१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

खुल्न थाले पर्यटकीय गतिविधि

काठमाडौँ — कोभिड–१९ का महामारीका कारण चैतदेखि बन्द रहेका केबलकार, संग्रहालय, जंगल सफारीलगायतका पर्यटकीय गतिविधि धमाधम खुला हुन थालेका छन् ।

खुल्न थाले पर्यटकीय गतिविधि

निजी संग्रहालय र जंगल सफारी सात महिनापछि बिहीबारदेखि सञ्चालनमा आएको संस्कृति, पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

‘निजी क्षेत्रले सञ्चालन गरेका संग्रहालय, जंगल सफारी खुला भए,’ मन्त्रालयका सहायक प्रवक्ता राजन पौडेलले भने, ‘सरकारी संग्रहालय आइतबारदेखि खुल्दै छन् ।’ सरकार मातहतको नारायणहिटी, हनुमानढोका, पाटन, छाउनी, भक्तपुर र गोरखा दरबारलगायतका संग्रहालय छन् । यी संग्रहालय स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्डअनुसार आइतबारदेखि खुल्ने उनले बताए । नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा सिनामंगलमा क्याप्टेन वेद उप्रेती ट्रस्टले सञ्चालन गरेको हवाई संग्रहालय, धनगढीमा रहेको एयरक्राफ्ट म्युजियमलगायतका स्थल बिहीबारदेखि खुलेका छन् । गोरखाको मनकामना र दोलखास्थित कालिन्चोकमा रहेको केबलकार भने सञ्चालनमा आएका छैनन् । ‘पर्यटकीय गतिविधि हुने केबलकार खुले तर धार्मिक स्थल खुला नभइसकेकाले गोरखाको मनकामना र कालिञ्चोक सञ्चालनमा आइसकेका छैनन्,’ मनकामना केबलकारका नायब महाप्रबन्धक उज्वल शेरचनले भने ।

तर चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्सले असोज १ देखि नै केबलकार सञ्चालनमा ल्याइसकेको छ । सरकारले असोजदेखि आन्तरिक उडान तथा होटल खुला गरेसँगै केबलकार सञ्चालनमा ल्याएको थियो । सरकार मातहतका संग्रहालय पुरातत्त्व विभागले अनुगमन गर्नेछ । निजी क्षेत्रका केबलकार, संग्रहालय र सफारीको अनुगमन पर्यटन विभाग, पर्यटन बोर्ड र मन्त्रालयले संयुक्त रूपमा गर्ने सहायक प्रवक्ता पौडेलले जानकारी दिए ।

प्रकाशित : मंसिर ६, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?