कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाले कामविहीन बनेकाहरू नगदे बालीमा आकर्षित

बुटवल — छिटो र नगद आम्दानी हुने भएपछि पछिल्लो पटक रूपन्देहीका किसान व्यावसायिक रूपमा नगदे तथा हिउँदे खेती गर्न लागेका छन् । कोरोनाको संक्रमण बढेपछि कामविहीन बनेकाहरूसमेत नगदे र हिउँदे बालीप्रति आकर्षित भएका छन् । यसले गर्दा धान रोपेर खाली हुने खेतले वर्षभरि आम्दानी दिन थालेको छ ।

कोरोनाले कामविहीन बनेकाहरू नगदे बालीमा आकर्षित

कोरोनाका कारण व्यवसाय बन्द भएपछि सैनामैना नगरपालिका–१० सालझन्डीकी मनकुमारी राना घरमै थिइन् । आम्दानीका लागि के गर्ने भन्ने अलमलमा परेका बेला साथीहरूले फूल खेती गर्न उक्साए । छिमेकी साथीसहित सात जना मिलेर प्रतिवर्ष २२ हजार भाडा तिर्ने गरी सात कट्ठा जग्गा भाडामा लिए । बिरुवा रोप्न नगरपालिकाको कोभिड परियोजनाले २० हजार रुपैयाँ उपलब्ध गरायो । ‘फूलबाट सोचेभन्दा धेरै आम्दानी भयो,’ मनकुमारीले भनिन्, ‘अब थप जग्गा भाडामा लिएर तरकारी खेती गर्ने सोच छ ।’

कोरोनाले हाटबजार, ठेला व्यापार, चिया पसल गरेर जीविकोपार्जन गरेका विपन्न समुदाय धेरै प्रभावित बनेका छन् । यस्ता समुदायका महिला छनोट गरेर सैनामैना नगरपालिकाले ५५ महिलालाई २०/२० हजार नगद दिएर फूल खेतीमा लगाएको हो । उनीहरू सबैले फूल बेचेर गुजारा चलाएका छन् । फूल निख्रेपछिको त्यही जग्गामा तरकारी लगायत नगदे बाली लगाउन सहयोग गर्ने नगरपालिकाकी कृषि अधिकृत सिर्जना खनालले बताइन् । नगदेबालीमा यति आकर्षण छ कि विदेशबाट फर्केका युवासमेत व्यावसायिक खेतीमा लागेका छन् । सैनामैनामा मात्रै यस वर्ष ८० जना भारतलगायत तेस्रो मुलुकबाट फर्केका युवाले मौसमी/बेमौसमी तरकारी खेती थालेका छन् । त्यसमा टनेल बनाएर थोपा सिँचाइबाट बेमौसमी रूपमा काँक्रा र करेला फलाएर आम्दानी बढाउन भन्दै नगरपालिकाले ३५ हजार रुपैयाँका दरले अनुदान दिएको नगरपालिका प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘व्यावसायिक खेतीका लागि प्राविधिक सेवा र आर्थिक सहयोगका लागि यूएनडीपी र सेतो गुराँस बाल विकास सेवासँग सहकार्य गरेका छौं,’ उनले भने, ‘यसले कोभिडका कारण समस्यामा परेका व्यक्ति छनोट गरेर चाहना राख्नेजतिलाई नगदे कृषि बालीमा लगाई उनीहरूको आम्दानी बढाउन सकेका छौं ।’

प्रकाशित : मंसिर ७, २०७७ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?