कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

सोझा गाउँलेलाई ऋणको भारी

एकै व्यक्तिले कैयौं वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्न नसक्दा सामाजिक रुपमै संकट निम्तिने गरेको छ ।
रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ बीच टोलमा केही दिनअघि एक बिहान लघुवित्त संस्थाको बैठक बसिरहेको थियो । उक्त समयमा नजिकै स्थानीय एक व्यक्तिले झुन्डिएर आत्महत्या गरे । खैलाबैला मच्चियो ।

सोझा गाउँलेलाई ऋणको भारी

मृतक सोही समूहमा ऋण लिने महिलाका पति रहेको खुल्यो । २० हजार ऋण काढे पनि चुक्ता गर्न ४ हजार मात्र बाँकी थियो । पैसाको जोहो गर्न नसकेपछि निराश देखिएका उनको मृत्युको कारण लघुवित्तको ऋण र चुक्ता गर्नर् परेको दबाब मुख्य रहेको स्थानीयको भनाइ छ ।

स्थानीय ४३ वर्षीय अहिमान पुलामी मगरको मृत्यको कारण लघुवित्तको ऋणसँग जोडिएको स्थानीय दिलबहादुर मगर बताउँछन् । उनकी पत्नीका नाममा सिधुवा बजारमा रहेको एनएमबी लघुवित्तमार्फत ऋण लिइएको थियो । ऋण तिर्ने भाका कटेपछि दबाब दिँदै केही महिनाअघि लघुवित्त संस्थाका कर्मचारीले गोठको लैनो गाई फुकाएर लगेको मृतककी पत्नी यानमायाले बताइन् ।

‘अघिल्लो पटक ऋण लिएको ५० हजार रुपैयाँ लैनो गाईमा सदाएको थियो,’ उनले भनिन्, ‘पछिल्लो पटक २० हजार लिए पनि तिर्न ४ हजार मात्र थियो ।’ आयआर्जनको भरपर्दो स्रोत नभएपछि गाउँघरमा रहेको लघुवित्त विकल्प ठानेर ऋण लिन बाध्य रहेको उनको तर्क छ । ‘कि ऋण तिर, कि समूहमा बस्न पाउँदैनौ,’ भन्दै लघुवित्तका कर्मचारीले धम्क्याएको उनले बताइन् । दुई छोरा र एक छोरी नाबालक सन्तान छोडेर पतिले त्यस्तो कार्य गर्नेमा उनी रत्तिभर विश्वास गर्न सक्दिनन् ।

गाउँघरमा अनावश्यक रूपमा भित्रिएका लघुवित्त स्थानीयस्तरमा समस्याका रूपमा बल्झिँदै गएको गाउँपालिकाकी उपाध्यक्ष भीमकला श्रेष्ठ बताउँछिन् । लघुवित्त संस्थाले समूह जमानीमा महिलालाई मात्र ऋण प्रवाह गर्दै आएका छन् । एकै व्यक्तिले अधिक संस्थामार्फत ऋण लिने र तिर्न कठिनाइ हुँदा त्यससँग जोडिएर कयौं घटना भइसकेको उनको भनाइ छ । ‘समस्या समाधानका लागि खोलिएका हुन् कि समस्या बल्झाउन भन्ने अवस्थामा छ,’ उनले भनिन्, ‘पालिकाले प्रश्रय नदिए पनि थाहै नदिई पनि लघुवित्तका गतिविधि गाउँघरमा भित्रिँदा समस्या थपिएको छ ।’ अहिमान पुलामी मगरको मृत्यको घटना पनि ऋणसँग जोडिएको आफूले जानकारी पाएको उनले प्रस्ट्याइन् । यसबाट महिला नै बढी समस्यामा पर्ने उनले बताइन् ।

घटनाबारे एनएमबी लघुवित्तका प्रबन्धक लालचन चौधरीले भने आफूहरू मृत्युको कारण नभएको दाबी गरे । अघिल्लो पटक ऋण असुल गर्दा लैनो गाई गोठबाट फुकाएको भने उनले स्विकारे । बैठकमा चौधरी स्वयं सामेल थिए । ऋण चुक्ता गर्न मात्र भनेको तर कुनै दबाब नदिएको उनको भनाइ छ । यो एक प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय लघुवित्तको ऋणकै कारण बसाइँसराइ, पारिवारिक बेमेल, सम्बन्धविच्छेद र आत्महत्याका घटना हुने गरेको पालिकाका सदस्य शंकर ओझाले बताए । एक महिनाको अवधिमा लघुवित्त ऋण प्रकरणमार्फत नै आधा दर्जन घटना भइसकेको उनको भनाइ छ । कुन प्रयोजनका लागि लिएको हो भन्ने हेक्का नराखी ऋण प्रवाह गरी अनुगमन पनि नगरिने र समूह जमानीका कारण समस्या उब्जिएको छ । घरका नाममा बाँसको टाटीले बारेको छाप्रो छ । बनिबुतो गरेको कमाइले जोडेको टेलिभिजन र केही थान कुर्सी र दराज । तर ती सामग्री पनि लघुवित्त संस्थाले जफत गरेपछि यतिबेला रित्तो भएको छ ।

धनकुटा–४ स्थित स्कुलडाँडामा रहेको आरम्भ फाइनान्सले धनकुटा–६ खाल्डेका २२ वर्षीय मौसम राईका घरका सामग्री र नागरिकता प्रमाणपत्र जफत गर्‍यो । वर्ष दिनसम्म उक्त लघुवित्तले झुक्याएर कब्जा गरेको नागरिकता फिर्ता नगरेपछि उनी विवाह दर्ता तथा छोरीको जन्मदर्ता गर्नबाट वञ्चित भए । फाइनान्सले कर्जा चुक्ता नगरेको भन्दै सामग्री तथा नागरिकता खोसेको जनाएको छ । तर राई फाइनान्सका ऋणी भने होइनन् । उनका बाबुआमाले ऋण लिएर तिर्न नसकी फरार भएपछि त्यसको बदलामा छोराबाट असुलउपर गराउन सामान र नागरिकता जफत गरिएको फाइनान्सका म्यानेजर दीपक श्रेष्ठ बताउँछन् । घरमा रहेका टीभी, फर्निचर र नागरिकता लगिए पनि संस्थाले ती सामग्री लैजाँदा जनप्रतिनिधि तथा स्थानीयलाई रोहवरमा समेत राखेको छैन ।

‘समूह जमानी भएकाले जनप्रतिनिधिलाई रोहवरमा नराखिएको हो,’ म्यानेजर श्रेष्ठले भने, ‘समूहले सिफारिस गरेपछि ऋण उपलब्ध गराइने र रकम फिर्ता नभए समूहले जस्तो कारबाही पनि गर्न सक्छ ।’ बाबुआमाले लिएको ७५ हजार रुपैयाँको ब्याज तिर्दै आए पनि सामग्री र नागरिकता आफ्नो खोसिएको राईको भनाइ छ । साँवाब्याज तिर्न घर नजिकैको गाई फर्ममा राई दम्पती श्रम गर्दै आएका छन् । चर्को ब्याज तिर्न नसकेपछि केही परिवार विस्थापित पनि बनेका छन् । जिल्लामा दर्जनौं फाइनान्स खुलेका छन् । बिनाधितो ऋण दिने काम सकारात्मक भए पनि २३ प्रतिशतभन्दा बढीसम्म ब्याज असुल्ने गर्दा ऋणी मर्कामा परेको गुनासो चुलिएको छ । सीप लघुवित्त कार्यक्रमले चर्को ब्याजदरमा ऋण लगानी गर्ने गरेको धनकुटा–७ की सीता बस्नेतले बताइन् । समूहकी अध्यक्षसमेत रहेकी उनी चर्को ब्याजका कारण सर्वसाधारणले सहजै ऋण तिर्न नसक्ने बताउँछिन् । लघुवित्त कार्यक्रमले २३ प्रतिशत ब्याजदर लगाएर शोषण गरेको उनको भनाइ छ । ‘आफूले पैसा जम्मा गर्दा भने ८ प्रतिशत मात्र ब्याज पाइन्छ,’ उनले भनिन् ‘फाइनान्सलाई भने तीन गुणा बढी ब्याज, यो त अत्ति भयो ।’

‘गरिब तथा विपन्न वर्गको आर्थिक जीवनस्तर उस्कान’ भन्दै खोलिएका यस्ता संस्थाले महिला समूह जमानीमा ऋण उपलब्ध गराउँदै आएका छन् । एकै व्यक्तिले कयौं वित्तीय संस्थामा ऋण लिएपछि तिर्न नसक्दा सामाजिक रूपमा नै संकट निम्तिँदै गएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर राईको भनाइ छ । ‘यसले सामाजिक रूपमै चुनौती थपिएको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न सम्बन्धित पक्षको ध्यान जान जरुरी छ ।’ ती संस्थाले बिनाधितो ऋण लगानी गरेको भए पनि चर्को ब्याजदरका कारण मासिक रूपमा ब्याजसहितको किस्ता तिर्न नसक्दा समूह छाड्ने क्रम पनि बढेको छ ।

एक संस्थाले गठन गरेको सीप लघुवित्त कार्यक्रमबाट तीन वर्ष पहिले एकै पटक आफूलगायत आठ जनाले छाडेको धनकुटाको छथर जोरपाटीमा सञ्चालित चुलीबोटे महिला केन्द्रकी पूर्वसंयोजक विष्णुकुमारी राई लिम्बूले बताइन् । ऋण लिँदा विभिन्न शीर्षकमा पैसा काटेर माग गरिएभन्दा धेरै कम मात्र उपलब्ध गराउने उनको तर्क छ । जतिभन्दा कम दिने अनि पूरै पैसाको ब्याज सेवाग्राहीलाई तिराएर आर्थिक जीवनस्तर उकास्नुको साटो शोषण गरेको विष्णुकुमारीको आरोप छ । एकता महिला केन्द्र धनकुटा–७ की संयोजक धनमाया राईको पनि पीडा उस्तै छ । संस्थाबाट लिएको ऋणले आयआर्जनमा वृद्धि गरेर जीविकोपार्जन सहज हुनुको साटो मासिक रूपमा समूहबाट लिएको ऋणको उच्च ब्याजसहित किस्ता तिर्नुपर्दा झनै समस्या थपिने गरेको उनको भनाइ छ । १ लाख २० हजार ऋण लिँदा १ लाख १४ हजार ३ सय मात्र पाएको उनले जानकारी दिइन् । तर उनले १ लाख २० हजार रुपैयाँकै ब्याज तिर्ने गरेकी छिन् ।

प्रकाशित : कार्तिक २७, २०७७ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?