कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ करोडका एभोकाडोका बेर्ना

धनकुटा — धनकुटामा यस वर्ष ११ करोड रुपैयाँभन्दा बढीका एभोकाडोका बेर्ना बिक्री गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ४ करोड रुपैयाँ बढी हो । किसानले बेर्नाका लागि भित्री दानाको मूल्य लिने गर्न थालेका छन् ।

एभोकाडो उत्पादन गर्ने किसानलाई गुदी कसले खाइदेला भन्ने पिरलो छ । सामान्यतः गाउँघरमा जाने ग्राहकले सित्तैमा गुदी खान पाउँछन् । तर भित्री दानासहित खरिद गर्नुपरे मात्र मूल्य तिर्नुपर्छ ।

अघिल्लो वर्ष ७ करोड २६ लाख मूल्यको नर्सरी कारोबार भएकामा यस वर्ष ४ करोड रुपैयाँ बढीको बिक्री भएको नगरपालिकाका कृषिविज्ञ जीवन राईले बताए । जिल्लामा एभोकाडोको फलभन्दा बीजका रूपमा रहेको दाना बिक्री गर्नेतर्फ किसान आकर्षित भएको उनको भनाइ छ ।

जिल्लामा पाँच वर्षअघिसम्म एभोकाडोको व्यावसायिक खती न्यून थियो । तर धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी घोषणा गरेसँगै यसतर्फको आकर्षण बढेको नगर प्रमुख चिन्तन तामाङले बताए । धनकुटा–३ पात्लेका नर्सरी किसान गोपाल वाग्ले पनि एभोकाडोको गुदी कसले खाइदेला भन्ने पिरलोमा छन् । अघिल्लो वर्ष गुदीबाट तेल बनाउने प्रयासमा रहे पनि यस वर्ष बिरुवा उत्पादनमा जोड दिएको उनले बताए । आफ्नो बगैंचाबाट तीन क्विन्टल एभोकाडो उत्पादन गरेका वाग्लेले बिरुवाका लागि बाहिर बोक्रोभन्दा भित्री भागमा रहेको गुदी झिक्ने गरेका छन् ।

त्योभन्दा केन्द्र भागमा रहेको दानालाई नर्सरीमा बिरुवा उमार्न प्रयोग गर्ने उनले बताए । ‘एउटै बिरुवाको मूल्य डेढ सयदेखि ३ सय रुपैयाँमा बिक्री हुन्छ,’ उनले भने, ‘दाना प्रतिकिलो २ सयमा बिक्री गर्नुभन्दा बिरुवा उत्पादन गरेर बिक्री गर्न फाइदा हुन्छ ।’ बजारमा भित्री दानासहितको एभोकाडोको मूल्य प्रतिकिलो २ सय रुपैयाँ छ ।

प्रकाशित : मंसिर १४, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?