२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सात करोड लगानीमा हेली म्युजियम

लाङटाङमा उडान हुन नसकेर बिग्रिएको फिस्टेल एयरको हेलिकप्टर म्युजियममा छ
भवानी भट्ट

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकामा महेन्द्रनगर म्युजियमको पहिलो चरण सञ्चालन भएको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित म्युजियम शुक्रबारदेखि आंशिक रूपमा खुला भएको हो ।

सात करोड लगानीमा हेली म्युजियम

पूर्वपश्चिम राजमार्गअन्तर्गत भीमदत्त नगरपालिकाको भासीमा सञ्चालित म्युजियमको क्याप्टेन उप्रेतीले पत्रकार सम्मेलनमार्फत शुक्रबार शुभारम्भ भएको जानकारी गराए । धनगढी र काठमाडौंमा सञ्चालित म्युजियम सफल भएपछि ट्रस्टले महेन्द्रनगरमा पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विस्तार गर्ने गरी हेलिकप्टरसहितको म्युजियम सुरु भएको हो ।

७ वर्षदेखि निर्माणाधीन म्युजियम वैशाखमै सुरु गर्ने योजना भए पनि लकडाउनका कारण ढिलो भएको ट्रस्टका सञ्चालक क्याप्टेन उप्रेतीले बताए । उनका अनुसार महेन्द्रनगर म्युजियम निर्माण बाँकी भए पनि बाहिरी परिसर खुला गर्ने गरी म्युजियम खुला गरिएको उनको भनाइ छ । धनगढीको एयरक्राफ्ट म्युजियम र काठमाडौंको एभिएसन म्युजियमको सफल सञ्चालन पछि ट्रस्टले महेन्द्रनगरमा पनि हेली म्युजियम सञ्चालन गर्न लागेको हो । करिब ७ करोडको लागतमा उक्त म्युजियम सञ्चालन हुन लागेको उप्रेतीले जानकारी दिए । ‘पहिलो चरणमा म्युजियमको बाहिरी परिसर मात्रै खुला गरेका छौं,’ उनले भने, ‘भित्री म्युजियमको निर्माण कार्य पनि बाँकी छ, अहिले सरकारले पनि म्युजियम सञ्चालनमा रोक लगाएको अवस्था भएका कारण कोरोना संक्रमण रोकिएलगत्तै भित्री खण्ड पनि खुला हुनेछ ।’

लाङटाङमा उडान हुन नसकेर बिग्रिएको फिस्टेल एयरको हेलिकप्टरलाई ल्याएर क्याप्टेन उप्रेतीले म्युजियम सुरु गरेका हुन् । ‘यस क्षेत्रको पर्यटन विकासमा केही योगदान पुगोस् भनेर हामीले म्युजियम सुरु गरेका हौं,’ उनले भने, ‘यस क्षेत्रमा केही न केही योगदान पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

आगामी एक–डेढ महिनामा म्युजियमको भित्री कक्ष निर्माणपछि पूर्ण रूपमा म्युजियम सञ्चालन हुने उप्रेतीले बताए ।


प्रकाशित : कार्तिक २८, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?