रणनीतिक अवस्थितिले नेपाल लगानीकर्ताका लागि लाभदायी
बेइजिङ — रणनीतिक अवस्थितिका कारण वैदेशिक लगानी फाइदाजनक हुने भएकाले नेपाल प्रवेश गर्न चिनियाँ लगानीकर्ताहरूलाई नेपालले अनुरोध गरेको छ ।
भौगोलिक अवस्थितिका कारण नेपाल दक्षिण एसिया र तेस्रो मुलुकमा निकासीका लागि उपयुक्त विन्दुमा रहेकाले लगानीकर्ताहरू लाभान्वित हुनसक्ने जानकारी चिनियाँ लगानीकर्ताहरू समक्ष दिइएको हो ।
चीनको वुहानमा मंगलबारदेखि सुरु भएको ‘२०२० बेल्ट एण्ड रोड चीन (वुहान) अन्तर्राष्ट्रिय औद्योगिक उत्पादन मञ्च तथा चीन अन्तर्राष्ट्रिय मेकानिकल तथा इलेक्ट्रोनिक प्रोडक्ट फेयरमा नेपालकोतर्फबाट प्रस्तुति दिँदै नेपाली दूतावासका मिनिस्टर छविन्द्र पराजुलीले भने, ‘डुइङ बिजनेसमा नेपाल दक्षिण एसियामै अगाडि छ, आर्थिक रूपान्तरणको दिशामा अग्रसर नेपालको छिमेकी मुलुकहरूसँग पनि राम्रो सम्बन्ध भएकाले लगानीकर्ताको उत्पादन विश्व बजारसम्म पुर्याउन सहज हुनेछ।’
विश्व व्यवसायमा जाने रणनीतिका साथ वुहानमा आयोजित यस मञ्चले कोरोना महामारीका कारण सबैभन्दा पहिला प्रभावित क्षेत्रले आर्थिक सक्रियता बढाएको र यही मौकामा नेपालले पनि लगानीको लागि उपयुक्त वातावरण भएको सन्देश प्रसार गर्न खोजेको पराजुलीले कान्तिपुरलाई बताए । कार्यक्रममा बीआरआई आबद्ध करिब २ दर्जन प्रतिनिधि तथा चिनियाँ कम्युनिष्ट पार्टीका प्रान्तीय नेताहरू मेकानिकल तथा इलेक्ट्रोनिक्स अन्तर्गत चिनियाँ चेम्बर अफ कमर्ससहित उच्चस्तरीय चिनियाँ अधिकारीहरु सहभागी थिए ।
आफ्नो प्रस्तुतिका क्रममा पराजुलीले नेपालमा राजनीतिक स्थायित्वसँगै राजनीतिक परिवर्तन भएर आर्थिक रूपान्तरणका लागि ठूलो लगानीको जरुरी रहेको र त्यसका लागि सौहार्द्र वातावरणका साथै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नीति, सार्वजनिक निजी साझेदारी, वैदेशिक लगानी सम्बन्धी नीति जस्ता कानुनी पूर्वाधार तयार भइसकेको पनि जानकारी गराए ।
चीनको आर्थिक हब मानिने हुबेइ प्रान्तको वुहानमा यस्तो प्रोटक्ड फेयर नाम दिएर आर्टिफिसियल इन्टेलिजेन्स, फाइभ जीका साथै इलेक्ट्रिक उपकरणबारे पनि जानकारी दिइँदैछ। यो मञ्च ३ दिनसम्म चल्नेछ ।
प्रकाशित : मंसिर २, २०७७ १९:४१