१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सर्वसाधारणको लगानीमा २५ मेगावाट बिजुली

बुटवल — रूपन्देही र कास्कीका सर्वसाधारणको लगानीमा २५ मेगावाट विद्युत् उत्पादनको काम थालिएको छ । बुटवलस्थित भिजन लुम्बिनी कम्पनी लिमिटेडले सेती नदी जलविद्युत् आयोजना निर्माण थालेको हो ।

सर्वसाधारणको लगानीमा २५ मेगावाट बिजुली

रूपन्देहीका करिब ५ सय र कास्कीका ६ सय सर्वसाधारणको लगानी छ । सहकारी मोडलमा जनस्तरबाट रकम संकलन गरी १ अर्ब ५० करोड सेयर पुँजीबाट विद्युत् आयोजना निर्माण थालिएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा उत्पादित विद्युत् अबको १९ महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना छ । ‘सर्वसाधारणको ससानो लगानी संकलन गरेर पनि जलविद्युत् निर्माण गर्न सकिन्छ भन्ने उदाहरण दिन काम थालेका हौं,’ उनले भने, ‘धेरैको अपनत्व भएकाले आयोजना सोचेभन्दा राम्रो भएको छ ।’

५ अर्ब लागत अनुमान गरिएको जलविद्युत् गृह निर्माणमा सर्वसाधारणको डेढ अर्ब लगानी हुनेछ । भिजनमार्फत न्यूनतम १ लाख रुपैयाँदेखि लगानी गर्ने सर्वसाधारण सेयर सदस्य छन् । सर्वसाधारणले सेयर राख्न पाउने भएपछि पछिल्लो पटक काठमाडौं, चितवनलगायत क्षेत्रका केही व्यक्तिले समेत रकम लगाएका छन् । अन्य रकम बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गर्नेछन् । जसमा एनएमबी बैंकले २ अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको अध्यक्ष पोखरेलले बताए । प्रवर्द्धकको लगानीमध्येको १० प्रतिशत अर्थात् १५ करोड रुपैयाँ विद्युत् उत्पादन गृह क्षेत्रका स्थानीयले लगानी गर्दै छन् । जुन रकम सहकारीमार्फत संकलन भइरहेको छ ।

विद्युत्गृह निर्माणको काम अहिलेसम्म करिब २० प्रतिशत सकिएको छ । कोरोनाको बढ्दो संक्रमणका बीच पनि निर्माण कार्य तीव्र गतिमा भइरहेको आयोजना निर्देशक लेखनाथ पाण्डेले जानकारी दिए । अहिले सिभिलतर्फको सेटलिसेटलिङ बेसिन (पानी थिग्राउने पोखरी), बाँधलगायत संरचना निर्माणको काम भइरहेको छ । ‘स्थानीयसँग पर्याप्त छलफल गरेर उनीहरूको पनि लगानी हुने गरी आयोजनाको काम अगाडि बढाएकाले निर्माणमा कतै पनि अवरोध आएको छैन,’ उनले भने ।

आयोजनाको लागत ५ अर्ब अनुमान गरिएको छ । सहुलियत र न्यूनतम मूल्यमा काम गरिएकाले काम सवा ४ अर्बमै सक्ने योजना रहेको कम्पनीका सञ्चालक ज्ञानेन्द्र कसजूले बताए । प्रतिसेकेन्ड १८ घनमिटर पानी बहने सेती नदीबाट बाह्रै महिना विद्युत् उत्पादन हुनेछ ।

अध्ययनले आयोजनाबाट वार्षिक १ सय ४८ गिगावाट आवर बिजुली उत्पादन हुने देखाएको छ । जसले हिउँदको समयमा पनि ३२ प्रतिशत बिजुली उत्पादन गर्नेछ । ‘सेती नदी सस्तो, सहज र भरपर्दो आयोजनाका रूपमा लिएका छौं,’ सञ्चालक कसजूले भने ।

प्रकाशित : मंसिर १३, २०७७ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?