कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्लिन फिड प्रभावबारे अध्ययन गरिँदै

काठमाडौँ — कात्तिक पहिलो सातादेखि क्लिन फिड लागू भएसँगै विभिन्न प्रभाव देखिन थालेपछि सरकारले एक कार्यदल गठन गरी अध्ययन सुरु गरेको छ ।

क्लिन फिड प्रभावबारे अध्ययन गरिँदै

क्लिन फिड कार्यान्वयनको प्रभाव तथा प्रभावकारी कार्यान्वयनका लागि सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा विज्ञापन एजेन्सी र केवल टेलिभिजन व्यवसायीसहित सरोकारवालाहरू छन् ।

संयोजक दुवाडीले कार्यदललाई सरोकारवालाहरूसँग छलफल गरी क्लिन फिडको कार्यान्वयनका लागि सुझाव पेस गर्ने जिम्मेवारी रहेको जानकारी दिए । उनका अनुसार कार्यदलले सरोकारवालाहरूले उठाएको विषय र समस्याबारे छलफल गरी दुई महिनाभित्र प्रतिवेदन पेस गर्नेछ । क्लिन फिड कार्यान्वयन सुरु भएलगत्तै यसको प्रभाव केवल टेलिभिजनमा देखिन थालेको छ । केवल टेलिभिजन व्यवसायीका अनुसार अहिले घरमा टेलिभिजन हेर्न सेटअप बक्स रिचार्ज गराउने ग्राहक घटेका छन् ।

क्लिन फिड लागू भएसँगै धेरै विदेशी च्यानलको प्रसारण बन्द भएको तर ती च्यानलहरू अनलाइनमार्फत हेर्न सकिने भएकाले सेटअप बक्स रिचार्ज गराउने ग्राहक घटेको नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्मा बताउँछन् । शर्माका अनुसार क्लिन फिड लागू हुनुअघि करिब २७ लाख सक्रिय ग्राहक भएकोमा अहिले सेटअप बक्स रिचार्ज गराउने ग्राहकको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।

उनका अनुसार क्लिन फिड कार्यान्वयनका कारण यसअघि नेपालमा प्रसारण भइरहेका मध्ये १ सय २० भन्दा बढी च्यानलको प्रसारण रोकिएको छ । यी टेलिभिजनको प्रसारण रोकिए पनि उपभोक्ताले इन्टरनेटमार्फत यस्ता टेलिभिजनका सामग्री हेर्न पाइरहेकाले सेटअप बक्स रिचार्ज गराउनेको संख्यामा कमी आएको हो । ‘केही वर्ष अघिसम्म केवल टेलिभिजनबाट विदेशी च्यानल हेर्ने ग्राहक संख्या ४० लाखभन्दा बढी थियो,’ शर्माले भने, ‘विस्तारै टेलिभिजनका ग्राहक घटिरहेका थिए, अहिले क्लिन फिडपछि यो झन् घट्ने देखिएको छ ।’ इन्टरनेट सेवा प्रदायकले बाँड्ने सेटअप बक्स एन्ड्रोइड भएकाले पनि उपभोक्ताले जुनसुकै सामग्री हेर्न मिल्ने व्यवस्था भएको भन्दै उनले केवल व्यवसायीले यसबारे सरकारलाई उजुरी गरिसकेको बताए ।

सरकारले क्लिन फिड लागू गर्नुअघि महासंघले ११ बुदे माग पूरा गर्न ज्ञापनपत्र बुझाएको थियो, जसमा इन्टरनेट सेवा प्रदायकले एन्ड्रोइड आईपीटीभी बक्स प्रयोग गरी नेपालमा डाउनलोड अनुमति नभएका टेलिभिजनसमेत प्रसारण गरिरहेको भन्दै बन्द गर्न माग गरेको थियो । ‘स्टार इन्डिया नेटवर्कले आफ्ना सबै च्यानलको प्रसारण नेपालमा बन्द गर्ने जानकारी दिएको छ,’ शर्माले भने, ‘नेपाली व्यवसायीको पहलपछि स्टारअन्तर्गतका तीनवटा च्यानलमात्रै अहिले सञ्चालनमा छन ।’

केबल टेलिभिजन व्यवसायीले टेलिभिजनमा जस्तै इन्टरनेटमार्फत आउने सामग्रीलाई पनि क्लिन फिड गर्नुपर्ने माग गरेका थिए । इन्टरनेटमार्फत आउने सामग्रीका कारण केबल टेलिभिजनका उपभोक्ता निष्क्रिय हुने भन्दै उनीहरूले केही वर्षयता केबल व्यवसायीले डिजिटल सेटअप बक्समा गरेको लगानी संकटमा पर्ने गुनासो गरेका थिए ।

‘केबल व्यवसायीले डिजिटल सेटअप बक्स प्रयोग गरी नेपालमा डाउनलिंक अनुमति भएका टेलिभिजन मात्र प्रसारण गर्न पाउने र आईपीटीभीले नेपालमा डाउनलिंक अनुमति नभएका टेलिभिजनको प्रसारण पनि गर्न पाउने व्यवस्था समान भएन,’ शर्मा भन्छन्, ‘यही माग पूरा गर्न सरकारलाई हामीले बारम्बार दबाब दिइरहेका छौं ।’ मोबाइलमा उपलब्ध हुने एपहरूमा नै विदेशी च्यानल निःशुल्क हेर्न पाउने व्यवस्थाले केबल टेलिभिजनको शुल्क तिरेर टेलिभिजन हेर्ने उपभोक्ता घट्न थालेको भन्दै महासंघले यस्ता एपसमेत बन्द गराउनुपर्ने माग गर्दै आएको छ । क्लिन फिड कार्यान्वयनका लागि गठित विज्ञापन बोर्डका अध्यक्ष दिल्लीरमण शर्माले क्लिन फिड कार्यान्वयन भइसकेकाले केही जटिलता देखिनु स्वाभाविक भएको बताए । ‘हामीले क्लिन फिड कार्यान्वयनलाई सहज बनाउनका लागि सुझाव संकलन गर्न सरोकारवालासहितको कार्यदल गठन गरेका छौं,’ उनले भने, ‘कार्यदलले दिएको सुझावको आधारमा थप कदम चाल्नेछौं ।’

प्रकाशित : मंसिर १०, २०७७ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?