कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

खडेरीले खायो स्याउ

यस वर्ष खडेरी र फल लाग्ने बेला परेको असिनाले उत्पादनमा असर गर्दा किसानलाई नोक्सानी
तुलाराम पाण्डे

कालीकोट — बगैंचासम्म सडक नहुँदा पनि पिठ्युँमा बोकाएर बेचेको स्याउबाट गत वर्ष १ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका रास्कोटका–९ फुकोटका गोकर्णप्रसाद उपाध्यायले यस वर्ष १ रुपैयाँ पनि कमाएनन् । ‘बेच्ने स्याउ नै फलेन,’ उनले भने, ‘फलेको २–४ क्विन्टल नासो दिनै ठिक्क भयो ।’ सिप्टीस्थित उनको बगैंचामा गत वर्ष ४ सय ५० रुखमा स्याउ फल्दा दुई सय क्विन्टल उत्पादन भयो ।

खडेरीले खायो स्याउ

उनी मात्र होइन, सिप्टीका स्याउ उत्पादक किसानले ढुवानी समस्याले गर्दा फलेको वर्ष सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक निर्माण सुरु भएदेखि स्थानीयले व्यावसायिक रूपमा स्याउखेती गर्न थालेका हुन् । सरकारले गत वर्ष रास्कोटलाई स्याउ जोन घोषणा गरेर करिब ९० लाख रुपैयाँ खर्च गरे पनि किसानले कुनै सुविधा पाउन सकेका छैनन् । स्याउ जोनअन्तर्गत गत वर्ष हाइटेक नर्सरी, सेलार स्टोर, सिँचाइ, बिरुवा अनुदानलगायत कार्यक्रम गरिएको थियो । गाउँबाट आरसीपी बजारसम्म भरियालाई बोकाउँदा प्र्रतिभारी ५ सय रुपैयाँ ज्याला तिर्नुपर्ने भएकाले आधाजसो स्याउ गाईभैंसीलाई कुँडो पकाएर दिने गरेको उपाध्यायको गुनासो छ ।

गत वर्ष स्याउ बेचेरै २ लाख रुपैयाँ बचत गरेका रास्कोटका कल रोकायाले पनि यस वर्ष स्याउ बेच्न पाएनन् । उनको बगैंचामा पाँच सय फल्ने रुख छन् । फूल फुल्ने बेलाको खडेरी र फल लाग्ने बेला परेको असिनाले स्याउ सखाप पारेको उनले गुनासो गरे । स्याउ उत्पादनको उर्वर भूमि भए पनि तिलागुफाका किसानले यो वर्ष फागुनको खडेरी र वैशाख पहिलो साता असिनाको सामना गरे । ‘खडेरी र असिनाले सुरुमै असर पुर्‍यायो,’ तिलागुफा–९ का किसान टेकबहादुर शाहीले भने, ‘बजार पुर्‍याएको स्याउ पनि सस्तोमै बेच्नुपर्‍यो ।’ उनले स्याउ बिक्रीबाटै गत वर्ष १३ लाख रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष मुस्किलले ४ लाख रुपैयाँ कमाइ भयो । ३ हजार ५ सय स्याउका बोट रोपेका उनको बगैंचामा १ हजार ३ सय रुख स्याउ फल्छ । गत वर्ष दुई सय क्विन्टल स्याउ प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरेका उनले यो वर्ष ८० क्विन्टल स्याउ प्रतिकिलो ५० रुपैयाँमा बेच्नुपर्‍यो । कोरोना महामारीका कारण बाहिरका व्यापारी नआएपछि सस्तोमा स्याउ बिक्री गरेको उनको गुनासो छ ।

यो साल स्याउ नफल्दा व्यवसाय नै चौपट भएको फोइमहादेवका किसान बेगम शाहीले बताए । ‘अरू सबै काम छाडेर स्याउखेतीमा लागियो,’ उनले भने, ‘स्याउ नै नफलेपछि कसरी गुजारा चलाउने ?’ नौ सय स्याउका बिरुवा रोपेका शाहीका झन्डै ६ सय बोट फल्थे । उनका अनुसार स्याउ र सडक कालीकोटबासीको पुरानो सपना हो ।

कर्णाली राजमार्ग बन्न थालेपछि नै कालीकोटका किसानले बगैंचामा स्याउ रोप्न थालेका थिए । डेढ दशकअघि खुलेको कर्णाली राजमार्ग आसपासका बासिन्दाको समृद्धि पनि स्याउसँगै जोडिएको नेपाल मजदुर किसान पार्टीका नेता नवराज कोइरालाले बताए । सडक नहुँदासम्म गाईभैंसीलाई खुवाउने किसानले अहिले स्याउ बजार पुर्‍याउन थालेको उनी बताउँछन् । संविधानसभामा सदस्यसमेत भएका कोइराला पनि अहिले कृषिकर्ममा छन् । भात्तडीस्थित उनको बगैंचामा ६ सय स्याउका बिरुवा रोपिएको छ । ‘सडकमार्फत स्याउ, च्याउ र पर्यटन कर्णालीवासीका समृद्धिका सपना हुन्,’ उनले भने ‘सरकारी बेवास्ताले सबै ओझेलमा छन् । न गतिलो सडक बन्यो, न कृषकले सुविधा नै पाएका छन् ।’

कर्णाली राजमार्ग निर्माणसँगै कृषकले बारीमा रोपेका स्याउ फल्न थालेको झन्डै आठ वर्ष पुग्यो । तर उत्पादित स्याउले उचित बजार पाउन नसकेको तिलागुफा–३ फाइमहादेवका ददीसिंह कार्कीले बताए । ‘सडक बन्दै छ, चामल बोकेर आएका गाडीमा स्याउ भरेर पठाउँला भनेर पाखोभरि स्याउ रोपेका हौं,’ उनले भने, ‘सडक नाम मात्रको बन्यो, अहिले पनि भारी बोकेरै स्याउ बेच्नुपर्छ ।’ उनका अनुसार साँघुरो र अप्ठ्यारो बाटोमा स्याउ ढुवानी गर्दा दाग लागेर बजारमा बिक्री नहुने समस्या छ ।

विगत वर्षमा केही ठेकेदार सुर्खेत र नेपालगन्जबाटै कार्टुन बोकेर आउने गरेका थिए । कोरोनाका कारण यस वर्ष व्यापारी नआएको राचुलीका धनकृष्ण कोइरालाले बताए । ‘रात–दिन पसिना बगाएर बारीमा फलाएको स्याउ बेच्नै समस्या छ,’ उनले भने, ‘झन् यो वर्ष त फल्दै फलेन ।’ किसान बजारको अभाव, भण्डारण र प्याकिङ गर्ने तरिका थाहा नपाउँदा समस्यामा परेको उनको भनाइ छ ।

केही वर्षअघि १ रुपैयाँमा २ दाना पाइने स्याउ सडक पुगेपछि कम्तीमा ५० रुपैयाँ किलो पुगेको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनका अनुसार अहिले मान्ममा स्याउ प्रतिदाना २० रुपैयाँमा बिक्री भइरहेको छ । जिल्लाको उत्पादनले नपुगेपछि भारतको स्याउ भित्रिरहेको उनको भनाइ छ । तिलागुफाको फोइमहादेव, राचुली, जुविथा, चिल्खाया र छाप्रेमा मात्र झन्डै एक लाख स्याउका बिरुवा रोपिएका छन् । खाडाचक्रको पाखा, मान्म, दाहा, महाबैको ओदानकुर गेला, शुभकालिकाको भर्ता, सुकाटिया र मुग्राहा, रास्कोटको सिप्टी, पचालझरनाको राम्नाकोट बाझकोट, पलाताको धौलागोह, सान्नीत्रिवेणीको रकु, मेहेलमुडी र नरहरिनाथको लेकाली क्षेत्रमा पनि स्याउ खेती गरिएको छ ।

स्थानीय सरकारले भने उत्पादनदेखि बजारीकरणमा सहयोग गरिरहेको जनाएको छ । रास्कोटको स्याउ जोनलाई लक्ष्य गरी सडक निर्माण गरिरहेको नगर प्रमुख काशीचन्द्र बरालले बताए । स्याउ उत्पादन हुने सिप्टी–विशाली क्षेत्रको बृहत् गुरुयोजना बनाएर काम थालिने उनले जानकारी दिए । कर्णाली राजमार्गको निर्माणसँगै ०५७ देखि लागू भएको कर्णाली अञ्चल विशेष कृषि विकास आयोजनाअन्तर्गत ३ लाख स्याउका बिरुवा जिल्लाभरिका किसानले रोपेका थिए । अहिले करिब एक हजार हेक्टरमा स्याउ खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ ।

यस वर्ष प्रतिकूल मौसमले ६० प्रतिशत स्याउ उत्पादनमा कमी आएको कार्यालय प्रमुख भरत बस्नेतले बताए । ‘स्याउ त्यसै पनि एक वर्ष बढी र एक वर्ष कम उत्पादन हुने फलफूल हो,’ उनले भने, ‘वैशाखको असिनाले स्याउ फल्नै पाएन ।’ जिल्लाभरि रोपेका सबै बिरुवा फले १४ हजार टन स्याउ उत्पादन हुने उनको अनुमान छ । झन्डै ८० हजार बिरुवा रोपिएको फाइमहादेवमा अहिले वार्षिक १ हजार ४ सय टन स्याउ उत्पादन भइरहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर १०, २०७७ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?