शेयर बजारमा नयाँ कीर्तिमान

२०७३ साउनमा १ हजार ८ सय ८१ विन्दुमा पुगेको नेप्से बिहीबार थप उकालो लागेको छ । यो दिन नेप्से करिब साढे १८ अंक बढ्यो ।
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचकले बिहीबार नयाँ कीर्तिमान बनाएको छ । हालसम्मको उच्च विन्दु १ हजार ८ सय ८१ लाई पार गर्दै बिहीबार नेप्से १ हजार ८ सय ९३.२४ विन्दुमा पुगेको हो । २०७३ साउनमा नेप्से १ हजार ८ सय ८१ विन्दुमा पुगेको थियो । सो विन्दु पार गर्दै बिहीबार नेप्से थप उकालो लागेको छ । यो दिन नेप्से करिब साढे १८ अंकले बढ्यो ।

शेयर बजारमा नयाँ कीर्तिमान

अर्थतन्त्रका सबै परिसूचक ऋणात्मक हुने अनुमान भइरहँदा सेयर बजारले भने नयाँ उचाइ बनाउँदै आएको छ । यही कारण अहिले सेयर बजारको वृद्धिलाई विशेष रूपमा हेरिएको छ । सेयर बजारलाई अर्थतन्त्रकै ऐनका (प्रतिविम्ब) का रूपमा हेरिन्छ । तर सीमित क्षेत्रका कम्पनीको मात्र बाहुल्य रहेकाले नेपाली सेयर बजारले अर्थतन्त्रको दिशा विपरीत प्रवृत्ति देखाउँदै आएको हो । अहिले सेयर बजारको वृद्धि पनि त्यसैको नतिजा भएको जानकारहरू बताउँछन् ।

वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलताका कारण सेयर कर्जाको ब्याजदर निकै तल झरेको, अनलाइन कारोबार प्रभावकारी बन्दै गएको, लगानीका अन्य क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसकेकोलगायत कारण सेयर बजार नयाँ उचाइमा पुगेको उनीहरूको भनाइ छ । कोभिड–१९ को महामारी नियन्त्रणका लागि सबै राष्ट्रका सरकारले राहतका कार्यक्रम ल्याएपछि विश्वभर नै सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । सोही क्रममा नेपाली सेयर बजारले पनि नयाँ कीर्तिमानी बनाएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् । ‘अहिले सेयर बजार बढ्नुको कारण न्यून ब्याजदर, अनलाइन कारोबार र लगानीकर्ताको परिवर्तित लगानी प्रवृत्ति देखिन्छ,’ उनले भने, ‘पछिल्ला दिनमा लगानीकर्ताको आत्मविश्वास पनि बढ्दै गएको छ ।’ बजार बढ्दो प्रवृत्तिमा रहेकाले लगानीकर्ताले संयमित भएर लगानी गर्नुपर्ने उनको सुझाव छ ।

लगानीको सामान्य सिद्धान्तअनुसार बजार घटेको समयमा सेयर खरिद गर्ने र बढेको समयमा बिक्री हुने हो । तर नेपालमा लगानीकर्ताको फरक मनोविज्ञान देखिने गरेको छ । जसअनुसार बजार बढेको समयमा नयाँ लगानीकर्ता बजार भित्रिन्छन् भने घटेको समयमा बाहिरिन्छन् । बजार बढेको समयमा चलखेल पनि बढेको एक ब्रोकरले बताए । ‘बजार उकालो लागिरहेको समयमा राम्रा–नराम्रा सबै कम्पनीको सेयर मूल्य बढ्छ,’ ती अधिकारीले भने, ‘अहिले बजारमा केही कम्पनीको सेयर कर्नरिङ गरेरै सेयर मूल्य बढाइएको छ । यस्तो बेला साना लगानीकर्ता नोक्सानमा पर्ने सम्भावना धेरै हुन्छ ।’

नियामक निकाय धितोपत्र बोर्ड र फन्टलाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा बजारमा सट्टेबाजी बढेको जानकारहरूको भनाइ छ । तर धितोपत्र बोर्ड भने आरोप स्विकार्न तयार छैन । बजारलाई आफूहरूले विशेष रूपमा हेरिरहेको बोर्डका प्रवक्ता निरज गिरीको दाबी छ । ‘अहिले कोभिड–१९ का कारण अर्थतन्त्रका सबै परिसूचक अनुमान गरिएभन्दा तल जाने, सूचीकृत कम्पनीहरूको नाफा घट्ने प्रक्षेपण गरिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा सेयर बजारमा लगानी गर्दा संयमित हुनुपर्छ ।’

बढेको बजारमा जोखिम पनि त्यत्तिकै हुने भएकाले हल्लाको पछि नलागी आफूले लगानी गर्ने कम्पनीको वास्तविक अवस्था राम्रोसँग अध्ययन गरेर मात्र लगानी निर्णय गर्न उनले आग्रह गरे । ‘बढेको बजार घट्न पनि सक्छ, यसकारण लगानी गर्दा राम्रा कम्पनी छनोट गरी लगानीकर्ताले विवेकशील भएर लगानी निर्णय गर्न सक्नुपर्छ,’ उनले भने ।

पूर्ण स्वचालित अनलाइन सेयर कारोबारकै कारण सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि दोस्रो बजारका प्रमुख सूचकमा क्रमिक सुधार आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो बजार कारोबार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्यअनुरूप प्राविधिक, नीतिगत तथा संस्थागत पूर्वाधारहरूमा सुधार गरिएको छ ।’

बिहीबारको सेयर कारोबार हालसम्मकै उच्च भएको नेप्सेले जनाएको छ । सो दिन ७० हजार ३ कारोबारबाट १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर किनबेच भए । सो किनबेचमा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । ‘कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘यसअघि २०७७ मंसिर ७ मा ६ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

प्रकाशित : मंसिर ११, २०७७ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?