कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२७ प्रतिशत घट्यो विदेशी लगानी

चालू आर्थिक वर्षका तीन महिनामा २ अर्ब ९२ करोड रूपैयाँ विदेशी लगानी भित्रिएको छ

काठमाडौँ — नेपाल भित्रिने रेमिट्यान्समा कोरोनाको प्रभाव नदेखिए पनि प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रभावित भएको छ । चालु आर्थिक वर्षका तीन महिनामध्ये दुई महिनामा विदेशी लगानी घटेपछि यसलाई कोरोना प्रभावका रूपमा विश्लेषण गरिएको हो ।

२७ प्रतिशत घट्यो विदेशी लगानी

चालु आर्थिक वर्षका तीन महिनामा २ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विदेशी लगानी करिब २७ प्रतिशत घटेको हो । ०७६ असोजसम्म यस्तो लगानी ३ अर्ब ९९ करोड रुपैयाँ थियो । गत साउनमा विदेशी लगानी ३.३ प्रतिशत घटेर १ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको थियो । गत आर्थिक वर्षका सबै महिनामा उच्च दरले बढेको विदेशी लगानी चालु आर्थिक वर्षको सुरुकै महिनामा घटेको थियो । भदौमा विदेशी लगानी २३.३ प्रतिशतले बढेर २ अर्ब ४४ करोड रुपैयाँ भित्रियो । तर असोजमा यस्तो लगानी २६.८ प्रतिशत घटेको छ ।

कोरोनाको कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेको समयमा नेपालमा पनि त्यसको असर परेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए । एक/दुई महिनाको तथ्यांककै आधारमा विदेशी लगानीको प्रवृत्ति विश्लेषण गर्न नसकिने पनि उनको भनाइ छ । ‘कोभिड–१९ का कारण विश्वभर नै लगानी विस्तारमा सुस्तता आएको देखिन्छ,’ उनले भने ।

‘नेपालमा धेरै विदेशी लगानी आउने देश भारतमा पहिलो त्रैमासमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २४ प्रतिशत घटेको छ,’ उनले भने, ‘सञ्चालनमा रहेका परियोजनाहरूमा लगानी आउने क्रम जारी छ । यसकारण पनि विदेशी लगानी गत वर्षको भन्दा कम हुँदैन ।’

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले पनि सन् २०२१ मा विश्व अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेका छन् । यसले पनि आउँदा महिनामा विदेशी लगानी बढ्ने उनको भनाइ छ । पछिल्ला वर्षमा लगानीको वातावरणमा सुधार भएको, सोसम्बन्धी केही कानुन बनेको, एकद्वार प्रणालीको सुरुवात भएको, लगानी सम्मेलन गरिएको लगायत कारण विदेशी लगानी बढेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षमा एफडीआई करिब झन्डै ५० प्रतिशत बढेको थियो । अघिल्लो आर्थिक वर्षमा कुल १३ अर्ब ६ करोड रुपैयाँ विदेशी लगानी आएकोमा गत आवमा यो बढेर १९ अर्ब ४८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । गत आर्थिक वर्षमा नेपाल भित्रिएको विदेशी लगानीको ९० प्रतिशतभन्दा बढी हिस्सा चारवटा जलविद्युत् आयोजनामा आएको छ । जसमा वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा २ अर्ब, लाङटाङ भोटेकोसी हाइड्रोपावरमा ३ अर्ब ६० करोड, अरुण जलविद्युत्मा ८ अर्ब १५ करोड र सोलु हाइड्रोपावर कम्पनीमा १ अर्ब ४२ करोड विदेशी लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

कोभिड–१९ का कारण ठूला आयोजनामा आउने विदेशी लगानी नघटे पनि जनताको स्तरमा आउने लगानी प्रत्यक्ष रूपमा प्रभावित हुने विज्ञहरू बताउँछन् । तत्कालको कोरोना असरलाई बिर्सने हो भने पनि नेपालमा धेरै विदेशी लगानी भित्र्याउन सरकारले गरेका काम पर्याप्त नभएको उनीहरूको आरोप छ । सरकारले केही नीतिगत सुधार गरे पनि व्यवहारमा अपेक्षित सुधार भएको छैन ।

प्रकाशित : मंसिर १२, २०७७ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?