सिजनमै धान र चामलको आयात

विनोद भण्डारी

विराटनगर — किसान विचौलयाले तोकेको मूल्यमा धान बिक्री गर्न बाध्य छन् । उनीहरुले तोकेको मूल्यमा धान बिक्री गर्दा किसानको लागत मूल्यपनि असुली हुने स्थिती छैन ।

सिजनमै धान र चामलको आयात

तर धानको मुख्य सिजनमै जोगबनी नाकाबाट धान र चामलको आयात रोकिएको छैन ।

तराईमा साउन भदौमा भदौरे धान निस्किन्छ । असोज, कात्तिक र मंसिर धानको मुख्य सिजन हो । तर यही तीन महिनामा जोगबनी नाकाबाट अर्ब भन्दाबढी मूल्य बराबरको धान र चामल आयात भएको विराटनगर भन्सारको तथ्यांक छ ।

भन्सारको तथ्यांक अनुसार तीन महिनामा ७४ करोड मूल्य बराबरको एक करोड ८० लाख केजी चामल र ३५ करोड मूल्य बराबरको ९ लाख ५० हजार केजी धान आयात भएको छ । गत आर्थिक वर्ष यो नाकाबाट एक अर्ब ३३ करोड ३५ लाख मूल्यको धान र एक अर्ब ३८ करोड मूल्यको चामल आयात भएको थियो ।

प्रदेश १ कृषि निर्देशनालयले यसवर्ष प्रदेशमा अघिल्लो वर्षको अनुपातमा करिब दुईलाख टन धान बढी फल्ने अनुमान गरेको छ । प्रदेशमा यस वर्ष ३ लाख ३३ हजार हेक्टरमा धान रोपाइँ भएको छ । अनुकूल मौसमका कारण यसवर्ष प्रदेशमा १३ लाख टन भन्दाबढी धान उत्पादन हुने अनुमान गरिएको निमित्त निर्देशक प्रकाश डाँगीको छ । गतवर्ष यो प्रदेशमा ३ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा करिब १२ लाख टन धान उत्पादन भएको थियो ।

यो प्रदेशका मोरङ, सुनसरी र झापालाई अन्नको भण्डार मानिन्छ । यसपाली मोरङमा ३ लाख ५० हजार, सुनसरीमा २ लाख ३० हजार र झापामा ४ लाख १५ हजार टन धान फल्ने निर्देशनालयको अडकल छ ।

निर्देशनालयले प्रदेशका उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभामा ६० हजार टन र मध्य पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, तेह्रथुम, इलाम र पाँचथरमा २ लाख ५५ हजार टन धान फल्ने अनुमान गरेको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?