कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कर्णालीमा चामल ढुवानीको चटारो

हिमपात सुरु नहुँदै कोटाअनुसारको खाद्यान्न पुर्याइसक्ने तयारी

मुगु/रुकुम पश्चिम — मुगु र डोल्पामा आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि खाद्यान्न ढुवानीको चटारो सुरु भएको छ । मुगुमा खाद्य गोदाम रित्तिएको लामो समयपछि सुर्खेत, नेपालगन्ज र बर्दियाको राजापुरबाट चामल ढुवानी सुरु भएको हो ।

कर्णालीमा चामल ढुवानीको चटारो

हिमपात सुरु नहुँदै यो वर्षको कोटाअनुसारको खाद्यान्न पुर्‍याइसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको तयारी छ । भारी हिमपातका कारण बर्सेनि कर्णाली राजमार्ग र नाग्मा–गमगढी सडक अवरुद्ध हुने गरेको छ । गमगढीमा यो वर्ष स्वीकृत गरिएको ११ हजार क्विन्टल खाद्यान्नमध्ये २ हजार ६ सय ८० क्विन्टल चामल ढुवानी भइरहेको छ ।

दुई हजार क्विन्टल कोटा तोकिएको सोरु खाद्य डिपोमा ६० क्विन्टल खाद्यान्न ढुवानी भइसकेको छ भने श्रीकोटमा १ सय ५० क्विन्टल चामल पुगेको छ । हिमपातको समय नजिकिएपछि चामल ढुवानीलाई तीव्रता दिइएको कम्पनीका निमित्त शाखा प्रमुख पुष्कर भामले बताए । सोरु गाउँपालिकाको कालै बिक्री केन्द्रमा चामल गए नगएकोबारे अध्ययन गर्न मंगलबार प्रशासन कार्यालयका प्रतिनिधिसहित सरोकारवालाको टोली पठाइएको छ । कालैमा बिक्री गर्न सुर्खेतबाट ल्याइन लागेको चामल वीरेन्द्रनगरको शर्मा ढुवानी सेवाले भक्तपुर पठाउन लागेको भेटिएको थियो ।

मुगुमकार्मारोङ गाउँपालिकाको पुलु डिपोमा भने यो वर्ष स्वीकृत भएको चामल अझै पुगेको छैन । पुलुमा खाद्यान्न ढुवानीको जिम्मा विवादित शर्मा ढुवानी सेवाले पाएको छ । यो वर्ष पुलुका लागि १ हजार ७ सय ५० क्विन्टल चामल स्वीकृत भएको निमित्त प्रमुख भामले बताए । डिपोमा चामल नपुगेपछि मुगु, डोल्फु, कार्तिक, किम्री, ताख, खारी, मह, रिउसलगायत १८ वटा बस्तीका बासिन्दा महँगो मूल्यमा बजारको चामल खरिद गरी उपभोग गर्न बाध्य छन् । २५ किलो चामल २ हजार रुपैयाँमा बजारबाट किन्ने गरेको स्थानीय तोर्चे तामाङले बताए ।

चामल नआउँदा झन्डै १३ हजार जनसंख्या रहेको मुगुमकार्मारोङका बासिन्दालाई छाक टार्न समस्या भएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘एक त खाद्यान्न कोटा नै कम छ, त्यही चामल पनि समयमै आउँदैन,’ उनले भने, ‘सिँचाइको अभाव र चिसोका कारण स्थानीय उत्पादन न्यून हुँदा सबै नागरिक बाहिरको चामलको भर पर्न बाध्य छन् ।’

डोल्पामा बल्ल ठेक्का

दुई वर्षदेखि सरकारी अनुदानको चामल नपुगेको माथिल्लो डोल्पामा बल्ल ढुवानीको ठेक्का लागेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले माथिल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र सेफोक्सुन्डो गाउँपालिकामा चामल ढुवानीका लागि ठेक्का लगाएको हो । तीन वटै स्थानीय तहमा एउटै ठेकेदार कम्पनीले ढुवानीको जिम्मा पाएको छ । सुर्खेतदेखि स्थलमार्ग भएर डोल्पामा चामल ढुवानी गरिने कम्पनीको डोल्पा शाखा प्रमुख कमलराज पाण्डेले बताए । उनका अनुसार कम्पनीको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले ठेक्का आह्वान गरेको थियो । बोल–कबोलका आधारमा दिनेश निर्माण सामग्री सप्लायर्स बाँकेले खाद्यान्न ढुवानीको जिम्मा पाएको छ । सप्लायर्सले सुर्खेतदेखि डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र धो, छार्काताङसोङको ढारगाउँ र सेफोक्सुन्डोको साल्दाङसम्म चामल ढुवानी गर्नेछ । कम्पनीले धोसम्म प्रतिक्विन्टल ८ हजार ४ सय ८०, ढारगाउँसम्म ९ हजार ४ सय ९० र साल्दाङसम्म १० हजार ९ सय ९५ रुपैयाँमा चामल ढुवानी हुने जनाएको छ । गत आर्थिक वर्षभरि डोल्पामा अनुदानको चामल ढुवानी भएन भने कोरोना कारण थप समस्या भएको थियो । गत वर्षसम्म चीनबाट चामल ढुवानी हुन्थ्यो । कोरोना महामारीका कारण चीनले सीमा नाका बन्द गरेको छ । अब चामल आउला कि भन्ने आश पलाएको डोल्पोबुद्ध गाउँपालिकाका कर्मा गुरुङले बताए । ‘सरकारी चामल आए विपन्नलाई सुबिस्ता हुन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म चामल किन्नकै लागि ऋण लिनुपर्ने बाध्यता छ ।’

यसअघि कम्पनीले काठमाडौंबाट सोझै चामल ढुवानी गर्दै आएको थियो । चीनतर्फको नाका बन्द भएपछि स्थलमार्गबाट पहिलोपल्ट चामल ढुवानी हुन लागेको हो । शाखा प्रमुख पाण्डेले केही दिनमै डोल्पामा खाद्यान्न पुग्ने बताए । उनका अनुसार सस्तो चामल ४ हजार ९ सय र महँगो चामल ६ हजार ६ सय रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । हाल स्थानीयले बजारबाट प्रतिक्विन्टल १२ देखि २० हजार रुपैयाँसम्ममा किनेर चामल उपभोग गरिरहेका छन् ।

प्रकाशित : मंसिर ११, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?