३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महासंघमा सबैजसो पदमा प्रतिस्पर्धा हुने

वरिष्ठ उपाध्यक्ष पदका लागि भइरहेको सहमतिको प्रयास विफल
विमल खतिवडा

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको मंसिर ११ देखि १३ गतेसम्म हुने निर्वाचनमा सबै पदका लागि प्रतिस्पर्धा हुने भएको छ । उम्मेदवारहरूको अन्तिम नामावली सोमबार साँझ प्रकाशन गरिएको छ । धेरैजसो पदमा उम्मेदवारी फिर्ता नभएपछि प्रतिस्पर्धा नै हुने निश्चित भएको हो ।

महासंघमा सबैजसो पदमा प्रतिस्पर्धा हुने

वरिष्ठ उपाध्यक्ष पदका लागि मात्रै सहमतिको प्रयास जारी रहे पनि सफल हुन नसकेको त्यसमा संलग्न उद्योगी व्यवसायीहरूले बताएका छन् ।

महासंघको निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार सबै पदमा उम्मेदवारी कायमै रहेको र चार वटा सदस्य पदका उम्मेदवारले मात्र उम्मेदवारी फिर्ता लिएका छन् । वरिष्ठ उपाध्यक्ष एक पदका लागि चन्द्र ढकाल र किशोर प्रधान दुई जनाले उम्मेदवारी दिइसकेका छन् । त्यस्तै जिल्ला/नगर, एसोसिएट र वस्तुगत तीन उपाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । तीन वटै उपाध्यक्ष पदमा दुई–दुई जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पौडेलले जानकारी दिए । उनका अनुसार जिल्ला नगर समूहको सदस्य पदका लागि ३८ जनाको उम्मेदवारी परेको छ ।

त्यस्तै एसोसिएटतर्फ ३३ जनाको उम्मेदवारी परेकामा दुई जनाले फिर्ता लिएका छन् । वस्तुगततर्फ २९ जनाको उम्मेदवारी परेकामा एक जनाले मात्र फिर्ता लिएका छन् । संस्थापक समूहबाट तीन जनाको उम्मेदवारी परेकामा एक जनाले फिर्ता लिएका छन् । प्रमुख पदहरूमा भने कसैले पनि उम्मेदवारी फिर्ता नलिएको निर्वाचन अधिकृत पौडेलले बताए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुसार उक्त पदलाई मुख्य मानी महासंघमा निर्वाचन हुँदै छ ।

‘महासंघको टोलीले सहमति हुन सक्ने भन्दै मंगलबारसम्मलाई निर्वाचन कार्यतालिकामा विचार गरिदिन भन्नुभएको छ,’ पौडेलले भने, ‘यसमा दुवै पक्षको सहमति हुन्छ भने विचार गरौंला भनेका छौं ।’ उनले नियमअनुसार गर्नुपर्ने काम आफूहरूले गरेको बताए । ‘नियमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकिएको छ,’ उनले भने, ‘मनोनयन पत्रउपर कसैको दाबी विरोध पनि परेन ।’ पौडेलका अनुसार निर्वाचनका लागि अब एउटा प्रक्रिया बाँकी छ । ‘पहिला कम्पनी संघहरू हुन्थ्यो, अब त्यसमा व्यक्तिको नाम मतदाताका रूपमा हुन्छ, अब कुन संघबाट को आयो लगायत हेरिनेछ,’ उनले भने ।

निर्वाचन समितिका अनुसार १३ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा मतदान हुनेछ । वर्तमान अध्यक्ष, पूर्वअध्यक्ष कोभिडको समयमा सहमतिबाटै नेतृत्व छान्न भन्दै पहल गरिरहेका छन् । मुख्यगरी पूर्वअध्यक्षहरूले सहमतिका लागि वरिष्ठ उपाध्यक्ष पदका उमेदवारद्वयलाई बोलाउने, विभिन्न प्रस्ताव गर्ने र सहमति गर्नलाई अनुरोध गरिरहेका छन् । महासंघकी अध्यक्ष भवानी राणाले सहमतिका लागि अन्तिम समयसम्म निकै प्रयास गरेको बताइन् । ‘उम्मेदवारी फिर्ता लिने अन्तिम समय (सोमबार) वरिष्ठ उपाध्यक्ष पदका दुवै उम्मेदवारलाई मेरै घरमा बोलाएर दुई घण्टा प्रयास गरें,’ उनले भनिन्, ‘तर दुवैले मान्नु भएन, अब निर्वाचन नै हुने भयो ।’ दुवै जनालाई पालैपालो गरेर जाँदा राम्रो हुन्छ भन्ने सुझाव दिएको उनले बताइन् ।

पूर्व अध्यक्षहरूका तर्फबाट सहमतिका लागि पहल गरिरहेका रविभक्त श्रेष्ठका अनुसार अब सहमतिका लागि औपचारिक बैठकहरू बस्ने छैनन् । ‘सहमति गराउन तिहारपछि पूर्वअध्यक्षहरूसहित बैठक बोलाउने कुरा थियो,’ उनले भने, ‘उहाँहरू दुवै जना पछि नहट्ने भनेपछि अब त्यस्ता कुनै बैठकहरू छैनन् । हाम्रो प्रयास विफल भयो ।’ उनले चुनाव नै हुन लागेकाले स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताए । ‘निर्वाचनबाट सक्षम व्यक्ति चुनिएर आओस्,’ उनले भने, ‘अहिलेको अवस्थामा सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’ पूर्वअध्यक्षहरूले उमेदवारी फिर्ता लिएमा उक्त व्यक्तिलाई विशिष्ठ सदस्य वा मानार्थ उपाध्यक्षको प्रस्ताव गरेका थिए । तिहार अगाडि पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले दुवै उमेदवारलाई यो प्रस्ताव गरेको बताए । तर दुवैले आफू बलियो छु भन्दै पछि नहट्ने अडान राखेपछि सहमतिको प्रयास विफल भएको हो । निर्वाचन राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङकेट बबरमहल र महासंघ कार्यालय टेकुमा छुट्टाछुट्टै रूपमा हुनेछ । गृह मन्त्रालयले २५ जनाभन्दा बढी हुने गरी भीडभाड नगराई निर्वाचन गराउन स्वीकृत दिएसँगै त्यहीअनुसार हुने निर्वाचन अधिकृत पौडेलको भनाइ छ ।

निर्वाचन समितिका अनुसार दुई वटा पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले दुई जना निर्विरोध भएका छन् । द्विराष्ट्रिय संघमा नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल निर्विरोध भएका हुन् । त्यस्तै प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुने छन् । जसअनुसार प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन् ।

समितिका अनुसार मतदान गर्न पाउनेमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय ७, त्यस्तै वस्तुगत समूहतर्फ १ सय १, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ वटा छन् । त्यस्तै एसोसिएट समूहतर्फ ९ सय २३ वटा रहेका छन् । ‘निर्वाचन स्वास्थ्य मापदण्डअनुसार नै गरिनेछ,’ उनले भने, ‘त्यहीअनुसारको तयारी भएको छ ।’ मंसिर ११ र १२ गते महासंघको ५४ औं वार्षिक साधरणसभा तथा १३ गते कार्यकारिणी समितिको निर्वाचन हुनेछ ।

प्रकाशित : मंसिर ९, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?