बाँझो जग्गामा खेती गर्नेलाई प्रोत्साहन

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले बाँझो जग्गामा खेती गरेका कृषकहरुलाई प्रोत्साहन स्वरुप सहयोग गर्ने भएको छ ।

लामो समयदेखि बाँझो रहेको जग्गामा खेती गर्ने कृषकलाई सहयोग गर्न उपमहानगरले चालु आर्थिक वर्ष २०७७/०७८ मा प्रोत्साहन कार्यक्रम ल्याएको हो । तरकारी, अन्नबाली उब्जनी गर्ने कृषकलाई प्राथमिकता दिएर सहयोग गर्न चालु आवमा दस लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले आवश्यक अनुसार बजेट थप गरेर कृषकलाई सहयोग गरिने बताए ।

‘आफ्नो जग्गा बाँझो राखेर विदेश जाने, रोजगारीका लागि भौतारिने र दैनिक श्रम गर्ने प्रचलन हटेकाले बाँझो जग्गा उपयोग गर्ने कृषकलाई सहयोग कार्यक्रम ल्याएका हौं ।’, मेयर महतले भने । साबिकका ११ वटा वडामा खेतीयोग्य जग्गा कमी भएपनि उपमहानरपालिका हुँदा थपिएका ८ वटा वडामा अधिकांश बाँझो जमिन खेतीयोग्य भएका कारण किसानलाई प्रोत्साहन गर्न लागिएको बताए । ‘कोरोनाका कारण बेरोजगारी बढिरहेको छ । यस्तो अवस्थामा घर नजिकै बाँझो जमिनमा पनि प्रयोगमा आउने र केही रोजगारी पनि सिर्जना हुने भएकाले यस्तो नीति अवलम्बन गरिएको हो ।’, महतले भने ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा बाली क्षतिपूर्ति अनुदानका लागि १० लाख रुपैयाँसम्म सहयोग गर्ने भएको छ । कृषकले खेतबारीमा लगाएका बाली उब्जनी नभएमा क्षतिपूर्तिका लागि दस लाख रुपैयाँ छुट्याइएको महतले जानकारी दिए । खराब बीऊ र रोगका कारण बाली उब्जनी नहुने समस्या आउने सम्भावनालाई मध्यनजर गर्दै कृषकका राहतका लागि कार्यक्रम ल्याइएको उनले बताए ।

गाई, बाख्रा, बंगुर र पाडा पालनका लागि प्रोत्साहित गर्दै डिजिटल मोबाइल माटो ल्याब स्थापनाका लागि उपमहानगरले सहयोग गर्ने भएको छ । ल्याब स्थापना तथा परीक्षणका लागि सर्त अनुदानबापत् ५ लाख रुपैयाँ उपलब्ध गराइने महतले बताए ।

साना किसानका लागि लक्षित गर्दै गाई प्रवद्र्धन, बाख्रा, बंगुर, पाडापाडी प्रबद्र्धन गर्न यस्तो कार्यक्रम ल्याएको महतले जानकारी दिए । नगरभित्र गाई प्रवद्र्धन कार्यक्रम गर्नका लागि २१ लाख ३३ हजार रुपैयाँ बजेट छुट्याएर काम गरिने महत बताउँछन् । यसैगरी लागत साझेदारीमा बंगुर प्रवद्र्धन कार्यक्रमका लागि चालु आर्थिक ०७७/०७८ वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेर काम गर्न लागिएको नगर प्रमुख महतले बताए ।

साना र व्यवसायीक बाख्राको उत्पादन पकेट विकास कार्यक्रम पनि गरिने भएको छ । चालु आवमा उपमहानगरपालिकाले १५ लाख रुपैयाँ छुट्याएर बाख्रा उत्पादन पकेट विकास कार्यक्रम गर्न लागेको हो ।

प्रकाशित : मंसिर १६, २०७७ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?