कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

अन्धविश्वास चिर्दै बंगुरपालनमा रम्दैछन् रमेश

विद्या राई

काठमाडौँ — धरानका ३२ वर्षीय रमेश थापाको दैनिकी बंगुर फार्मबाट सुरु हुन्छ । बिहान सबेरै उठेर फार्म पुग्छन् । चारो पकाउने,खुवाउने र खोर सफा आफैं गर्छन् ।

अन्धविश्वास चिर्दै बंगुरपालनमा रम्दैछन् रमेश

१३ वटा खोरमा हाइब्रिड तथा धराने जातका साना ठूला गरेर ४३ बंगुर पालेका छन् । उन्नत जातको उत्पादनका लागि खेदिएको, ब्याउन लागेको, माउ, पाठो एकैठाउँ राख्ने, हुर्केपछि राख्ने छुट्टा छुट्टै खोर छन् ।

उनले एकवर्ष अघि २० लाख लगानीमा व्यवसायिक बंगुरपालन सुरु गरेका हुन्। धरान उपमहानगरपालिका १७ इन्द्रणीमार्गमा तीन कठ्ठा जग्गा १० वर्षे लिजमा लिएका छन् । यस वर्षदेखि बंगुरले उत्पादन दिन थालेका छन् । कोरोना महामारीले होटल, व्यापार व्यवसायमा असर पारेको थियो । उनले भने,' पहिलो लकडाउनमा बंगुर बिक्री गरेर पाँच लाख कमाएँ । ' ‘उद्योग, कलकारखाना, होटल, व्यापार जताततै महामारीको मार पर्‍यो, मलाई त यही मौकामा कमाइ भयो,’ उत्साहित हुँदै सुनाए । लकडाउनमा स्थानीय जातका सानाठूला सय कुखुरा पनि थपेका छन् ।

फार्ममा बंगुर उत्पादन र बिक्री चलिरहन्छ । नौ महिना पालेपछि मासुका लागि उपयुक्त हुन्छ । बंगुरलाई एक वर्षभित्रमा मास्नुपर्छ(उत्पादन लिइसक्नुपर्छ) । एक बंगुरले १८० किलोसम्म मासु उत्पादन दिएको छ । बंगुरका पाठा प्रतिगोटा ८ हजार रुपैयाँमा बिक्री गर्छन् । बंगुर बिक्री गर्ने मात्रै त छदैछ । बंगुरको मासुबाट बन्ने परिकार समेत बनाएर बेच्छन् ।

चार वर्षअघि धरानकै लक्ष्मीचोकमा सुरु गरेको मनाकामना होटलमा आफैंले उत्पादन गरेको बंगुरको मासुबाट सादेको, डामेको, पोलेको सेकुवा लगायत परिकार बनाउँछन् । होटलमा उनकी पत्नि कमला थापाले साथ दिएकी छन् । फार्मबाट आफूलाई मात्रै कमाइ भएको छैन, अरु दुई हेरालुलाई रोजगारी पनि दिएका छन् ।

भोजपुरको विकट गाउँ साविक रानीवास पुर्ख्यौली घर उनी यसअघि बहराइनमा चार वर्ष सुरक्षा गार्डको रुपमा काम गरेर फर्केका हुन् । वैदेशिक रोजगारीबाट फर्केपछि स्वदेशमै आयआर्जन गर्ने सोचले केही युवाहरु मिलेर मासुजन्य परिकार उत्पादन तथा व्यापार गर्न नेबुला फुड प्रोडक्सन कम्पनी खोले । त्यसमा मार्केटिङ म्यानेजर भएर काम गरिरहँदा आफैंले उत्पादन गरेर मासुजन्य परिकार बिक्री गर्ने सोच बनाए ।

आफ्नै लगानीमा ‘युनिक एग्रिकल्चर फार्म’ खोलेर बंगुरपालन थाले । जुन काम समुदायका लागि नै युनिक मानिन्छ । विशेषगरी पूर्वी नेपालमा राई लिम्बु लगायत केही जनजाती र दलित समुदायलाई बंगुर पाल्ने, मासु खाने जातका रुपमा लिइन्छ । उनीहरु खसआर्यहरु भन्दा तल्लो जातमा चिनिन्छन् ।

रमेश क्षेत्री परिवारका हुन् । परिवारमा खान त परको कुरा । बंगुरको मासु खाएका मानिसहरुसँग नजिक परेको भए नुहाइधुवाइ नगरी घरभित्र छिर्न पाइदैन । स्वदेशमा श्रमको सम्मान नगर्ने सामाजिक सोचाइ र खाडी देशमा पसिना बगाएका दिनहरु सम्झिएर उनलाई यो कुरामा पटक्कै चित्त बुझ्दैनथियो । ‘जातको आधारमा कामको दर्ज गर्ने जुन परम्परा छ नि यसलाई चिर्न,’ उनले भने, ‘कस्तो भने क्षेत्री बाहुनको छोरो विदेशमा गएर बंगुर फार्ममा काम गरेर कमाइ घरमा पठाउँदा सम्मानित हुने, आफ्नै देशमा बंगुर पालेर उति नै कमाउदा चाहि समाजमा छि:छि र दुरदुर हुनुपर्ने, यसलाई चिर्न मैले नै सुरुवात गर्नुपर्छ भनेर थालेको हुँ ।’

हाल सुनसरीको बराहक्षेत्र नगरपालिका, चक्करघट्टीमा स्थायी बसोबास भएपनि धरानलाई कर्मथलो बनाएका छन् । पत्नि, छोरी र उनी धरानमा बस्छन् । उनी बंगुरपालनका लागि मनैबाट आतुर थिए । परिवारबाट अस्विकार हुनुपर्ने होकी भन्ने डर थियो । चाडबाडमा मात्रै घर पुग्ने भएकाले परिवारबाट उति धेरै असहजता खेप्नुपरेन । तर आफन्त, साथीभाईलाई उनको व्यवसायलाई सहज मानिसकेका छैनन् ।

हालै बराहक्षेत्र धाम पूजा गर्न जाने बेलाको घटना सुनाए उनले । दुईचार साथीभाइ भोलिपल्ट पूजा गर्न जाने सल्लाह गरे । रमेशले बिहानै फार्ममा बंगुरलाई चारो हालेर बाटोमा भेट्ने कुरा राखे । साथीहरुले ‘पूजा गर्न जानु अघि नै कसरी बंगुरको दर्शन गर्ने !’ भनेर अनौठो माने । ‘मैले बंगुर नस्याहारे पूजा गर्न जानु अघि नुहाइधुवाइ गर्ने साबुन किन्ने पैसा कहाँबाट आउँछ भनिदिएँ, ठूलो कुरा भनेको मान्छेको सोचाइ नै रहेछ,’ उनले भने । समाजले छिःछि दुरदुरको नजरले हेरेपनि उनी आफ्नो कर्मसँग कत्ति पनि लाज, घिन मानेका छैनन् ।

बरु लगानी बढाउने योजनामा छन् । लगानी ६० लाख पुर्‍याउने फार्ममा नियमित ५० बंगुर पाल्नेगरी खोर फैलाउने तयारीमा छन् । यसको अलवा धरानको भानुचोकमा मनकामना कोल्ड ड्रिंग्स स्टोर पनि सञ्चालनमा ल्याएका छन् । सडकबाटो सहज हुने र लगानीको वातावरण भए आफ्नै जन्मथलोमा लगानी फैलाउने सोच रहेको समेत उनले भने । ‘म अर्काको ठाउँमा आएर व्यवसाय गर्नुपरेको छ, आफैं जन्मेहुर्केको ठाउँमा व्यवसाय गर्ने इच्छा छ, स्थानीय सरकार र प्रदेश सरकारले व्यवसायिक वातावरण बनाइदिनुपर्‍यो,’ उनले भने ।

समाजमा अझैपनि जातको आधारमा कामको विभाजन गर्ने अन्धविश्वासी परम्परा कायमै छ । सामाजिक लाञ्छनाको डरले बजारको माग अनुसार व्यवसाय गर्न नसकिरहेकाहरु लागि उनी उदाहरणीय बनेका छन् । उनकै प्रभावले खसआर्य जातका अरु युवाहरुले पनि बंगुरपालन गर्ने तरखरमा लागेका छन् ।

प्रकाशित : मंसिर ८, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?