कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘आत्मनिर्भर अर्थतन्त्रमा हाम्रो समूहले काम गर्नेछ’

आर्थिक पुनरुत्थानका लागि हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन । सबैसँग मिलेर काम गर्ने र प्रभावकारी रिजल्ट दिनकै लागि मैले उम्मेदवारी दिएको हुँ –रामचन्द्र संघाई

काठमाडौँ — यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्ष पदका उम्मेदवार हुन् रामचन्द्र संघाई । यो पदमा उनी सौरभ ज्योतिसँग प्रतिस्पर्धा गर्दै छन् ।

‘आत्मनिर्भर अर्थतन्त्रमा हाम्रो समूहले काम गर्नेछ’

चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना र उनीमाथि लाग्ने गरेका आरोपमाथि केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्यविमल खतिवडाले गरेको कुराकानीको सम्पादित अंश :

महासंघको एसोसिएटतर्फ उपाध्यक्ष पदमा तपाईं चुनाव लड्दै हुनुहुन्छ । तपाईंका चुनावी एजेन्डा के–के छन् ?

३६ वर्षदेखि विभिन्न उद्योग व्यवसायमा संलग्न छु । नेपाल उद्योग वाणिज्य महासंघमा १५ वर्षदेखि कार्यकारिणी सदस्य भएर काम गरिसकेको छु । उद्योग व्यवसाय र महासंघमा काम गर्दा मैले धैरे खालका अनुभव लिएँ । त्यसकारण यस पटक मैले एसोसिएटतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । उद्योग व्यवसायका लागि काम गर्नु नै मेरो मुख्य एजेन्डा हो । देशमा सञ्चालनमा रहेका उद्योग व्यवसायमा विभिन्न किसिमका समस्या छन् । रोजगारदाता र श्रमिकबीच पनि विभिन्न समस्या आइपर्दा रहेछन् । कहिले माग दाबीका कुरा, कहिले ज्याला, कहिले प्रतिस्पर्धाका विषयमा समस्या आउँछन् । त्यसकारण कस्ता–कस्ता किसिमका समस्या आउँछन्, त्यसलाई कसरी समाधान गर्दै लग्ने भनेर हामीले काम गर्नुपर्नेछ । जुन कुरा हामीले तत्काल समाधान गर्न सक्छौं, गरिहाल्नुपर्छ । त्यस्ता मुद्दालाई सरकारसमक्ष कसरी प्रस्तुत गर्ने र त्यसलाई कुन तरिकाले समाधान गराउन लगाउने भनेर केन्द्रित हुनेछ । श्रमिक पनि नमर्ने र रोजगारदाताले पनि उत्साहपूर्वक ठूलो लगानी गर्न सक्ने वातावरण बनाउन जरुरी छ । यही नै मेरो मुख्य एजेन्डा छ ।

अर्को एजेन्डा आन्मनिर्भर अर्थतन्त्रसँग सम्बद्ध छ । त्यसका लागि नेपाली उत्पादन धेरैभन्दा धेरै निर्यात हुने वातावरण बनाउन जरुरी छ । म आफैं पनि निर्यात उद्योग चलाइरहेको छु । मेरा चार वटा उद्योग निर्यातमुखी छन् । हाम्रो ग्रुपले तेल, दाल र चिया निर्यात गरिरहेको छ । अहिले देशमा आयात धेरै छ । निर्यात थोरै छ । निर्यातलाई कसरी बढाउन सक्छौं भनेर काम गर्नुपर्नेछ । हामीले सबैभन्दा धेरै निर्यात गरेर देखाइसकेका छौं । सरकारले पनि महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) बाट सम्मानसमेत गरिसकेको छ । हामीले प्रमाणित गरिसकेका छौं । मुख्य कुरा काम गरेर देखाउनुपर्छ । काम गर्नका लागि सरकारबाट वातावरण पनि बनाइनुपर्छ । त्यसका लागि निजी क्षेत्रबाट साझा एजेन्डालाई सरकारसमक्ष प्रस्तुत गर्ने, समाधान गर्ने, हामीले लगानी गरेको पुँजीलाई कसरी सुरक्षित गर्ने भन्नेमा जोड दिनछु ।

कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अर्थतन्त्र थिलथिलो छ । खासमा महासंघमा तपाईंहरूले अर्थतन्त्र उकास्ने एजेन्डा अघि सार्नुपर्ने होइन र ?

हो, कोभिड–१९ का कारण हाम्रो अर्थतन्त्रमा साह्रै नराम्रो प्रभाव परेको छ । अब पुनरुत्थानका लागि हामी सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्प छैन । यस्तो अवस्थामा काम गर्नकै लागि आसन्न उद्योग वाणिज्य महासंघको चुनावमा एसोसिएटतर्फ उपाध्यक्ष पदमा मैले उम्मेदवारी दिएको हुँ । तर महामारी र प्राकृतिक विपत्तिमाथि हामी कसैको नियन्त्रण रहन्न । तर एक दिन विश्व नै अवश्य पनि कोभिड–१९ बाट मुक्त हुनेछ । यस्ता विपत्तिबाट जोगिनका लागि हामीले आत्मनिर्भर अर्थतन्त्रमै केन्द्रित हुनुपर्छ । आज भइरहेको समस्याबाट हामी उद्योगी तथा सबै देशवासीले समेत सिकेको एउटै पाठ आत्मनिर्भरता हो । यसका लागि र देशको विकासका लागि मेरो अनुभव वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहितको समूहले काम गर्नेछ ।

तर तपाईंको ‘त्रिवेणी ग्रुप’ ले लगानी नगरेको सायद कुनै पनि क्षेत्र छैन । तपाईं आफ्नै लगानी संरक्षण गर्नुपर्ने भएकाले सरकारसँग निजी क्षेत्रका एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्नु हुन्न भन्ने आरोप छ नि ?

महासंघको कुनै पनि पदमा वाणिज्य क्षेत्रमै सक्रिय व्यक्ति आउने हो । मेरो धेरै क्षेत्रमा लगानी छ भनिसकेपछि म उद्योग वाणिज्यमा उपयुक्त व्यक्ति हो कि होइन ? हाम्रो ग्रुपमा आज १५/१६ हजार परिवारले काम पाएका छन् । हाम्रा विभिन्न किसिमका व्यवसाय छन् । सेवामूलक, उत्पादनमूलक, कृषिमूलक, बैंकिङ, व्यापार सबै खालका उद्योग छन् । कुनै पनि त्यस्तो क्षेत्र छैन कि जुनमा हामीले लगानी नगरेको होस् । यति हुँदाहुँदै मैले निजी क्षेत्रका एजेन्डा प्रभावकारी रूपमा लग्न सक्दिनँ भनेर कसले भन्छ ? मलाई हरेक व्यापार व्यवसायको अनुभव छ । म मात्रै होइन, हाम्रो समूहमा दोस्रो पुस्ता पनि आइसकेको छ । मेरा छोराछोरी पनि काममा आइसकेका छन् । त्यसैले म जुन पदमा उठेको छु, त्यसमा त म बढी समय दिन सक्छु । समस्यालाई एजेन्डाका रूपमा सरकारसमक्ष लग्न सक्छु ।

तपाईं लामो समय काठमाडौंमा रहेर व्यापार व्यवसाय गरिरहनुभएको मान्छे । जिल्ला नगरका व्यवसायीका ससाना समस्याबारे तपाईंलाई खासै थाहा छैन, पकड पनि छैन भनिन्छ नि ?

मलाई केही उद्योगी व्यवसायी साथीहरूले पनि यो प्रश्न गरेका छन् । तिनीहरूलाई पनि म भन्न चाहन्छु कि देशभर मेरो उद्योग व्यवसाय फैलिएको छ । सबैभन्दा बढी शाखा भएको बैंकको सञ्चालकका रूपमा म अहिले काम गरिरहेको छु । बिमाको कुरा गर्ने हो भने नेपाल लाइफ इन्स्योरेन्सका शाखा नेपालभर फैलिसकेका छन् । सिमेन्ट, चियाको व्यापार देशभर छ । हरेक कुरा नेपालभर फैलिएको छ । त्यसकारण यसबारे मसँग कन्फ्युजनमा नपर्दा हुन्छ । म एसोसिएटतर्फ उपाध्यक्ष उठ्दै छु । मेरो मुख्य सरोकार भनेकै रोजगारदातासँग हुन्छ । म अब हरेक प्रदेश घुम्ने योजनामा पनि छु । सबैसँग भेट्छु । जिल्ला/नगरका धेरै साथीहरूलाई चिनेको छु । मैले उहाँहरूलाई निराश पार्नेछैन ।

तपाईंले महासंघमा हालसम्म कुनै पनि क्षेत्रगत समितिमा रहेर काम गर्नुभएको छैन । साथै तर्कसंगत ॅलबिइङ’ गर्न सक्नुहुन्न भन्ने आरोप पनि लाग्ने गरेको छ नि, के भन्नुहुन्छ ?

मैले महासंघका केही समितिमा १५/१६ वर्षसम्म काम गरेको छु । महासंघको नेतृत्वदायी भूमिकाको समिति जोडबल गएर नलिएको हो । मैले हालसम्म आफ्नै उद्योगलाई बढाउँदै गएँ । मैले मेरा उद्योगमा मिहिनेतसाथ काम गर्नु भनेको महासंघको कुनै एउटा समिति जस्तै हो कि होइन ? मैले जति पनि अनुभव बटुलेको छु, समितिभन्दा कम छ ? आज म १४/१५ हजार परिवारलाई सँगै लिएर हिँडिरहेको छु । त्यो समिति के कम छ ? मसित कुन किसिमको अनुभव कम छ, त्यो बताइदिए हुन्छ । मसँग कुनै अनुभव नभएको भए आज यत्रो ठूलो क्षेत्र हामीले समेट्न सक्दैनथ्यौं । सामूहिक स्वार्थका लागि जब ‘लबिइङ’ को आवश्यकता पर्छ, त्यो बेला यस्तो आरोप कुनै हालतमा सही हुँदैन । म जुन पदमा उठेको छु, त्यसमा बसेर मैले सबै समस्याको ‘लबिइङ’ गर्नुपर्छ । सामूहिक र मेरो आफ्नो समस्या त एउटै हो ।

तपाईं निर्वाचत हुँदा महासंघको रोजगारदाता परिषद्को अध्यक्ष हुने हो । अहिलेको अवस्थामा वर्तमान रोजगारीलाई नै निरन्तरतासँगै नयाँ रोजगारीका अवसर सिर्जना गर्नु छ । यसमा के–कसरी काम गर्ने योजना बनाउनुभएको छ ?

नयाँ रोजगारी पनि हामीले सिर्जना गर्ने हो । यसमा दुई मत छैन । रोजगारी सिर्जना गराउने कुरामा त हामी पहिल्यैदेखि नै लागिपरिरहेका छौं । व्यक्तिगत रूपमा कुरा गर्ने हो भने म आज नयाँ केही लगानी गर्छु भने त्यसबाट केही न केही रोजगारी सिर्जना हुन्छ कि हुँदैन ? आज हामी जस्ता व्यवसाय गर्नेबाटै रोजगारी सिर्जना हुन्छ । तीन–चार महिनासम्म लकडाउन भयो । अहिले पनि हामी कोभिडकै महामारीमा छौं । आज पनि हामी दुःख गरेर आफ्ना उद्योग व्यवसायलाई चलाइरहेका छौं । केही उद्योग ७० प्रतिशतसम्म सञ्चालन भइरहेका छन् । केही उद्योग ३०/४० प्रतिशतसम्म पनि सञ्चालनमा छन् । हामी आफ्नो संस्थाको ध्यान नगरी मूल्यमान्यताहरूलाई फलो गरेर चलाइरहेका छौं । त्यसैबाट धेरैले रोजगारी पाएका थिए । उनीहरूलाई बचाउने नै हाम्रो मुख्य उद्देश्य हो । भोलिका दिनमा सामान्य अवस्था पनि आउँछ होला । आशा भन्ने कुरा मार्नु पनि हुँदैन । पर्यटन क्षेत्र खुल्नेबित्तिकै हाम्रा होटल रेस्टुरेन्ट खुल्दै छन् । ती पनि सञ्चालन भइसक्छन् । त्यही भएर रोजगारी सिर्जना हुन्छ नै । नयाँनयाँ होटल खुलिरहेका छन् । सिमेन्टदेखि लिएर विभिन्न उद्योग पनि सञ्चालनमा छन् ।

तपाईं र वरिष्ठ उपाध्यक्षको पदमा सहमतिको सम्भावना कत्तिको छ ? आफ्ना प्रतिस्पर्धीलाई के भन्न चाहनुहुन्छ ?

सम्भावना हरेक ठाउँमा जीवित रहन्छ । सहमति र सम्भावना कुनै नराम्रो होइन । सहमतिमा म भएँ भने धेरै राम्रो हुन्छ । चुनाव भनेको प्रजातान्त्रिक अभ्यास हो । बरु चुनाव भएर कुनै व्यक्ति आउँछ भने त्यो झनै राम्रो कुरा हो । चुनाव जितेर आएको व्यक्तिले अझ राम्रो गरी काम गर्न सक्छ । निर्वाचनमा सहमति–असहमति दुवै सम्भावना हुन्छ । तर सहमतिका लागि मेरो जानकारीमा केही छैन ।

प्रकाशित : मंसिर ४, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?