने उद्योगीको भनाइ
नुमा थाम्सुहाङ

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४० करोड ९१ लाख ६२ हजार रुपैयाँ बराबरको सेनिटाइजर नेपाल भित्रिएको छ । साउन–कात्तिकसम्म ११ लाख ५४ हजार ६ सय ९१ लिटर सेनिटाइजर आयात भएको भन्सार विभागको तथ्यांक छ ।

४ महिनामा आयो ४१ करोडको सेनिटाइजर

सोही अवधिमा १५ करोड ६२ लाख ४९ हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ५ सय ७४ लिटर अन्य डिसइन्फेक्टेड नेपाल भित्रिएको तथ्यांक छ ।

साउनमा १२ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख ८८ हजार ९ सय ३३ लिटर, भदौमा १४ करोड २४ लाख ७ हजार रुपैयाँ बराबरको ४ लाख १२ हजार ४ सय ४८ लिटर, असोजमा ८ करोड १२ लाख ७७ हजार रुपैयाँ बराबरको २ लाख ३३ हजार २ सय ८२ लिटर र कात्तिकमा ६ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको २ लाख २० हजार २७ लिटर सेनिटाइजर आयात भएको विभागको तथ्यांक छ । यसबाट ७ करोड ७७ लाख ५८ हजार रुपैयाँ भन्सार महसुल संकलन भएको छ ।

साउनमा ५ करोड ६६ हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ७ सय ७२ लिटर, भदौमा ३ करोड ५५ लाख २ हजार रुपैयाँ बराबरको १ लाख १ हजार १ सय २० लिटर, असोजमा ३ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको ६३ हजार ९५ लिटर र कात्तिकमा ३ करोड ५९ लाख १७ हजार रुपैयाँ बराबरको ९१ हजार ५ सय ८६ लिटर अन्य डिसइन्फेक्टेड आयात भएको तथ्यांकमा उल्लेख छ । अन्य डिसइन्फेक्टेडबाट २ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको भन्सार महसुल संकलन भएको छ । सेनिटाइजर अन्य डिसइन्फेक्टेड चीन, भारत, जापान, इटाली, बंगलादेश, अफगानिस्तान, थाइल्यान्ड, हङकङ, जर्मनी, फ्रान्स, इन्डोनेसिया, मलेसियालगायत मुलुकबाट आयात गरिएको हो ।

नेपालमा रहेका उद्योगले पूर्ण क्षमतामा उत्पादन गरेर बजारमा नल्याएका कारण बाहिरबाट आयात भइरहेको नेपाल औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री बताउँछन् । औषधि उद्योग मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नहुने भएकाले सेनिटाइजर उत्पादन गरी बिक्री गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘संघका औषधि उद्योगी साथीहरूमा सेनिटाइजर उत्पादन गर्ने चासो छैन,’ उनले भने, ‘अत्यावश्यक वस्तु उत्पादन गर्ने औषधि उद्योग भएकाले सरकारले तिनलाई भ्याटमा दर्ता गरेको छैन । भ्याटमा दर्ता नहुँदा औषधि उद्योगलाई भने समस्या छ ।’ ५० लाख रुपैयाँभन्दा बढी कारोबार भयो भने सरकारलाई भ्याट बुझाउनुपर्छ । भ्याटमा नभएपछि औषधि उद्योगले कहाँ लगेर तिर्ने भन्ने चुनौती रहेको उनले बताए ।

‘सेनिटाइजरको आवश्यक कच्चा पदार्थ यहीँ पाइन्छ,’ उनले भने, ‘१३ प्रतिशतको ठाउँमा ७/८ प्रतिशत भ्याट लगाउने हो भने सरकारलाई पनि राजस्व आउँछ ।’ स्वदेशी उद्योगले उत्पादन गर्ने सेनिटाइजर आयातितभन्दा महँगो हुने भएकाले सरकारले यसको कच्चा पदार्थमा लाग्ने अन्तःशुल्कमा छुट दिनुपर्ने उनको भनाइ छ ।

कोभिड–१९ को महामारीमा सेनिटाइजरको माग बढेपछि आफ्नो उद्योगले उत्पादन थालेको लोमस फर्मास्युटिकल्सका सञ्चालक प्रबलजंग पाण्डेले जानकारी दिए । महिनामा एक सय मिलिलिटरका ३० देखि ४० हजार बोतल उत्पादन गरिरहेको उनी सुनाउँछन् । ‘सेनिटाइजरका लागि चाहिने इथानोल अल्कोहल र अन्य गरी ९० प्रतिशत कच्चा पदार्थ स्यानीय उद्योगबाट लिएर प्रयोग गरिरहेका छौं,’ उनले भने, ‘औषधि व्यवस्था विभागले तोकेको गुणस्तरअनुसार नै सेनिटाइजर उत्पादन गरी बिक्री गरिरहेका छौं ।’ सरकारले औषधि उद्योगलाई भ्याटमा दर्ता गरे सेनिटाइजरको लागत घट्छ ।

प्रकाशित : मंसिर १७, २०७७ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?