कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राविधिक नआउँदा विमानस्थलको काम रोकियो

माधव ढुंगाना

भैरहवा — कोरोना महामारीका कारण विदेशी प्राविधिक आउन नसक्दा गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण जडानको काम आठ महिनादेखि रोकिएको छ । ९३ प्रतिशत भौतिक संरचना पूरा भइसकेको यो आयोजनामा उपकरण जडानको काम बाँकी छ ।

प्राविधिक नआउँदा विमानस्थलको काम रोकियो

सन् २०१४ मा शिलान्यास गरिएको आयोजनाको म्याद पाँचौं पटक थप गरेर आउँदो डिसेम्बरसम्म कायम गरिएको छ । उपकरण जडानका लागि करिब तीन महिना लाग्ने भएकाले डिसेम्बरसम्ममा आयोजना निर्माण पूरा हुन नसक्ने निश्चित छ । विदेशी प्राविधिक आउनेबारे अझै यकिन नभएकाले आयोजना निर्माण कार्य पूरा हुने अवधि पनि अनिश्चित बनेको हो । ‘उपकरण जडानका लागि आउनुपर्ने विदेशी जनशक्तिलाई जतिसक्दो चाँडो ल्याउन हामी निरन्तर प्रयासमा लागिरहेका छौं,’ आयोजना प्रमुख प्रवेश अधिकारीले भने, ‘सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौं ।’ भौतिक संरचना निर्माणअन्तर्गत आईसीबी वानका लागि चीनबाट र मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माण कार्य आईसीबी टुतर्फका लागि थाइल्यान्ड, अमेरिका, अस्ट्रियालगायत मुलुकबाट प्राविधिक आउनुपर्ने उनले बताए ।

अधिकारीका अनुसार आईसीबी वानअन्तर्गतको चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले डिसेम्बरको पहिलो सातासम्ममा केही प्राविधिक ल्याउने तयारी गरेको जानकारी दिएको छ । चीनमा तेस्रो चरणको कोभिडविरुद्धको भ्याक्सिन लगाउन एक–दुई दिनमै सुरु हुने र त्यसको प्रक्रिया पूरा हुनासाथ प्राविधिक ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले बताएको उनले जानकारी दिए । आईसीबी वानअन्तर्गत जडान गर्नुपर्ने उपकरण करिबकरिब आयोजना स्थलमा आइपुगिसकेका छन् । रनवे लाइट, लिफ्ट, ब्यागेज ह्यान्डलिङ सिस्टमजस्ता मुख्य कार्यका लागि उपकरण जडान गर्न ३५ जना प्राविधिक आउनुपर्ने प्रस्ताव आयोजनाले गरेको छ ।

‘ठेकेदार कम्पनीले डिसेम्बर पहिलो सातासम्ममा केही प्राविधिक ल्याउने जानकारी दिए पनि उनीहरूको हवाई टिकट निश्चित भइनसकेकाले यकिनसाथ भन्न सकिएको छैन,’ आयोजना प्रमुख अधिकारीले भने, ‘प्राविधिक आउनासाथ उपकरण जडान कार्य सुरु भइहाल्छ ।’ आईसीबी वानतर्फको उपकरण जडानका लागि काम सुरु गरेको करिब तीन महिनामा पूरा हुने र त्यसका लागि भौतिक सबै संरचना तयार भइसकेको उनले जनाए । आईसीबी टुअन्तर्गतको ठेक्का थाइल्यान्डको एरो थाई कम्पनीले लिएको हो । यसअन्तर्गतका व्यवस्थापक प्रवीण न्यौपानेले पनि विदेशी प्राविधिक आयोजना स्थलमा ल्याउन प्रत्येक दिन पहल भइरहेको जनाए ।

प्रकाशित : मंसिर १२, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?