महिलाको आयस्रोत बेमौसमी आलुखेती - अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलाको आयस्रोत बेमौसमी आलुखेती 

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–८ कलमसीकी शोभा नेपालले करिब ४ रोपनी क्षेत्रफलमा बेमौसमी आलुखेती गरेकी छन् । १० वर्षअघिसम्म धान, कोदो खेती गर्दै आएकी शोभाको परिवारको मुख्य आम्दानीको स्रोत आलुखेती बन्दै आएको छ ।

‘धान, कोदोबाट खासै आम्दानी हुँदैन थियो, आलुखेती गर्न थालेपछि घर खर्च राम्रै चलेको छ,’ उनले भनिन् । मूलुक कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा रोमल्ली रहेको बेला सुडालका कृषकहरु भने आलु खन्नमा व्यस्त देखिन्छन् ।

चाँगुनारायण सुडाल किसानले बेमौसमी आलु खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । ‘आलु बेच्न बजारसम्म पुग्नै पर्दैन, व्यापारी खेत/बारीमै आइपुग्छन्,’ स्थानीय कृषक संगीता नेपालले भनिन्,‘हामीले आलु खनेर बोरामा भरिदिन्छौं ।’ वैशाख जेठमा मकै र भटमास लगाएकै बारीमा गरिने बेमौसमी आलुखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्ने गरेका छन् ।

चाँगुनारायण नगरको सुडाल, बागेश्वरीका करिब ३ सय घरपरिवारले १५ वर्षयता झण्डै एक हजार रोपनीमा व्यावसायिक बेमौसमी आलु खेती गर्दै आएको वडाध्यक्ष परासर सापकोटा बताउँछन् । ‘विशेषगरी सुडालका महिलाहरुको मुख्य आयश्रोत आलुखेती बन्दै आएको छ,’ वडाध्यक्ष सापकोटाले भने, ‘पुरुषहरु अन्य पेसा/जागिरमा व्यस्त हुन्छन्, पछिल्लो समय कृषि पेसा महिलाले धानिरहेका छन् ।’ आलुखेतीबाटै घर खर्च धान्ने र छोराछोरी पढाउने गर्न थालेको उनी बताउँछन् ।

अहिले आलुको भाउ बढेकाले पनि किसानले बढी मुनाफा लिने गरेको छ । ‘बारीबाटै प्रतिकिलो ६० देखि ६५ रुपैयाँमा बिक्री हुन्छ,’ कृषक इन्दिरा नेपालले भनिन्,‘आलुबाट छोटो समयमै आम्दानी गर्न सकिन्छ ।’ एक रोपनी क्षेत्रफलमा ६० देखि ७० हजार रुपैयाँको आलु बेच्न सकिने कृषक बताउँछन् । पछिल्लो समय बेमौसमी आलुबाट मनग्ये आम्दानी हुन थालेपछि यो खेती गर्ने किसानको संख्यासमेत बढेको छ । मकै निकालेपछि आलुलाई केराउ लाउने तथा थप मलखाद दिएपछि आलु खन्ने बेला नभएसम्म कुनै झमेला नहुने भएकाले पनि किसान यसतर्फ आकर्षित भएको नेपालले बताइन् ।

सिँचाइको आवश्यकता नपर्ने आलु खेतीबाट पाँच गुणासम्म आम्दानी हुने उनको भनाइ छ । उनका अनुसार किसानलाई आफ्नो उत्पादन बजारसम्म लैजानुपर्ने झन्झट पनि छैन । व्यापारीहरू आलु खन्ने बेला भयो कि आफैं गाडी लिएर किसानका खेतबारी मै पुग्छन् ।

मकै र भटमासपछि आलु र हरियो तरकारी लगाउन सकिने आलुखेतीमा आकर्षित भएको स्थानीय कृषक राधिका तिमल्सिनाले बताइन् । किसानका अनुसार एक रोपनी जमिनमा ६ सय किलोसम्म आलु उत्पादन हुन्छ ।

व्यावसायिक बेमौसमी आलु खेतीले सुडालवासीको आर्थिकस्तरमा व्यापक सुधार ल्याएको छ । सुडालमा २०५३ सालमा गाउँ विकास कार्यक्रम लागू गरिएको थियो । सोही कार्यक्रमले सम्भाव्यता अध्ययन गरी बेमौसमी आलु खेतीका लागि स्थानीय किसानलाई तालिम तथा ऋण उपलब्ध गराएर कृषकलाई प्रोत्साहन गराएको वडाध्यक्ष सापकोटाले बताए । ‘किसानलाई तालिम र ऋण दिए पनि सुरुमा थोरै क्षेत्रफलमा बेमौसमी आलु खेती गरेका थिए’, उनले भने, ‘उत्पादन राम्रो भएर आम्दानीसमेत बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भए ।’

प्रकाशित : मंसिर ६, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्

हरिद्वारबाट हिँडेरै गड्‍डाचौकी !

तिहार मनाउन घर फिर्दै गर्दा बाटोमा नेपालीबाटै लुटिएपछि एक साताको पैदल यात्रापछि शुक्रबार उनी गड्‍डाचौकी नाका आइपुगे
भवानी भट्ट

कञ्‍चनपुर — मलिन अनुहार । थाकेर गलेको ज्यान । मंसिरको चिसोमा जीउको एकसरो लुगा अनि हातमा पातलो कम्बल । शुक्रबार कञ्चनपुरको गड्डाचौकी नाकामा यस्तै हुलियामा भेटिए ४१ वर्षीय तीर्थबहादुर सारू मगर ।

घरपरिवारसँगै तिहार मनाउने योजनासहित सुर्खेतको लेकबेंसी नगरपालिका–९ दमार गाउँका सारू मगरले कात्तिक २८ मा भारत उत्तराखण्डको रुद्रप्रयागबाट यात्रा थाले । छोराछोरी र श्रीमतीका लागि नयाँ लुगा र तिहारका लागि मीठोमसिनो खानेकुरा लैजाने उनको योजना थियो । तर उक्त योजना रुद्रप्रयागबाट हिँडेको केहीबेरमै भताभुंग भयो । हरिद्वारमा नेपालीहरूबाटै लुटिएपछि उनले न त घरपरिवारसँगै तिहार मनाउन पाए, न परिवारका लागि नयाँ लुगा लैजान । ‘मेरो तिहार त बाटोमै बित्यो, आफ्नै दाजुभाइले लुटेपछि हरिद्वारमै अलपत्र परें,’ उनले भने, ‘शरीरमा भएको लुगासमेत बाँकी राखेनन् ।’

साथमा रहेको ८५ हजार भारतीय रुपैयाँ, चार जोर कपडा, दुई सेट मोबाइल र दुई जोर जुत्ता सबै लुटिएको उनले बताए । हरिद्वारमा लुटिएर अलपत्र परेपछि उनी पैदल हिँडेर सातौं दिनमा गड्डाचौकी नाका आइपुगेका हुन् । दिनभरि हिँड्ने र राति प्रतीक्षालय वा पसलको अगाडि सुत्दै गड्डाचौकीसम्म आइपुगेको उनले सुनाए । कसैले केही दिए खाने नत्र भोकै रात काटेको उनको भनाइ छ । ‘एकातिर भोक, अर्कोतिर एकसरो लुगामा रातिको चिसो, निकै गाह्रो भयो,’ करिब २ सय किलोमिटरको दुरी पार गर्न सात दिन पैदल हिँड्दाको पीडा सुनाउँदै उनले भने, ‘एक ठाउँमा बाल आश्रममा पुगेपछि एक छाक खाना र पातलो कम्बल दिए, राति ओढ्न सजिलो भयो ।’ त्यही कम्बल काखीमा च्यापेर उनी गड्डाचौकी आइपुगेका हुन् ।

तिहारको दिन सबैतिर झिलिमिली थियो । साँझपख बाटो वरपरका घरमा देखिने चकमन्नताले उनको मन झनै उदास हुन्थ्यो । ‘घरमै तिहार मनाउने इच्छा थियो, सडकमै रात काटें,’ उनले भने । उनी एक दशकअघिदेखि रुद्रप्रयागमा काम गर्छन् । मजदुरी गर्न त्यहाँ पुगेका उनी पछिल्लो पटक भने गाउँबाट कामदार लैजाने र विभिन्न ठाउँमा काममा लगाउँछन् । ‘यताबाट कामदार लैजाने र उनीहरूको पैसा घरसम्म पुर्‍याउने काम गर्थें,’ उनले भने, ‘अहिले पनि धेरै कामदारकै पैसा बोकेर आएको थिएँ, सबै लुटेर लगे ।’

कात्तिक २८ को साँझ उनी घर फर्किन रुद्रप्रयागबाट बस चढेका थिए । ऋषिकेशमा त्यही बसमा थपिए तीनजना नेपाली । उनीहरू सारू मगरकै छेउमा बसे । एकआपसमा परिचय पनि गरे । दुईजना दाङ र एक कोहलपुरको भन्दै उनीहरूले सारू मगरसँग परिचय गरेका थिए । ‘हामी पनि उतै जाने हो, सँगै जाउँ भने,’ सारू मगरले भने, ‘हरिद्वारमा पुग्नेबित्तिकै चिसो पियौं, त्यो पिउनेबित्तिकै म त बेहोस भएँ । सडकछेउमै लडेको थिएँ ।’

होसमा आउँदा पैसा, कपडा त परै जाओस्, शरीरमा एकसरो कपडा पनि थिएन । लुटिएपछि उनले हिँडेरै भए पनि घर आउने निधो गरे । एक सातासम्मको पैदल यात्रामा एक/दुई छाक मात्रै खाना खान पाएको उनले बताए । हरिद्वारमा लुटिएपछि रुद्रप्रयागमा रहेका साथीभाइलाई उनले फोनमार्फत जानकारी गराएका थिए । त्यही जानकारीका आधारमा उनका परिवारले पनि थाहा पाए । घरबाट उनलाई खोज्न आफन्त हरिद्वारसम्म पुगेका छन् । शुक्रबार नाकामा आइपुगेपछि उनलाई कोहलपुरबाट आएका आफन्तले लिएर फर्केका छन् ।

प्रकाशित : मंसिर ६, २०७७ १४:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×