१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महासंघमा चुनाव होला कि सहमति ?

नेपाल उद्योग वाणिज्य महासंघमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उद्यमी–व्यवसायी हालको संकटका बेला पनि निर्वाचनका नाममा विभाजित, सँगै सहमतिको प्रयास पनि
कृष्ण आचार्य

काठमाडौँ — राजनीतिक दलहरूमा गुट–उपगुटबीच भइरहेका शृंखलाबद्ध बैठक जस्तै क्रियाकलाप निजी क्षेत्रमा पनि जारी छन् । आगामी मंसिर ११–१३ मा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी निर्वाचन हुने भएपछि गुटबन्दी मात्रै होइन, कोरोनाको पर्वाह नै नगरी दैनिकजसो भेला भइरहेका छन् । वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान यति बेला जिल्ला दौडाहामा छन् ।

महासंघमा चुनाव होला कि सहमति ?

प्रधानले पूर्वी जिल्लाहरूमा चुनावी प्रचारप्रसार गरिरहेका छन् भने ढकालले भर्खरै पश्चिमतर्फका जिल्लामा त्यो काम गरिसके । अब पूर्वी भेगको चुनावी प्रचारमा निस्कने ढकालको योजना छ । महासंघको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित व्यक्ति नै अर्को पटक स्वतः अध्यक्ष हुने व्यवस्था गरिएपछि त्यही पदलाई मुख्य मानी प्यानलसहित उद्यमी–व्यवसायी निर्वाचनमा होमिएका छन् ।

को–कस्तो ?

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशीमध्ये प्रधानसँग धेरै क्षेत्रको व्यापार–व्यवसायको अनुभव छैन । ठूलो उद्यम नभएकाले उनले निजी क्षेत्रको नेतृत्वदायी भूमिका गर्न नसक्ने उनका विरोधीहरूको आरोप छ । विद्युत्को पोल बनाउने एउटा कम्पनीका लगानीकर्ता हुन्, प्रधान । उनले निकै पहिले खोलेका एउटा ल्याब र गार्मेन्ट उद्योग बन्द भइसक्यो ।

प्रधानको तुलनामा विस्तारित व्यापार–व्यवसाय गरिरहेका अर्का उम्मेदवार ढकालको जनसम्पर्क एवं पहिचान फराकिलो मानिन्छ । तर उनले धेरै क्षेत्रमा हात हालेकाले निजी क्षेत्रका एजेन्डा सरकारसमक्ष सशक्त रूपमा उठाउन सक्दैनन् कि भन्ने आरोप उद्यमी व्यवसायीको छ । उनका थुप्रै व्यापार–व्यवसायमा राज्यको अनुमति तथा संरक्षण आवश्यक पर्ने भएकाले विपक्षीले यस्तो आरोप लगाइरहेका हुन् । ढकाल यस पटक निर्विरोध उपाध्यक्ष भएका हुन् भने प्रधानले अघिल्लो पटक शेखर गोल्छासित वरिष्ठ उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका थिए । त्यसबखत पराजय भोगिसकेका उनी जिल्ला/नगरतर्फको उपाध्यक्ष पद खाली भएपछि त्यसमा लडेर नेतृत्वमा आएका थिए । यस पटक फेरि उनले वरिष्ठ उपाध्यक्ष पदमै उम्मेदवारी दर्ता गराइसकेका छन् । प्रधानलाई वर्तमान अध्यक्ष भवानी राणा र अब स्वतः अध्यक्ष हुँदै गरेका वरिष्ठ उपाध्यक्ष गोल्छाले समर्थन गरेका छन् ।

ढकालले विवादास्पद छविका पूर्वअध्यक्ष चण्डी ढकाललाई चुनावी योजनाकार बनाएको भन्दै महासंघका वर्तमान एवं केही पूर्वअध्यक्षले असन्तुष्टि जनाएका छन् । ‘चण्डीलाई छाड्नुहुन्छ भने तपाईंकै समर्थनमा आफूहरू हिँड्छौं भनेर गोल्छा र राणाले चन्द्रलाई पटक–पटक भनिसकेका छन्,’ महासंघ कार्यकारिणी स्रोत भन्छ, ‘तर चन्द्रले चण्डीलाई छाड्न सकेका छैनन् ।’

पछिल्लो ४/५ कार्यकालयता प्रमुख पदमा चण्डीले समर्थन नगरेका उम्मेदवारले जित्न मुस्किल पर्ने गरेको पृष्ठभूमिले गर्दा पनि चन्द्रले उनको साथ लिएको अर्थ्याइन्छ । हालकी अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छा पनि चण्डीकै योजनामा नेतृत्वमा पुगेका हुन् । महासंघको विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने व्यवस्था पनि चण्डीकै अगुवाइमा भएको हो ।

बैंकको ऋण लिएर कालोसूचीमा परेको र महासंघमा भाँडभैलो मच्चाउने राजनीति गर्ने व्यक्ति भन्दै चण्डी ढकाललाई पूर्वअध्यक्षहरूको बैठकमा प्रायः बोलाइँदैन । बोलाए पनि उनी जाँदैनन् । चण्डीले करिब डेढ दशकअघि झापाको मोमेन्टो एपेरल्स प्रालिका नाममा राष्ट्रिय वाणिज्य बैंकबाट पटकपटक गरी करिब ३१ करोड रुपैयाँ ऋण लिएका थिए । त्यसको साँवाब्याज भुक्तानी नगरेकाले हाल बैंकलाई उनले तिर्नुपर्ने रकम करिब डेढ अर्ब पुगिसकेको छ ।

‘चण्डीमाथि आर्थिक लगानी गरिरहनुपर्ने र सहमतिका लागि पनि उनै बाधक देखिने भएपछि चन्द्रले यसबारे पछिल्लो समय पुनर्विचार गर्न थालेका छन्,’ स्रोत भन्छ, ‘त्यसकारण सहमतिको वातावरण बन्न सक्ने सम्भावना पनि देखिएको छ ।’

सहमतिको सम्भावना

सहमति प्रयासका लागि महासंघका सबैजसो पूर्वअध्यक्ष लागिपरेका छन् । यसबीच उनीहरू चार पटक बैठक बसिसकेका छन् । समन्वय र समझदारीको पहल गर्ने जिम्मा पूर्वअध्यक्षद्वय रविभक्त श्रेष्ठ र महेशलाल प्रधानलाई दिइएको छ । पूर्वअध्यक्षहरूको बैठकमा विनोदबहादुर श्रेष्ठ, पद्म ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, कुशकुमार जोशी र सुरज वैद्य सहभागी हुने गरेका छन् । रविभक्तका अनुसार, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वर्तमान अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छासहित केही बैठक भएका छन् ।

‘म कुनै पक्षको कार्यक्रममा सहभागी भए पनि सहमतिका लागि बाधक बन्दिनँ भनेर पूर्वअध्यक्षहरूलाई लिखित जानकारी दिएको छु,’ वरिष्ठ उपाध्यक्ष गोल्छाले भने, ‘मैले दुवै उम्मेदवारसित कुराकानी पनि गरिरहेको छु ।’ गोल्छाले अब जुन समूह आए पनि उनीहरूसँगै मिलेर काम गर्नुपर्ने हुन्छ । ‘यसकारण मैले कसैको पक्ष लिनुपर्ने थिएन । तर हाम्रो अभिभावक भनिएका पूर्वअध्यक्षले मलाई तेरो हैसियत के छ ? तेरो कार्यकाल असफल बनाइदिन्छु भनेर उद्घोष गरिदिएपछि म अर्को पक्षमा देखिएकै हुँ,’ उनले चण्डी ढकालतर्फ इंगित गर्दै भने, ‘उहाँकै कारण महासंघले आफ्नो साख गुमाइरहनुपरेको छ । म बाध्यतामा परेर प्रधानको पक्षमा देखिएको हुँ । यसबाहेक चन्द्र ढकालसित मेरो कुनै पनि मतभिन्नता छैन ।’

एक पूर्वअध्यक्षका भनाइअनुसार, ‘सहमति हुँदा प्रधानलाई कुनै सम्मानजनक ठाउँमा एडजस्ट गर्ने एउटा विकल्प हो । त्यसका लागि महासंघको मानार्थ वा विशिष्ट सदस्य बनाउनुपर्ने हुन सक्छ ।’ तर यस पटकको कार्यकालमा त्यो पदमा निवर्तमान अध्यक्ष मुरारकाको दाबी छ । हालकै कार्यकालमा चण्डी विशिष्ट सदस्य छन् । आफ्नो योजनाअनुसार निर्वाचित भइसकेपछि चण्डीले नै विशिष्ट सदस्य हात पार्दै आएका छन् । ‘सहमति भएर प्रधानलाई विशिष्ट सदस्य नभए पनि मानार्थ सदस्य बनाउन सकिन्छ,’ ती पूर्वअध्यक्षले भने, ‘यसका लागि प्रधान मात्रै हैन, प्रधानको प्यानल र उनलाई सहयोग गरिरहेका समूहको पनि सहमति आवश्यक छ ।’ महासंघमा विगतको अभ्यासअनुसार यतिले मात्रै प्रधानलाई नपुग्ला । ‘किशोर प्रधान उम्मेदवारीबाट पछाडि हटे निर्वाचनका दौरान हालसम्म भएको उनको खर्च चन्द्र ढकालले बेहोर्नुपर्ने हुन्छ,’ ती पूर्वअध्यक्षले भने ।

उम्मेदवारीबाट पछि हट्नेलाई अर्का उम्मेदवारले ठूलो आर्थिक सहयोग गर्ने ‘परम्परा’ नै महासंघमा स्थापित छ । सहमतिका लागि समन्वय गरिरहेका रविभक्त श्रेष्ठका अनुसार पूर्वअध्यक्षहरूको अर्को बैठक तिहारलगत्तै बस्दै छ । ‘अहिले कोरोनाले गर्दा उत्पन्न प्रतिकूल परिस्थितिमा निजी क्षेत्र बलियो हुनुपर्ने भएकाले यस पटक सहमतिका लागि निकै जोड दिइरहेका छौं,’ श्रेष्ठले भने, ‘चन्द्र र किशोरलाई बोलाएर पटकपटक कुरा गरिसकेका छौं । तिहारलगत्तै फेरि दुवै पक्षलाई बोलाएर छलफल गर्छौं ।’ सहमतिका लागि मुख्य जिम्मेवारी रविभक्त श्रेष्ठलाई दिनुको पनि खास कारण छ । व्यवसायसँगै महासंघको राजनीतिमा लामो समय खर्च गरेका श्रेष्ठ २०५६ सालमै अध्यक्षका दाबेदार थिए । उनले उम्मेदवारी पनि दिएका हुन् । तर प्रदीपकुमार श्रेष्ठसँग प्रतिस्पर्धा हुने भए पनि रविभक्तलाई छाड्न धेरैतिरबाट प्रस्ताव आयो । महासंघमा एकताको सन्देश दिन भनेर रविभक्तले प्रदीपकुमारलाई सघाए । प्रदीपपछि अर्को कार्यकाल रविभक्त सर्वसम्मत अध्यक्ष भए ।

‘एक कार्यकालपछि अध्यक्ष भएकोमा मलाई कुनै पछुतो भएन । बरु सर्वसम्मत हुँदा मैले निकै राम्रो गरी सबै क्षेत्रको साथ पाएँ,’ रविभक्तले थपे, ‘त्यसकारण यस पटक म मात्रै हैन, सबै पूर्वअध्यक्षहरूले त्यति बेलाको जस्तै सर्वसम्मत नेतृत्व छानौं र एकताको सन्देश दिऊँ भन्नुभएको हो ।’

रविभक्तको कार्यकालपछि महासंघमा सर्वसम्मत नेतृत्व चुनिएको छैन । यस पटक के होला ? ‘म जहिल्यै पनि सहमतिकै पक्षमा हुन्छु । सहमतिकै भरमा उम्मेदवार भएकाले विगतमा चुनाव लड्दा सबैभन्दा धेरै मत ल्याएको छु,’ ढकालले भने, ‘यो कार्यकालमा पनि उपाध्यक्ष सर्वसम्मत रूपमा चयन भएको हुँ । त्यसकारण मैले यस पटक पनि सहमतिको सम्भावना देखेको छु ।’ विवादास्पद पृष्ठभूमिका चण्डीसँगको सम्बन्धबारे उनले थपे, ‘जिल्लामा मेरो आफ्नै नेटवर्क छ । उहाँले मलाई सपोर्ट गर्नुभएको हो । उहाँले मात्रै मलाई बोक्नुभएको हैन ।’

अर्का उम्मेदवार प्रधानले पनि पूर्वअध्यक्षहरूले गरिरहेको सहमतिको पहललाई सकरात्मक रूपमा लिएका छन् । ‘तर मलाई औपचारिक जानकारी छैन । जुन दिन उहाँहरूले मलाई भन्नुहुन्छ, त्यही दिन कुरा हुनेछ,’ उनले भने, ‘जिम्मेवार व्यक्तिहरू बसेर सहमतिको वातावरण बनाउनु हुन्छ, निजी क्षेत्रको हितका लागि काम गर्नु हुन्छ भने म योगदान गर्न तयार छु ।’

प्रकाशित : कार्तिक २६, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?