कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

नेपालमा कमाएर बाहिर लगानी नगर्नुस् : प्रधानमन्त्री

पुनरुत्थानका थप कार्यक्रम ल्याउन निजी क्षेत्रको माग
सामूहिक प्रयासबाट अर्थतन्त्रलाई अघि बढाउन प्रधानमन्त्रीको आह्वान
विमल खतिवडा

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कमाएर बाहिर लगानी नगर्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले बिहीबार व्यवसायीलाई यहाँ कमाएको पुँजी बाहिर लगानी गर्ने तरिका नअपनाउन सुझाएका हुन् ।

नेपालमा कमाएर बाहिर लगानी नगर्नुस् : प्रधानमन्त्री

‘यहीं लगानी गर्ने तरिका अवलम्बन गर्नुस्, सरकार त्यो चाहन्छ,’ उनले भने, ‘उद्यमी व्यवसायीले यहाँको पुँजी बाहिर लगेर दुई–चार पैसा बढी कमिन्छ भने पनि त्यस्तो बाटो लिनु उचित होइन ।’

देशप्रति माया गर्न उद्योगी व्यवसायीलाई उनले अनुरोध गरे । ‘लगानीका अवसर सकिएका छैनन्, झन् अवसर छ, किनकि हामीसँग केही पनि छैन,’ उनले भने, ‘यस स्थितिमा हामी छौं, हाम्रोमा श्रम बजार सस्तो छ, त्यसैले यहाँका उद्योग बढी मुनाफामा जान सक्छन् ।’ पारदर्शी व्यवसाय गर्नेलाई कानुन परिवर्तन गरेर भए पनि सरकारले उद्योगी व्यवसायीको संरक्षण गर्ने उनले बताए । ‘यहाँहरूलाई आवश्यक पर्ने सुविधा, सहुलियत, छुट कानुनबमोजिम दिन सकिन्छ । जे न्यायोचित हुन्छ, त्यो कानुन बदलेर पनि हामी उपलब्ध गराउँछौं,’ उनले भने, ‘तर यहाँ लगानी गर्नुस्, रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्नुस् ।’ त्यसपछि निर्यात गर्न सकिने उनले बताए । ‘छिमेकमा ठूला–ठूला बजार छन्, हामी निर्यात गर्न सक्छौं,’ उनले भने, ‘तर अहिले हामी उपभोक्ता भयौं ।’ बाहिरका सामानले डिपार्टमेन्टल स्टोर भरिने गरेको उनको भनाइ छ । ‘त्यसैले उपभोक्तासँगै अब उत्पादक पनि बनौं,’ उनले भने ।

सरकार यो पक्षमा सल्लाह गर्न र अगाडि बढ्न तयार रहेको उनको भनाइ छ । आफ्नो पक्ष र अर्को पक्ष सरकारका निम्ति त्यस्तो नहुने भन्दै व्यवसायीलाई दुविधामा नपर्न आग्रह गरे । ‘उद्यमी र व्यवसायी सबै राष्ट्रका निम्ति काम गरिरहेका, योगदान गरिरहेका, उत्पादन, रोजगारदाता, कर तिरिरहेका राष्ट्रका साझा सम्पत्ति हुन्,’ उनले भने, ‘त्यसैले राज्यको नजरमा सबै समान छन् ।’ राज्यले सबैलाई कानुनसम्मत र यथोचित ढंगले संरक्षण र सुरक्षा प्रदान गर्ने उनले बताए । ‘तर राज्यले यत्ति आग्रह गर्छ, तपाईंहरूको कारोबार फेयर होस्,’ उनले भने । कोभिड–१९ ले सबैलाई कठिनाइ परेको हुँदा यसको सामना मिलेर गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘दुनियाँ अगाडि बढ्न सक्ने, हामी नसक्ने भन्ने होइन,’ उनले भने, ‘अझै तीव्र गतिले अगाडि बढ्न सकिनेछ ।’ सरकारले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । ‘तर लगभग हामी जिरोको स्थितिमा पुग्यौं तैपनि हामीले सन्तोष गर्नुपर्दछ,’ उनले भने, ‘ठूला र बलिया देशहरू माइनसमा गएका छन् ।’

सरकारले गच्छेभन्दा एक कदम अगाडि बढेर साथ सहयोग पुर्‍याउन हात बढाउने उनको भनाइ छ । ‘हामीले सामूहिक प्रयासबाट अर्थतन्त्रलाई अगाडि बढाउनुपर्छ, अगाडि बढाउन सक्छौं र बढाउनेछौं,’ उनले भने । नयाँ–नयाँ उद्योग व्यवसाय र कारोबारका क्षेत्र पत्ता लगाएर ती क्षेत्रलाई अगाडि बढाउने काम पनि निजी क्षेत्रले गरेको उनको भनाइ छ । विभिन्न स्टार्टअप र इनोभेटिभ काममा युवाहरूको सहभागिता प्रशंसनीय रहेको उनले बताए । कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको प्रभावलाई कसरी छुटाउने र त्यसबाट कसरी अगाडि बढ्ने भन्ने अहिलेको अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा महासंघ अध्यक्ष भवानी राणाले कोभिड महामारीका कारण मुलुकको अर्थतन्त्र नराम्रोसँग प्रभावित बन्न पुगेको बताइन् । कोभिडका कारण ६ महिना लकडाउन हुँदा पर्यटन, निर्माण, हवाई तथा स्थल यातायात, खुद्रा तथा होलसेल व्यापार, उत्पादनमूलक, आवास तथा खाद्य सेवा, घरजग्गा व्यवसाय समस्यामा परेको उनको भनाइ छ ।

‘अहिलेको परिस्थितिमा अर्थतन्त्रलाई राइट ट्र्याकतर्फ लग्न सरकार तथा निजी क्षेत्रबीच पार्टनरसिप एप्रोचमा काम गर्नुपर्ने सुझाव दिन चाहन्छु,’ उनले भनिन् । विश्व अर्थतन्त्र डिजिटल उन्मुख छ । यसबाट प्रविधि, सेवा र पर्यटन क्षेत्रले तुलनात्मक लाभ उठाउन सक्ने भन्दै सरकारका नीति तथा कार्यक्रम सोहीअनुरूप आउनुपर्ने छ । सरकारले दैनिक कार्य सञ्चालन तथा आर्थिक कारोबार डिजिटल उन्मुख बनाउनेतर्फ विशेष नीति अख्तियार गर्नुपर्ने उनको सुझाव छ ।

‘प्रधानमन्त्रीको आर्थिक समृद्धि र आर्थिक विकासको चाहनालाई सफल पार्ने अभियानमा निजी क्षेत्र सारथि बन्न तयार छ, सहयोग गर्न प्रतिबद्ध छ,’ अध्यक्ष राणाले भनिन्, ‘जसका लागि निजी क्षेत्रले सदैव सरकारको साथ र सहयोगको अपेक्षा गरेको छ ।’ त्यस्तै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई चाँडो पूर्ववत् अवस्थामा ल्याउन नसकिए बेरोजगार उच्च हुनुका साथै आर्थिक रूपमा मुलुकमा गम्भीर समस्या आउनेतर्फ सचेत गराए । ‘बजेट र मौद्रिक नीतिले समेटेका विषय सकारात्मक छन्,’ उनले भने, ‘तर छिटो तंग्रिन हामीलाई सरकारको भरथेग अझै चाहिएको छ ।’

कोभिड पुनरुत्थान विशेष कार्यक्रम घोषणाका लागि प्रधानमन्त्रीलाई आग्रह गरेको उनले बताए । ‘जसमा प्रत्यक्ष अनुदान, राजस्व छुट, साँवाब्याज भुक्तानीको अवस्था, श्रमिक व्यवस्थापनलगायत विषय समेटिनुपर्छ,’ उनले भने, ‘यसबारे सरकारसँग छलफल गर्न चाहन्छौं ।’ बिहीबार र शुक्रबार साधारणसभा र शनिबार महासंघको कार्यकारिणी समितिको निर्वाचन हुँदै छ ।

पूर्वअध्यक्षहरू सम्मानित

उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका अवसरमा महासंघका पूर्वअध्यक्षहरूलाई सम्मान र प्रशंसापत्र प्रदान गरिएको छ । यस क्रममा पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मान गरिएको हो । महासंघको योगदान र निजी क्षेत्रमा अनुशासन तथा आचारसंहिताको विषय लागू गर्नेमा उनी पर्छन् साथै अन्य पूर्वअध्यक्षलाई भने प्रशंसापत्रबाट सम्मान गरिएको महासंघले जनाएको छ, जसमा महेशलाल प्रधान, विनोदकुमार चौधरी, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डिराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान पशुपति मुरारका छन् । कार्यक्रममा प्रदेश च्याप्टरका अध्यक्षहरू प्रदेश १ बाट नरेन्द्रकुमार खड्का, २ बाट शिवशंकर साह हिरा, वाग्मती प्रदेशबाट दिनेश श्रेष्ठ, गण्डकी प्रदेशबाट सञ्जीवबहादुर कोइराला, लुम्बिनी प्रदेशबाट गुणनिधि तिवारी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र सुदूरपश्चिम प्रदेशबाट शंकर बोगटीलाई कदरपत्रबाट सम्मान गरिएको छ । त्यस्तै नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जीआईजेड नेपाल कार्यालय, ब्रिटिस काउन्सिललाई पनि कदरपत्रबाट सम्मानित गरिएको छ ।

‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएको रत्ननगर उद्योग वाणिज्य संघ र मुगु जिल्लाको आर्थिक व्यावसायिक विकासमा उल्लेख्य योगदान गरेबापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदरपत्र प्रदान गरिएको छ । महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरू उपनिर्देशक विष्णुराज ढकाल, अधिकृतहरू बाबुराम निरौला, बिन्दु श्रेष्ठ, विभूति प्रधान, कार्यालय सहयोगी पित्तनारायण श्रेष्ठ र राधिका नेपालीलाई नगदसहित कदरपत्र प्रदान गरिएको छ ।

प्रकाशित : मंसिर १२, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?