१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिटी बसपार्क सञ्चालनमा आउँदै

चाँदनी कठायत

वीरेन्द्रनगर — निर्माण सकिएको करिब डेढ वर्षपछि सिटी बसपार्क सञ्चालनमा आउने भएको छ । अदालतसम्म पुगेका विवाद सुल्झिएपछि सोमबारदेखि बसपार्क सञ्चालनमा आउन लागेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।

सिटी बसपार्क सञ्चालनमा आउँदै

२०६८ देखि नै निर्माण थाल्ने भनिए पनि २०७२ सालको माघदेखि निर्माण कार्य अघि बढेको बसपार्कको काम दुई पटक म्याद थपपछि गत वर्ष असारमा सकिएको थियो । गत वर्ष नै काम सकिए पनि पुरानो बसपार्कका व्यवसायीसँग नगरपालिकाको टकरावका कारण अदालतमा विवाद, कोरोना महामारीलगायतका कारण सञ्चालनमा आउन सकेको थिएन । सुरक्षा व्यवस्थापनका विषयमा सुरक्षा निकायसँगको छलफल सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए । शनिबार र आइतबार सबै तयारी पूरा भएपछि सोमबारदेखि बसपार्क सञ्चालनमा आउने उनको भनाइ छ ।

‘सुरुमा अदालतमा मुद्दा पर्‍यो,’ उनले भने, ‘त्यो विवाद सुल्झिए पनि लकडाउनले गर्दा सञ्चालन हुन सकेन, त्यसपछि असोज १ गतेसम्म आइसोलेसन राख्यौं, त्यसयता दसैंतिहारले गर्दा काम हुन सकेन ।’ नगरपालिकाले बसपार्क व्यवस्थापनको जिम्मेवारी निजी कम्पनीलाई सुम्पिने तयारी गरेपछि रुष्ट बनेका व्यवसायीले गत वर्ष उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । बसपार्कमा पहिलादेखि नै विभिन्न व्यवसाय गरिरहेका ५४ जना व्यवसायीले नगरपालिकालाई पूर्वसहमतिको पालना नगरेको आरोप लगाउँदै बोलपत्र प्रक्रिया रद्द गर्न रिट दायर गरेका थिए । रिटमाथि गत फागुनमा उच्च अदालतले सुनुवाइ गर्दै प्रतिस्पर्धा गराउने तर पुराना व्यवसायीलाई प्राथमिकता दिनू भनी फैसला गरेपछि विवाद सुल्झिएको हो ।

अदालतको फैसलासँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो । ‘अदालतले पुराना व्यवसायीलाई नै सबै दिने भनेको छैन,’ ढकालले भने, ‘५४ जना व्यवसायीले पनि प्रतिस्पर्धाबाट तय भएको रेटमा लिन मन्जुर भए प्राथमिकता दिने हो, रेट तयार भएको छ, कम्पनीले १५ दिने सूचना पनि निकालेको थियो, त्यसबीचमा आएका व्यवसायीले पाउँछन् ।’ बसपार्क सञ्चालन गर्ने ठेक्का पीआर कन्स्ट्रक्सनले पाएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरेबापत नगरपालिकालाई मासिक ३१ लाख १५ हजार बुझाउनुपर्ने कन्स्ट्रक्सनका प्रबन्धक तथा बसपार्क सञ्चालक सञ्जय खड्काले जानकारी दिए । ‘सटरको रेट बढी भयो भनेर व्यवसायीले भन्नु अस्वाभाविक हो,’ उनले भने, ‘यो रेट नगरपालिकाले यही ३१ लाखभित्र पर्ने गरी कायम गरेको हो ।’

व्यापारिक प्रयोजनका लागि भाडामा दिइने ५४ वटा सटरलाई स्थानका आधारमा फरकफरक मूल्य निर्धारण गरिएको उनले बताए । कम्पनीले व्यापारिक व्यवासायका लागि उपयुक्त स्थान र सेवा सुविधाका आधारमा चार प्रकारमा सटरको विभाजन गरेको उनको भनाइ छ । जसमा पहिलो प्रकारका दुई वटा ठूला सटरको मासिक भाडादर ५० हजार, दोस्रोको ३८ हजार, तेस्रोको २५ हजार र चौथो तहको मासिक २० हजार रुपैयाँ निर्धारण गरेको सञ्चालक खड्काले जनाए ।

सिटी बसपार्क चाङ्मिला/नरसिंह जेभीले चार वर्षमा ७ करोड ४४ लाख लागतमा बसपार्क निर्माण कार्य सम्पन्न गरेको हो । उपत्यका नगर विकास समिति र वीरेन्द्रनगर नगरपालिकाको ऋण तथा अनुदान सहयोगमा बसपार्कको बनेको हो । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउन्टर, शौचालय, पार्किङस्थल निर्माण गरिएको छ । बसपार्कमा साना–ठूला गरी १ सय १० बस अट्छन् । ४ हजार ५ सय वर्गमिटर क्षेत्रफल रहेको यो बसपार्कमा ९० वटा ठूला बस र २० वटा मिनीबस अट्न सक्छन् । हाल वीरेन्द्रनगरमा विभिन्न १३ वटा यातायात प्रालिका करिब एक हजार गाडी छन् ।

प्रकाशित : मंसिर १४, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?