व्यवसायीलाई ५ प्रतिशत ब्याजदरको कर्जासम्बन्धी कार्यविधि पारित- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

व्यवसायीलाई ५ प्रतिशत ब्याजदरको कर्जासम्बन्धी कार्यविधि पारित

कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कार्यविधिले कर्जा उपलब्ध गराउने सुनिश्चितता गरेको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — व्यावसायिक निरन्तरताका लागि उद्योगी व्यवसायीले ५ प्रतिशत ब्याजदरमा कर्जा पाउने भएका छन् । सरकारले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ जारी गरेसँगै व्यवसायीले कर्जा सुविधा पाउने भएका हुन् ।

कोभिड–(१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि कार्यविधिले कर्जा उपलब्ध गराउने सुनिश्चितता गरेको छ । कार्यविधिअनुसार सरकारले ५० अर्ब रुपैयाँको कोष स्थापना गर्नेछ । सोही कोषमार्फत कोभिड प्रभावित व्यवसायीले सुपथ ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् ।

कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई कर्जा प्रवाह गर्नेछन् । यसरी कर्जा प्रवाह गरेबापत बैंक तथा वित्तीय संस्थाले कोषमार्फत रकम शोधभर्ना पाउनेछन् । चालु आर्थिक वर्षको बजेटमार्फत कोभिड–(१९ बाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि ५० अर्बको कोष व्यवस्था गर्ने घोषणा सरकारले गरेको थियो । बजेट कार्यान्वयनमा आएको करिब ५ महिनापछि मात्र कार्यविधि जारी गरेको हो ।

अब सरकारले राष्ट्र बैंकको बैकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्व रहेका संस्थाबाट मन्त्रालयको समन्वयमा रकम जम्मा हुनेछ । उक्त रकम सरकार र विदेशी संघसंस्थासँग भएको सम्झौताबमोजिम प्राप्त हुने कार्यविधिमा उल्लेख छ । ‘खातामा मन्त्रालयले पटकपटक गरी आवश्यकताका आधारमा रकम जम्मा गर्नेछ,’ कार्यविधिमा भनिएको छ, ‘खातामा रहेको रकम प्रयोजन समाप्त भएपछि राष्ट्र बैंकले सरकार तथा सम्बन्धित संस्थालाई फिर्ता गर्ने व्यवस्था छ ।’

कोभिड(–१९ बाट प्रभावित भई श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी गर्न नसकी कर्जा अभावमा उद्योग व्यवसाय सञ्चालन गर्न समस्या परेका घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायीले कोषमार्फत सहुलियत ब्याजदरमा कर्जा पाउनेछन् । कार्यविधिअनुसार कोभिड–(१९ बाट प्रभावित क्षेत्रलाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित गरी तीन भागमा वर्गीकरण गरिएको छ । ती हरेक क्षेत्रका लागि कर्जा प्रवाह गर्ने सीमा तोकिएको छ । यसमा अति प्रभावित क्षेत्रमा श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम १० करोड रुपैयाँसम्म प्रदान गरिने व्यवस्था छ । ध्यम प्रभावित क्षेत्रका व्यवसायीले श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम ७ करोड रुपैयाँसम्म कर्जा पाउनेछन् । यस्तै न्यून प्रभावित क्षेत्रका व्यवसायीले श्रमिक र कर्मचारीको वार्षिक पारिश्रमिक तथा त्यसको ५० प्रतिशत थप (व्यवसाय निरन्तरताका लागि) गरी कुल रकम वा अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् ।

यसरी प्रवाह गरिने कर्जाको ५० प्रतिशत अति प्रभावित क्षेत्रमा, ३० प्रतिशत मध्यम प्रभावित क्षेत्रमा र २० प्रतिशत न्यून प्रभावित क्षेत्रमा प्रवाह गरिने व्यवस्था छ । व्यवसायीलाई प्रवाह गरिने कर्जाको ब्याजदर पहिलो वर्षका लागि ५ प्रतिशत र दोस्रो वर्षका लागि ६ प्रतिशत कायम गरिएको छ । प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थालाई पहिलो वर्ष २ प्रतिशत र दोस्रो वर्ष ३ प्रतिशत ब्याजदरमा खाताबाट रकम उपलब्ध गराइनेछ । यस खातामा सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको संस्थाबाट लिने रकमका लागि त्यस्तो संस्थालाई बढीमा ५ प्रतिशत ब्याज उपलब्ध गराइनेछ । यस्तो खाताबाट प्रदान गरिने भुक्तानी अवधि बढीमा २ वर्षको हुने व्यवस्था कार्यविधिमा छ । यो कर्जा प्राप्त गर्न सम्बन्धित व्यवसाय कोभिड–(१९ बाट प्रभावित भएको, सरकारको कुनै निकायमा दर्ता भएको, नियमित नवीकरण भएको, श्रमिक वा कर्मचारी संख्या न्यूनतम ५ जना भएको, श्रमिक वा कर्मचारीलाई आर्थिक वर्ष २०७६/७७ को साउनदेखि फागुनसम्म नियमित ज्याला वा तलब भुक्तानी गरेको र प्रचलित कानुनबमोजिम अग्रिम आयकर कट्टी गरी दाखिला गरेको हुनुपर्नेछ ।

सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र दातृ निकायबाट सहुलियत ब्याजदरमा कर्जा वा सहायता उपभोग गरिरहेका ऋणीले यो कर्जा सुविधा नपाउने प्रावधान छ । ‘कोभिड–(१९ बाट उद्योग वा व्यवसायमा परेको प्रभाव मूल्यांकन गरी समस्यामा परेका ऋणीको व्यावसायिक आवश्यकता तथा व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव, श्रमिक वा कर्मचारीको रोजगारीको निरन्तरता, भविष्यको सञ्चालन सम्भाव्यता, कर्जा फिर्ता गर्न सक्ने व्यावसायिक योजनाका आधारमा समेत बैंक तथा वित्तीय प्राथमिकता निर्धारण गर्नुपर्नेछ,’ कार्यविधिमा उल्लेख छ । व्यवसायीले कर्जाका लागि पेस गरेको निवेदन, पारिश्रमिक रकम प्रमाणित हुने लेखापरीक्षण गरिएको पछिल्लो आर्थिक वर्षको वित्तीय विवरण र आन्तरिक राजस्व कार्यालयमा पेस गरेको आय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता वा कर दाखिला प्रमाणपत्र, ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट यस्तो सुविधा नलिएको स्वघोषणालगायत हेरेर मात्र व्यवसायीलाई कर्जा उपलब्ध गराउनुपर्ने कार्यविधिमा बताइएको छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्

भुइँमान्छेका समाचार लेख्‍ने सपना अधुरै

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मलाई अझै पनि समाजमा दबिएका, अन्यायमा परेका, निमुखा र कसैले नगन्ने मान्छेका समाचार शृंखलाबद्ध रूपमा लेख्न मन छ,’ उनले केही दिनअघि मात्र सहकर्मीलाई सुनाएका थिए । जबकि एक दशक लामो पत्रकारिता यात्रामा उनले यस्तै भुइँमान्छेका कैयन् समाचार लेखिसकेका थिए ।

महेन्द्रनगरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तबारे होस् या रुकुम पश्चिममा दलित र गैरदलितबीच भएको प्रेम सम्बन्धका कारण मारिएका युवा र तिनको परिवारजनका बारेमा, उनका स्थलगत रिपोर्टिङ सधैँ अन्यायमा पारिएका र आवाज दबाइएकाहरूकै पक्षमा हुने गर्थ्यो । कोरोना संक्रमण बढेपछि उपत्यकामा जारी निषेधाज्ञाका बेला खुलामञ्चमा नि:शुल्क खाना खान आउनेहरूबारे उनले लेखेको समाचारले पनि यही पुष्टि गर्छ । संक्रमणका बेला ‘विपन्नले कसरी बाँच्ने भन्ने ?सवाल उठाएर होस् वा ‘संकटलाई अवसरमा बदल्नेहरू’ का कथा लेखेर होस्, उनी हरदम आफूलाई भुइँमान्छेका संवेदना र समस्याहरूकै निकट राख्थे ।

तिहारको मुखमा उनले सहकर्मीलाई भनेका थिए, ‘अरूका लागि जिन्दगी दिएका दु:खीका कथाव्यथाहरूलाई समेटेर शृंखलाबद्ध रूपमा लेख्ने चाहना छ ।’ यसो भनेको अर्को दिन उनी बिरामी परे । अस्पताल भर्ना भए । छिट्टै निको हुने र फेरि रिपोर्टिङमा जुटिहाल्ने आत्मविश्वास थियो । तर दुर्भाग्य ! कान्तिपुर दैनिकका उपसम्पादक गोकर्ण गौतमको बिहीबार ३१ वर्षको अल्पायुमै निधन भयो ।

गौतमलाई दुई साता अघिदेखि टाउको दुख्ने समस्या देखा परेको थियो । उपचारार्थ सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मस्तिष्कको नसामा समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गर्दा रक्तस्राव भई गौतमको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल) मा निधन भएको हो ।

चिकित्सकहरूसँगको परामर्शपछि उनी अस्पताल भर्ना भएका थिए । बुधबार उनको शल्यक्रिया सुरु भएको थियो । अस्पतालका डा. सुवास फुयालका अनुसार शल्यक्रियाकै क्रममा नसाबाट रक्तस्राव भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ‘कमजोर भइसकेको नसा फुटेर अत्यधिक रक्तस्राव भएपछि शल्यक्रिया सफल हुन सकेन,’ डा. फुयालले परिवारका सदस्यहरूसँग भनेका थिए । बिहीबार बिहान साढे ११ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको परिवारका सदस्यहरूले जानकारी दिए ।

करिब एक दशकदेखि पत्रकारिता गर्दै आएका गौतम पछिल्लो समय कला, साहित्य, समसामयिक विषय र सामाजिक क्षेत्रका विषयवस्तुमा कलम चलाउँथे । उनको अर्को पहिचान तिखो फिल्म समीक्षा लेख्ने रंगपत्रकारका रूपमा थियो । सबै किसिमका दबाब र प्रभावहरूबाट मुक्त रही उनी फिल्महरूका चोटिला समीक्षा लेख्ने गर्थे ।

काभ्रेमा जन्मेका गौतम मकवानपुरस्थित बकैंया गाउँपालिका–४ छतिवनका स्थायी बासिन्दा थिए । पत्रकारितामा स्नातकोत्तर गौतमले मोफसलबाटै पत्रकारिता सुरु गरेका थिए । हेटौंडाबाट पढ्नका लागि काठमाडौं आएपछि उनले केही समय देशान्तर साप्ताहिकमा काम गरे । त्यसपछि कान्तिपुर पब्लिकेसन्समा आबद्ध भएर नेपाल म्यागजिनमा काम गरे । नेपालका तत्कालीन सम्पादक प्रशान्त अर्याल भन्छन्, ‘उनी विषयवस्तुको गहिराइ बुझेर पठनीय रिपोर्टिङ गर्ने क्षमताका पत्रकार थिए ।’ नेपाली फिल्म पत्रकारितामा सधैं सबैको प्रशंसा मात्रै धेरै लेख्ने धारलाई गौतमले राम्रै परिवर्तन गरेको अर्यालको भनाइ छ । ‘फिल्म समीक्षामा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो लेख्ने स्वतन्त्र लेखनको धारलाई गोकर्णले अघि बढाएका थिए,’ उनी भन्छन्, ‘नेपालको फिल्म पत्रकारितामा अहिले एकोहोरो प्रशंसा मात्रै आउँदैन, जेजस्तो हो, त्यस्तै आउँछ, त्यो धार अघि बढाउने श्रेय गोकर्णलाई जान्छ ।’

नेपाल म्यागजिनकै लागि उनले गरेको अंशु बर्माको पालाको कैलाशकुट भवनबारेको रिपोर्टिङलाई अर्याल अझै सम्झन्छन् । गौतमको निधन नेपाली पत्रकारिताका लागि ठूलो क्षति भएको उनले बताए ।

पछिल्लो समय कान्तिपुर दैनिकमा रिपोर्टिङ गर्दै आएका गौतमले सामाजिक र आर्थिक समस्याका कारण आम मानिसले बेहोर्नुपरेका मनोवैज्ञानिक असरहरूतर्फ पनि कलम चलाउन थालेका थिए । कोरोना महामारीलगायतका समस्याले भयावह बन्दै गइरहेका मनोसामाजिक समस्याहरूलाई परास्त गर्न आपसमा सहयोगी भावना विकसित गर्नुपर्नेमा उनको जोड थियो ।

सहकर्मीहरू उनलाई भुइँमान्छेको कथाव्यथा लेखेर कहिल्यै नथाक्ने पत्रकारका रूपमा चिन्छन् । समसामयिक विषयवस्तु तथा सामाजिक विषयहरूलाई अत्यन्तै मिहीन ढंगले केलाउने जाँगर उनमा थियो ।

गौतमको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा पत्रकार, रंगकर्मी, आफन्तजनलगायत सयौंको उपस्थिति थियो । उनको परिवारमा श्रीमती, आमा र दाजु छन् ।

प्रकाशित : मंसिर ५, २०७७ ०७:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×