कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

डिपो नहुँदा सस्तोमा धान

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रूपैयाँ तोकेको छ तर किसानले सस्तोमै बेच्नुपरेको छ
कमल पन्थी, शंकर आचार्य

बर्दिया/पर्सा — गुलरिया–७ का हरिराम यादव शुक्रबार धान बेच्न व्यवसायीकहाँ पुगे । सरकारले तोकेभन्दा करिब ७ सय रुपैयाँ कममा उनले धान बेच्नुपर्‍यो । उनी जस्तै मधुवन–८ का दिलबहादुर थारूले सरकारले तोकेभन्दा साढे ६ सय रुपैयाँ कममा धान बेचे । 

डिपो नहुँदा सस्तोमा धान

यादव र थारू जस्तै यहाँका सयौं किसान अहिले सरकारले तोकेभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन् । साविक नेपाल खाद्य संस्थान भएको खाद्य व्यवस्था व्यापार केन्द्र राजापुरको खरिद गर्ने डिपो गुलरियामा नहुँदा किसानले सस्तोमा धान बेच्नुपरेको हो ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ रुपैयाँ तोकेको छ । सरकारी संयन्त्र गाउँगाउँमा नहुँदा सरकारले निर्धारण गरेको मूल्यभन्दा कममा धान बेच्दै आएको किसानको गुनासो छ । यादव र थारूले धानको लागत मूल्य पनि उठाउन नसकेको गुनासो पोखे । व्यापारी र बिचौलियाले २ हजारदेखि २ हजार २ सय रुपैयाँसम्ममा किन्ने गरेका छन् ।

सदरमुकाम गुलरियाबाट झन्डै ४० किमि पश्चिममा रहेको खाद्य व्यवस्था केन्द्रले २ हजार ७ सय ३५ रुपैयाँमा धमाधम धान खरिद गरिरहेको छ । यस वर्ष ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको केन्द्रले जनाएको छ । खाद्य केन्द्रले गत वर्ष ५० हजार क्विन्टल खरिदको लक्ष्य राखेको थियो । गत वर्ष ४८ हजार क्विन्टल धान खरिद भएको थियो ।

मकवानपुर धान खरिद

खाद्य व्यवस्था व्यापार केन्द्र राजापुरले ६ वर्षपछि मकवानपुर (मध्यम) धान खरिद सुरु गरेको छ । राजापुर क्षेत्रको खेतमा ८० प्रतिशतभन्दा बढी मकवानपुर धान उत्पादन हुने गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुमति र रकम पठाएपछि मकवानपुर धान खरिद सुरु भएको हो । मकवानपुर धानको समर्थन मूल्य कायम नगर्दा यहाँका किसान मर्कामा परेका थिए । सरकारले मकवानपुर धानको मूल्य २ हजार ८ सय २० रुपैयाँ तोकेको छ । एक साताअघि खाद्य तथा व्यापार केन्द्रले मोटो धानको मूल्य २ हजार ७ सय तोकेपछि हालसम्म ४ हजार क्विन्टल धान खरिद गरेको केन्द्रले जनाएको छ ।

आधुनिक धान चामल कारखाना राजापुरले यस भेगको धान खरिद गर्ने गरेको छ । केन्द्रले गत वर्ष ५० हजार क्विन्टल धान खरिदको लक्ष्य राखेको थियो । गत वर्ष ४८ हजार क्विन्टल धान खरिद भएको थियो । यस वर्ष ८० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको छ । यस वर्ष राजापुर क्षेत्रमा करिब ७० हजार टन धान उत्पादन हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ कार्यक्रम बर्दियाका प्रमुख तपेन्द्रबहादुर शाहले बताए । गत वर्ष पनि यहाँ झन्डै ७० हजार टन धान उत्पादन भएको थियो ।

खाद्य कम्पनीले नै किनिदिएन

पर्साको जगरनाथपुर गाउँपालिकाका अगुवा किसान सहरूम राउतले गत साता धानबाली भित्र्याए । यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान बेच्ने उनको योजना थियो । तर कम्पनीको वीरगन्ज शाखाले हालसम्म धान खरिद गर्ने तयारी पनि गरेको छैन । ‘मेरो मात्र नभई धेरै किसानको धान बाली तयार भइसक्यो । मौसम बिग्रिने चिन्ता सबैलाई छ,’ उनले भने, ‘सरकारलाई धान बेच्ने योजनामा धेरै किसान छन् तर ढिलाइले गर्दा निजी कम्पनीलाई किसानले सस्तोमै धान बेच्नुपरेको छ ।’ हाल गल्ला व्यापारीले सोना मन्सुली धानको मूल्य मुस्किलले प्रतिक्विन्टल २ हजारदेखि २ हजार १ सय रुपैयाँसम्म दिएका छन् । ‘सस्तैमा धान बेच्न बाध्य छौं,’ किसान राउतले भने, ‘सरकारले धान बाली भित्र्याउनुअघि नै खरिद प्रक्रिया सुरु गरेको भए हाम्रो धानले उचित मूल्य पाउँथ्यो ।’

गत वर्ष कम्पनीको वीरगन्ज शाखाले मंसिरको पहिलो साताबाट धान किनेको थियो । गत वर्ष २० हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले माघ १० सम्म लक्ष्य भेटाएको थियो । ५ हजार क्विन्टल जिरा मसिनो धान खरिदको कोटा पाएको शाखाले जम्मा ३२ क्विन्टल २५ किलो मात्र धान किनेको थियो । यस वर्ष पनि धान खरिद गर्ने योजना छ । तर केन्द्रबाट यस सम्बन्धमा आवश्यक निर्देशन नआएको कम्पनीका वरिष्ठ सहायक मुनिलाल कुशवाहले जानकारी दिए । ‘केन्द्रबाट धान खरिदका लागि स्पष्ट निर्देशन आइसकेको छैन,’ उनले भने, ‘किसानले भर्खरै धान बाली भित्र्याउँदै छन्, अहिले नै किन्न थाल्दा भिजेको धान मात्र आउँछ ।’ सोना मन्सुली धानको खरिद मूल्य सरकारले निर्धारण गरेअनुसार नै हुने र जिरा मसिनोको प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने कुशवाहले बताए ।

प्रकाशित : कार्तिक २४, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?