कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपत्यकामै दुई किमि सडक कालोपत्र गर्न एक वर्ष !

गौशालादेखि चाबहिल, चुच्चेपाटीसम्म कालोपत्रको काम समयमै नसकिँदा हिलो र धूलोको सास्ती
विमल खतिवडा

काठमाडौँ — सडकको दूरी धेरै होइन । तर पनि हिउँदमा धूलो र बर्खामा हिलोको सामना गरेर यात्रा गर्नुको विकल्प हुन्न । हिउँदमा त धुलाम्मे सडकले नजिकैका सवारी देख्न पनि हम्मे पर्छ । चक्रपथ हुँदै आउने सवारी यी समस्याको सामना नगरी न पशुपति पुग्न सक्छन्, न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ।

उपत्यकामै दुई किमि सडक कालोपत्र गर्न एक वर्ष !

गौशाला–चाबहिल सडक खण्ड हुँदै यात्रा गर्नेहरूले बर्सेनि भोगिरहेको समस्या हो यो । समस्याग्रस्त सडकका रूपमा परिचित यो खण्डमा कालोपत्रको काम थालेको पुसमा एक वर्ष पुग्छ । गौशालादेखि चाबहिल, चुच्चेपाटीसम्मको दूरी करिब दुई किमि मात्र छ । तर वर्ष दिन बितिसक्दा पनि कालोपत्रको काम सकिएको छैन । ‘यो समस्याग्रस्त सडक हो,’ डिभिजन सडक काठमाडौंका प्रमुख कुवेर नेपालीले भने, ‘मैले जागिर खाएको १० वर्ष भयो, यो सडक विद्यार्थी कालदेखि नै समस्याग्रस्त थियो ।’ अहिले लगभग समस्या समाधान भइसकेको उनको दाबी छ । कालिका बेदांशी जेभीले लिएको ठेक्का रकम २० करोड रुपैयाँ छ । यो गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकबाट चुच्चेपाटी तथा चाबहिल चोकबाट धोबीखोला (एकतर्फी) सम्मको ठेक्का हो । यो खण्डमा पुरानो कालोपत्र उप्काएर नयाँ गर्ने र पुरानै सडकमा ओभरले (कालोपत्रमाथि कालोपत्र) को काम गर्नुपर्नेछ । ‘पाइपलाइन परिवर्तन गर्ने ठेक्का पनि यसैमा पर्छ,’ उनले भने, ‘पुस १३ सम्म म्याद छ, यो सडकमा धूलो धेरै थियो, समय बितेको छैन, ठेक्का समयअघि सक्ने प्रयासमा छौं ।’ मित्रपार्कदेखि चाबहिलसम्म करिब ५ सय मिटर दूरीमा शनिबारबाट कालोपत्रको काम सुरु भएको छ । ‘अहिले निर्माण सामग्री नपाएर समस्या भएको छ,’ नेपालीले भने, ‘समयमै निर्माण सामग्री पाएको भए काममा ढिलाइ हुने थिएन, अहिले दिउँसो धेरै गाडी गुड्ने भएकाले रातभर काम गरिरहेका छौं ।’ काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का पुराना पाइप जीर्ण भएर लिक हुँदा सडक जलमग्न हुने गरेको थियो । ‘जसले गर्दा सडकमा खाल्डाखुल्डी धेरै हुन्थे,’ उनले भने, ‘खानेपानी वितरणका पाइप बनाउने काम पनि यही ठेक्काभित्र पर्छ ।’ केयूकेएलले त्यसको डिजाइन दिएको हो । ‘फरक–फरक निर्माण कम्पनीलाई ठेक्का दिँदा समस्या हुने देखियो,’ उनले भने, ‘खानेपानीले आफ्नो काम गर्दा सडक बिग्रिने भयो, त्यसैले एउटै निर्माण कम्पनीलाई खानेपानी र सडक निर्माणको जिम्मा दिइएको हो ।’

महांकाल हुँदै बानेश्वरमा खानेपानीको पाइप यही खण्डमा पर्छ । जसको सडक कालोपत्रसँगै व्यवस्थापनको काम गरिएको हो । यसमा ढलको छुट्टै ठेक्का नलगाइएको उनको भनाइ छ । ‘तर त्यसलाई पनि हामीले हुनेसम्म व्यवस्थापन गर्ने काम गरेका छौं,’ उनले भने, ‘अब पानी लिक भएर सडक बिग्रिने समस्या एक हदसम्म टुंगिएको छ ।’ उक्त सडक खण्डमा मोटरसाइकल वर्कसप धेरै भएकाले सडकमा पानी फाल्दा बिग्रिने गरेको उनको भनाइ छ । असारअघि नै सक्ने गरी काम सुरु गरिएको थियो । ‘तर लकडाउन भयो, विद्युतीय तार भूमिगत गर्नुपर्ने र वर्षाका कारण काम गर्न पाइएन, उनले भने । विद्युत्को तार अन्डरग्राउन्ड भइसकेको छ । नेपाल टेलिकमको काम र ढल व्यवस्थापनको काम लकडाउनकै बीचमा भइसकेको छ । ‘त्यसैले समस्या नआउन पनि सक्छ,’ उनले भने, ‘धूलो र हिलोको समस्या थियो । त्यसैले तुरुन्तका तुरुन्त कालोपत्र गर्नुपर्ने जरुरी नै थियो ।’ निर्माण सामग्री नभएर बाँकी कहिले सकिन्छ भन्ने अवस्थामा रहेको उनको भनाइ छ । मित्रपार्क–चाबहिल खण्डमा दुई सय मिटर सडकको दायाँबायाँ कालोपत्र हुँदै छ । चाबहिल चोकबाट धोबीखोला ३ सय मिटरसम्म एकतिर ओभरले गर्न बाँकी छ ।

चाबहिल चोकदेखि चुच्चेपाटीसम्म २ सय मिटर दायाँबायाँ कालोपत्र गर्न बाँकी छ । ‘जयबागेश्वरीदेखि चाबहिलसम्म सडकको एकतिर एक–डेढ सय मिटर कालोपत्र गर्नु छ,’ नेपालीले भने । निर्माण सामग्री नभएकै कारण काम अघि बढाउन समस्या भएको उनको भनाइ छ । जयबागेश्वरीदेखि मित्रपार्क खण्डमा पहिलो तहको कालोपत्र उप्किन थालेको छ । ‘यो खण्डमा नयाँ पाइपलाइन फेरिएको हो, वारपार खनिएको छ,’ उनले भने ।

प्रकाशित : मंसिर १६, २०७७ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?