कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ढकाल प्यानलको ‘भिजन २०२५’ सार्वजनिक

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानलले आफ्नो कार्यकालमा गरिने कार्यलाई समेटेर एजेन्डास्वरूप ‘एफएनसीसीआई भिजन २०२५’ सार्वजनिक गरेको छ ।

ढकाल प्यानलको ‘भिजन २०२५’ सार्वजनिक

भिजनअनुसार लगानी, उत्पादकत्व, रोजगारी, आवागमन र उपभोग सबै पक्षमा कोभिडले पारेको असरका कारण अर्थतन्त्र शिथिल भएको छ । पर्यटन, आतिथ्य र चलचित्रजस्ता उद्योग विगत आठ महिनादेखि आंशिक रूपमा पनि सञ्चालन हुन सकेका छैनन् ।

साना मझौला तथा स्वरोजगारमा आधारित र अनौपचारिक क्षेत्रका ४ लाख उद्योग व्यवसाय बन्द भएको तथ्यांक सार्वजनिक भएको छ । सानादेखि मझौला एवं ठूला सबै प्रकृतिका उद्योग व्यवसायमा असर परेको छ । तीमध्ये अधिकांश प्रत्यक्ष नगद राहत कार्यक्रमविना पुनर्जीवित हुनै नसक्ने जोखिम देखिएको छ । महासंघ र यसको नेतृत्वको पहिलो जिम्मेवारी यी उद्योग व्यवसाय पुनः सञ्चालन गराउनमा केन्द्रित हुने जनाइएको छ । सरकारलाई पूरक बजेट नै ल्याएर भएपनि थप राहतका कार्यक्रम ल्याउन सुझाव र दबाब महासंघले दिने कुरा भिजनमा उल्लेख छ ।

पूर्वाधार, औद्योगीकरण, नवीकरणीय ऊर्जा, सूचना प्रविधि, सेवा आदि सबै क्षेत्रमा ठूलो लगानी भित्र्याउन अपरिहार्य रहेको भिजनमा जनाइएको छ । लगानी बोर्ड, औद्योगिक प्रवर्द्धन बोर्ड तथा उद्योग विभागबाट भित्रिने लगानीको सहजीकरण गर्न महासंघमा व्यावसायिक लगानी सहजीकरण शाखा नै स्थापना गरी अनलाइन र प्रत्यक्ष निःशुल्क परामर्श सेवा प्रदान गर्ने योजना छ ।

सामाजिक सुरक्षा कोष सञ्चालनमा अहिले देखिएका कमजोरी, अन्योल, अनिश्चितता र दोहोरोपनालाई हटाएर सबै सरोकारवालाबीच विश्वासको वातावरण बनाउन पहल गरिने जनाइएको छ । औद्योगिक एवं कृषि उत्पादन र अर्थतन्त्रको ५५ प्रतिशत हिस्सा ओगटिसकेको सेवा क्षेत्रको समयसापेक्ष आधुनिकीकरणका लागि ‘ज्ञान अर्थतन्त्र’ र सूचना प्रविधिमा आधारित ‘डिजिटल अर्थतन्त्र’ लाई प्रवर्द्धन नगरी मुलुकको समग्र अर्थतन्त्रलाई आधुनिक र प्रतिस्पर्धी बनाउन नसकिने भिजनमा उल्लेख छ । महासंघले ज्ञान एवं प्रविधि अर्थतन्त्रका भरोसायोग्य नीतिगत र संस्थागत आधार खडा गर्न सरकार, नेपाली डायस्पोरा र ज्ञान–प्रविधि सम्बद्ध विशिष्टीकृत संस्थासँग सार्थक सहकार्य गर्ने भिजनमा जनाइएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?