पार्टी प्यालेस, फिल्म हल र जिम कहिले खुल्छन् ?

चैतदेखि बन्द रहेका व्यवसाय स्वास्थ्य सुरक्षा अपनाएर चलाउन सक्छौं : व्यवसायी
विमल खतिवडा

काठमाडौँ — कोभिड–१९ ले गर्दा चैतमा लकडाउन भएसँगै बन्द रहेका व्यवसाय अझै सञ्चालनमा आउन सकेका छैनन् । पार्टी प्यालेस, सिनेमा हल र जिम खानालगायत क्षेत्र अझै बन्द छन् । केही व्यवसायीले भने स्वास्थ्य सावधानी अपनाएरै पार्टी प्यालेस, जिमखाना सञ्चालनमा ल्याएका छन् ।

पार्टी प्यालेस, फिल्म हल र जिम कहिले खुल्छन् ?

तर सिनेमा हल भने अझै ठप्प छन् । कोभिडको बढ्दो जोखिम र सिनेमा हल बन्द भएकाले नयाँ फिल्म निर्माण पनि प्रायः ठप्प बनेको छ । निर्माण भएका फिल्मसमेत प्रदर्शनमा आउन सकेका छैनन् । त्यस्तै विवाह, व्रतबन्धको समय सुरु हुँदासमेत क्याटरिङ तथा पार्टी प्यालेस बन्द छन् ।

पार्टी प्यालेस बन्द हुँदा १६ अर्ब लगानी जोखिममा छ । ५० हजार श्रमिक रोजगारविहीन बनेका छन् । ठूलो लगानी रहेको यस क्षेत्रका सञ्चालकले व्यवसाय सञ्चालनमा आउने नदेखेपछि विकल्प खोज्न थालेका छन् । सबै क्षेत्र सञ्चालनमा आए पनि आफूहरूलाई सरकारले व्यवसाय गर्न नदिए स्वास्थ्य सावधानी अपनाएरै सबैले सञ्चालन गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष लीलाबहादुर जीसी बताउँछन् । ‘क्याबिनेटले रोकेको हुनाले क्याबिनेटबाटै निर्णय गराउनुपर्ने भएकाले हामीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने गरी प्रस्ताव लगिदिन माग गरेका छौं,’ उनले भने, ‘बिहीबार निर्णय नभए सरकारको मुख ताकेर बस्दैनौं, आफैं खोल्छौं ।’ उनका अनुसार अहिले पहुँच भएका केही व्यवसायीले मात्र व्यवसाय सञ्चालन गरेका छन् । ‘अब त अति भयो, व्यवसाय धरापमा परिसक्यो,’ उनले भने, ‘त्यसैले विद्रोह गरेरै भए पनि व्यवसाय चलाउँछौं ।’

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको सुरक्षा मापदण्ड अपनाएर खोलिने बताए । ‘त्यसमा जेजे अप्ठ्यारा आउँछन्, त्यो भोग्न तयार छौं,’ उनले भने, ‘कामदारको रोजीरोटी गुमेको छ, उनीहरू पलायन हुने खतरा बढेको छ, त्यसैले सरकारले चाँडो निर्णय गरिदिए हुने थियो ।’ यसबारे मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीमा छलफलसमेत भएको थियो । छलफलमा सहभागी एक मन्त्रीका अनुसार यसबारे आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस हुनेछ ।

देशभर सात हजार पार्टी प्यालेस तथा क्याटरिङ छन्, जसमा ६० देखि ७० प्रतिशत बैंकको लगानी छ । अब चलाउन नपाए सधैंका लागि पार्टी प्यालेस बन्द गरेर अर्कै पेसा, व्यवसाय अँगाल्नुपर्ने अवस्था आउने महासंघका प्रवक्ता एवं उपाध्यक्ष कृष्णप्रसाद पाण्डे बताउँछन् । उनका अनुसार ९५ प्रतिशत पार्टी प्यालेसले जग्गा भाडामा लिएर व्यवसाय चलाएका छन् । जसले गर्दा बैंकको सँगै जग्गाको भाडासमेत तिर्नुपर्छ । वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा पार्टी प्यालेसको व्यवसाय बढी चल्छ । विवाह, व्रतबन्ध, कार्यक्रम र सभा गोष्ठीका बेला पार्टी प्यालेस खोज्ने धेरै हुन्छन् । यो क्षेत्रबाट वार्षिक ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने गरेको छ  । ४५ जिल्लामा ७ हजारभन्दा बढी पार्टी प्यालेस तथा क्याटरिङ छन् ।

त्यस्तै अहिले फिल्म क्षेत्र कोभिडले गर्दा चलायमान बन्न सकेको छैन । निर्माणमा प्रतिस्पर्धा चल्ने फिल्म उद्योग कोभिडले गर्दा धराशायी बनेको छ । चलचित्र विकास बोर्डका अनुसार देशभरका दुई सयभन्दा बढी सिनेमा हल बन्द छन् । नयाँ फिल्म बनेका छैनन् र बनेका फिल्म प्रदर्शनमा आउन सकेका छैनन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार बोर्डले नेपाल चलचित्र संघ, चलचित्र निर्माता संघको चिठीका आधारमा दुई महिनाअघि नै हल सञ्चालनको माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको बताए । ‘कोभिडको जोखिमकै बीच हल कसरी खोल्ने र फिल्म कसरी छायांकन गर्ने भन्नेबारे मापदण्ड नै बनाएर मन्त्रालयमा पेस गरिसकेका छौं,’ उनले भने, ‘दसैं अगाडि नै खोल्न दिने भन्ने कुरा थियो, तर अहिलेसम्म निर्णय नहुँदा अन्योलमा परेका छौं ।’

सञ्चारमन्त्री पार्वत गुरुङलाई भेटेरै गत चैतदेखि सबै सिनेमा हल बन्द रहेका र फिल्म निर्माण रोकिएको बारे ध्यानाकर्षण गराएको उनको भनाइ छ । ‘बोर्डले नीतिगत तहमा जहाँ भन्नुपर्ने र गर्नुपर्ने हो, त्यहाँ चलचित्र संघ र निर्माता संघका साथीलाई साथै लगेर पहल गर्दै आएको छु,’ उनले भने, ‘दसैंअघि नै हल खोल्नुपर्ने थियो, खुलेनन्, अब खुल्छ भन्नेमा छौं ।’ दाहालले स्वास्थ्य सावधानी अपनाएर हल सञ्चालन गर्न सकिने बताए ।

उनका अनुसार दर्शक हल प्रवेश गर्दा सेनिटाइजरको व्यवस्था गरिनेछ । हललाई डिसइन्फेक्सन गरिनेछ । ‘परिवारका सदस्य एकै ठाउँमा बस्न समस्या भएन,’ उनले भने, ‘तर अन्य दर्शकलाई सिटमा भौतिक दूरी कायम गराएर बस्ने व्यवस्था गरिनेछ ।’ कोभिडले गर्दा फिल्म क्षेत्रमा ठूलो असर पुगेको हुँदा यसको पूर्ति हुन केही समय लाग्ने उनले बताए । सधैं भागिरहेर समस्याको समाधान नहुने भएकाले बिस्तारै हल सुचारु गर्नुपर्ने दाहालको भनाइ छ ।

हल भन्नेबित्तिकै भीडभाड हुन्छ भन्ने कुरालाई व्यवस्थापन गर्न सकिने उनको भनाइ छ । अहिले नयाँ फिल्म दर्ता भइरहेका छन् । फाटफुट रूपमा छायांकन पनि थालिँदै छ । तर जुन स्पिडमा जानुपर्ने हो, त्यो नभएको उनले बताए । प्रत्यक्ष जोडिएका प्राविधिक चलचित्रकर्मी अहिले बढी मारमा परेका छन् । ‘अन्य क्षेत्र खुलिसकेपछि चलचित्र क्षेत्र मात्र बन्द गरे राख्नुपर्छ जस्तो लाग्दैन,’ उनले भने, ‘त्यसैले सरकारले सिनेमा हल खोल्नेबारे चाँडो निर्णय गरिदिए हुने थियो ।’ त्यस्तै पार्टी प्यालेस पनि फाटफुट रूपमा सञ्चालनमा आएका छन् । तर भीडभाडले गर्दा स्वास्थ्य मापदण्डबारे कमै ख्याल गरिएको छ ।

नेपाल बडी बिल्डिङ एसोसिएसनका उपाध्यक्ष एवं प्रवक्ता दिनेशराज भण्डारीका अनुसार जिम हलहरू सरकारबाट खोल्न स्वीकृति नपाए पनि प्रायः सञ्चालनमा छन् । तर, गाह्रो गरी चलाउनुपरेको उनको भनाइ छ । ‘सरकारले जबसम्म खोल्न पाइयो भनेर निर्णय गर्दैन, तबसम्म आम सर्वसाधारणमा डर, त्रास कायमै रहनेछ,’ उनले भने, ‘त्यसैले जिम आउनेको संख्या पहिला जस्तो छैन ।’ अहिले घर भाडा र स्टाफलाई मात्र पाल्न पाए हुने उनको भनाइ छ । ‘स्वास्थ्य सुरक्षा अपनाएरै चलाएका छौं,’ उनले भने । उनका अनुसार देशभर जिममा १५ अर्बको लगानी छ । काठमाडौं उपत्यकामा मात्र २ सय ५० वटाभन्दा बढी जिम सञ्चालनमा छन् । देशभरि ४ सय ५० को हाराहारीमा जिम हल रहेको उनको भनाइ छ ।

काठमाडौंमा मात्र एउटा जिम हलमा पाँच करोडसम्म लगानी छ । ‘यसमा आश्रित परिवार ३० हजार छन्,’ उनले भने, ‘कति जिम हल त त कोभिडले गर्दा बन्द हुँदै गएका छन् ।’ भण्डारीका अनुसार आफ्नै खल्तीबाट सञ्चालन गरिएका जिम हल जसोतसो चलेका छन् । तर ऋण गरेर चलाएका जिमहल बन्द गर्नुपर्ने अवस्था आएको छ । ‘त्यसैले सरकारले अब खोल्ने अनुमति दिनुपर्छ,’ उनले भने । फुटसल बन्द गरिएको भए पनि सञ्चालनमा छन् । त्यस्तै अन्य क्षेत्र पनि कोभिडबाट अछुतो छैन । सबैको माग स्वास्थ्य सावधानी अपनाएर चलाउन पाउनुपर्छ भन्ने छ ।

प्रकाशित : मंसिर १०, २०७७ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?