२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जोगबनीबाट ९ करोड रुपैयाँ बराबरको भाइमसला र झिलिमिली बत्ती भित्रियो

विनोद भण्डारी

विराटनगर — तिहार र छठ पर्वलाई लक्षित गरी जोगबनी नाकाबाट एक करोड रुपैयाँभन्दा बढी बराबरको झिलिमिली बत्ती र सवा आठ करोडको भाइमसला आयात भएको छ ।

जोगबनीबाट ९ करोड रुपैयाँ बराबरको भाइमसला र झिलिमिली बत्ती भित्रियो

विराटनगर भन्सारका तथ्यांक शाखा प्रमुख दीपक कार्कीका अनुसार यसपटक १ करोड ३ लाख मूल्य बराबरका १ लाख ७९ हजार ८९१ झिलिमिली बत्ती आयात भइसकेको छ । प्रमुख कार्कीका अनुसार उक्त बत्ती आयात हुने क्रम जारी छ । विहारको विधानसभा निर्वाचनका कारण तीन दिन नाका बन्द हुँदा आयात प्रभावित भएको हो ।

गत वर्ष यो नाकाबाट १ करोड ४८ लाख ३२ हजार मूल्य बराबरको र अघिल्लो वर्ष १ करोड ३९ लाख २० हजार मूल्य बराबरको झिलिमिली बत्ती आयात भएको थियो । कार्कीले भने अरु एक सातासम्म यसको आयात हुन्छ ।

जोगबनी नाकाबाट यसपटक सोमबारसम्म फूल भने आयात भएको छैन । गत वर्ष यो नाकाबाट ५७ लाख ९६ हजार मूल्य बराबरको ६३ हजार ८२४ केजी फूल आयात भएको भन्सारको तथ्यांक छ । त्यसैगरी अघिल्लो वर्ष जोगबनी नाकाबाट ३५ लाख १२ लाख मूल्यको ६० हजार १८६ केजी फूल भारतबाट आयात भएको थियो ।

तिहार र छठ पर्वका नाममा मुलुकका सबै नाकाबाट सवा अर्ब मूल्य बराबरको भाइमसला भित्रिँदा जोगबनी नाकाको हिस्सामा ८ करोड २७ लाख ७६ हजार परेको छ । चालु आर्थिक वर्ष जोगबनी नाकाबाट नरिवल ५८ लाख ७१ हजार, काजु २ करोड ७७ लाख ३० हजार, हाडे बदाम ५ करोड ३ लाख ७१ हजार र किसमिस ८ लाख मूल्य बराबरको आयात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

गत वर्ष यो नाकाबाट भाइमसलाको नाममा नरिवल, काजु, छोकडा र किसमिस २० करोड ९३ लाख १३ हजार मूल्यको आयात भएको थियो । भन्सारको तथ्यांकअनुसार गत वर्ष ५७ लाख ६८ हजार रुपैयाँ बराबरको नरिवल, २ करोड ४३ लाख ६६ हजारको काजु, १७ करोड ७५ लाख ४६ हजारको छोकडा र १६ लाख ३१ हजार बराबरको किसमिस आयात भएको थियो ।

प्रकाशित : कार्तिक २५, २०७७ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?