१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अनुमतिबिनै पेट्रोल बेच्दै पम्प

फल्स चेम्बर राखेर पेट्रोल चोरी गर्ने चालक सीआईबीको नियन्त्रणमा
राजु चौधरी

काठमाडौँ — पेट्रोल बिक्री वितरणको अनुमतिबिनै पेट्रोल बिक्री गरिरहेको भेटिएको छ । नेपाल आयल निगमको केन्द्रीय अनुगमन टोलीले कपिलवस्तुमा निरीक्षण गर्दा चिन्नी लाल कान्दु पेट्रोल पम्पले अनुमतिबिनै पेट्रोल बेचेको भेटिएको हो ।

अनुमतिबिनै पेट्रोल बेच्दै पम्प

निगमका अनुसार चिन्नी लाल कान्दु पम्पले डिजेल बिक्री गर्न मात्रै अनुमति पाएको थियो । तर पम्पले कपिलवस्तुमै रहेको आदि शक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पबाट पेट्रोल ल्याएर बिक्री गर्ने गरेको रहेछ ।

‘कपिलवस्तुको तौलिहवामा रहेको चिन्नी लाल कान्दु पेट्रोल पम्पले निगमबाट डिजेल मात्रै बिक्री वितरण गर्ने अनुमति पाएको छ । तर पम्पले पेट्रोल पनि बिक्री वितरण गर्ने गरेको देखिएको छ । कपिलवस्तुको डंगरस्थित आदि शक्ति माता आयल सप्लायर्स पेट्रोल पम्पमा स्थलगत निरीक्षण गर्दा चिन्नी लाल कान्दु पम्पलाई ४ हजार ५ सय ९ लिटर पेट्रोल दिएको गराएको देखियो,’ लुम्बिनी प्रादेशिक कार्यालय भलबारीका सूचना अधिकृत रमेश ज्ञवालीले भने, ‘निगमको केन्द्रीय अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रतिनिधिको रोहवरमा सिलबन्दी गरेको छ ।’ दुवै पम्पलाई पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को दफा २९ बमोजिम कारबाही प्रक्रिया बढाइने निगमले जनाएको छ ।

निगमको अनुमतिबिनै पेट्रोल बिक्री गर्नु गैरकानुनी रहेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । ‘एउटा पम्पको इन्धन अर्को पम्पमा झारेर बिक्री गरेको देखियो,’ उनले भने, ‘यो सरासर गैरकानुनी हो । त्यही भएर दुवै पम्पमा सिलबन्दी गरिएको छ । उनीहरूलाई थप कारबाही हुन्छ ।’ निगमका उपप्रबन्धक प्रमेश पुडासैनीको नेतृत्वमा पाँच सदस्यीय टोलीले भैरहवादेखि धनगढीसम्मका पम्पको अनुगमन गरिरहेको छ । टोलीले पम्पको गुणस्तरदेखि अपनाइएको पूर्वाधारसहितको अनुगमन गर्छ । निगमका डिपो र ट्यांकरको लकिङ पनि अनुगमन गरिरहेको छ ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पनि एउटा पम्पले अर्को पम्पलाई पेट्रोलियम पदार्थ बिक्री गर्नु कानुनविपरीत भएको बताए । ‘पम्पले अन्तिम उपभोक्तालाई मात्रै बिक्री गर्न पाउँछन्,’ उनले भने । ती पम्पमा देखिएको कमजोरीमा निगम पनि चुकेको उनको दाबी छ ।

विनियमावलीको दफा २९ मा बिक्रेताले निगमबाट बाहेक अन्य कसैबाट पनि पेट्रोलियम खरिद, भण्डारण तथा बिक्रीवितरण गर्न नमिल्ने उल्लेख छ । निगमको स्वीकृतिप्राप्त बिक्रीस्थलबाहेक अन्यत्र पेट्रोलियम पदार्थ बिक्रीवितरण र अन्य बिक्रेतालाई पेट्रोलियम पदार्थ बिक्री वितरण गर्न पनि पाइँदैन । कुनै एक प्रकारको पेट्रोलियम पदार्थमा अर्को प्रकारको पेट्रोलियम पदार्थ मिसावट गरी बिक्रीवितरण गर्न पनि मिल्दैन ।

कपिलवस्तुसँगै वीरगन्जका पम्पमा पनि समस्या देखिएको उपाध्यायले बताए । त्यस क्षेत्रमा अनुगमन गर्दा कामेश्वर चौरसिया आयल स्टोर, श्रीराम आयल सेन्टर, सरस्वती आयल स्टोरले पनि मापदण्ड पालना नगरेको फेला परेको उनले जानकारी दिए । ‘पम्पहरूमा भैतिक पूर्वाधारका मापदण्ड अपनाइएको थिएन । राख्नुपर्ने विवरण पनि थिएन,’ उनले भने, ‘यी तीन पम्पको आपूर्ति रोक्का गरेका छौं ।’

यसैबीच पेट्रोल ढुवानी गर्ने ट्यांकरमा फल्स चेम्बर बनाई इन्धन चोरी गर्ने दुई चालकलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । वीरवेताल आशीर्वाद ढुवानी सेवाका ट्यांकर नम्बर ना७ख ३६९६ का चालक अजय लामा र ना७ख २९९५ का चालक विकेश लामा पक्राउ परेका हुन् ।

‘दुवै चालकलाई सीआईबीले बल्खुबाट नियन्त्रणमा लिएर छानबिन थालेको छ । चोरीका क्रममा संलग्न व्यक्तिको नेटवर्कबारे अनुसन्धान भइरहेको छ,’ उपाध्यायले भने । उनीहरूले ट्यांकरको चेम्बर नम्बर ३ र ४ को बीचको भागमा स्वीकृत मापदण्डबाहेकको फिटिङस जडान (फल्स चेम्बर) बनाई चोरी गरेको भेटिएको थियो ।

प्रकाशित : मंसिर १३, २०७७ २३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?