६.९९ ब्याजदरको बिजनेस कर्जा ल्याउँदै नेपाल बैंक

कान्तिपुर संवाददाता

काठमाडौँ — व्यावसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल बैंकले ६.९९ प्रतिशत ब्याजदरको बिजनेस कर्जा योजना ल्याउने भएको छ । ८४औं वार्षिकोत्सवका अवसरमा बैंकले आइतबार उक्त कर्जा योजना सार्वजनिक गर्दै छ । ‘एनबीएल एनिभर्सरी बिजनेस लोन’ नाम दिइएको कर्जा योजना व्यावसायिक क्षेत्र लक्षित ‘प्रडक्ट’ हो । 

६.९९ ब्याजदरको बिजनेस कर्जा ल्याउँदै नेपाल बैंक

कर्जा लिन व्यवसाय सञ्चालन भएको कम्तीमा ६ महिना पुगेको हुनुपर्नेछ । व्यवसायको प्रकृति र आकारका आधारमा लागतको शतप्रतिशत र स्टक तथा रिसियबलको बढीमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ ले प्रभावित व्यावसायिक क्षेत्रको उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले वार्षिकोत्सवका अवसर पारेर सुलभ दरको बिजनेस कर्जा योजना ल्याइएको उनको भनाइ छ ।

वार्षिकोत्सवका अवसरमा आइतबार बैंकले एकै पटक २७ वटा शाखा कार्यालय र ७ वटा एक्सटेन्सन काउन्टर पनि उद्घाटन गर्दै छ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय प्रणालीमार्फत एकैसाथ ती कार्यालय उद्घाटन गर्ने योजना छ । ‘तीमध्ये केही नयाँ हुन् भने केही विविध कारणले बन्द भएका पुराना शाखा हुन्,’ प्रवक्ता अधिकारीले भने, ‘आइतबारदेखि बैंकको शाखा संख्या २ सय ५ र ३८ वटा एक्सटेन्सन काउन्टर पुग्नेछन् ।’ शाखा विस्तारपछि ६४ जिल्लाबाट बैंकको सेवा सञ्जाल ६८ जिल्लामा पुग्नेछ ।

आइतबारदेखि नै ग्राहकले अनलाइनमार्फत नेपाल बैंकमा निक्षेप खाता खोल्न पाउने भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा पुँजी र रिजर्भ गरी ३० अर्ब ८ करोड रुपैयाँ छ । यस्तै बैंकको कुल निक्षेप १ खर्ब ४५ अर्ब रुपैयाँ र कुल कर्जा तथा सापटी १ खर्ब १४ अर्ब रुपैयाँ छ । बैंकको पुँजी लागत कोष १७.०३ प्रतिशत छ । असोज मसान्तमा बैंकको आधार दर (बेस रेट) ६.८१ प्रतिशत छ । यो २७ वटा वाणिज्य बैंकमध्ये दोस्रो कम आकार दर हो । आधार दर कम हुनुको अर्थ कर्जाको ब्याजदर कम हुनु भन्ने हो । आधार दरका आधारमा कर्जाको ब्याजदर निर्धारण हुने गर्छ ।

यसैगरी गत असोजमा बैंकको कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड) ४.३८ प्रतिशत छ । यो राष्ट्र बैंकले तोकिदिएको निर्धारित सीमाभन्दा कम हो । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले बढीमा साढे चार प्रतिशत स्प्रेड दर कायम गर्नुपर्छ । बैंकको कर्जा निक्षेप तथा पुँजी अनुपात (सीसीडी) ६६.५४ प्रतिशत छ । यो पनि नियामक निकायको निर्देशित सीमाभन्दा कम हो । बैंकहरूले ०७८ असारसम्मका लागि बढीमा ८५ प्रतिशत सीसीडी अनुपात कायम गर्नुपर्ने प्रावधान छ । हाल बैंकको सीसीडी अधिकतम सीमाभन्दा धेरै कम छ । यसले बैंकको कर्जा प्रवाह क्षमता बढी छ भन्ने देखाउँछ । ८४ वर्षअघि वि.सं. १९९४ मा नेपालको पहिलो बैंकका रूपमा यो बैंकको स्थापना भएको हो ।

प्रकाशित : कार्तिक ३०, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?