जयनगर–कुर्था रेल सञ्चालनबारे छलफल

काठमाडौँ — नेपाल र भारतबीच सीमापार जयनगर–कुर्था रेलमार्ग सञ्चालनबारे छलफल भएको छ । रेलमार्ग सहकार्यसम्बन्धी भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक बिहीबार भिडियो कन्फरेन्समार्फत भएको हो ।

जयनगर–कुर्था रेल सञ्चालनबारे छलफल

नेपाली टोलीको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले गरेका थिए भने भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए ।

बैठकले जयनगर–बिजलापुर–बर्दिबास र जोगबनी–विराटनगरको बीचमा अघि बढिरहेका सीमापार रेलमार्ग परियोजनाहरूको समीक्षा गरेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘यात्रुवाहक रेल सेवा सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर लामो रेलमार्गको प्राविधिक तयारीबारे दुवै पक्षले छलफल गरे । त्यस्तै बैठकमा नेपाल रेलवे कम्पनीले यात्रुवाहक रेल सेवालाई सुचारु गर्नका निमित्त आवश्यक पर्ने स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर्सबारे पनि चर्चा गरियो,’ विज्ञप्तिमा उल्लेख छ ।

उक्त रेलमार्ग खण्ड भारत सरकारले ब्रोडगेजमा स्तरोन्नति गरेको छ । यसअघि तत्कालीन ब्रिटिस इन्डियाले न्यारो गेजका रूपमा निर्माण गरेको थियो । स्तरोन्नतिका लागि भारतले ३८० करोड भारतीय रुपैयाँ खर्च गरेको जनाएको छ । यस रेलवे लिकमा सेवा सञ्चालन गर्न नेपाल सरकारले भारतबाट दुईवटा डेमु रेल सेट खरिद गरेको छ ।


प्रकाशित : मंसिर ६, २०७७ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?