कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तिहारलगत्तै नागढुंगा–सिस्नेखोला सुरुङ खनिने

सुरूङ खन्न आवश्यक पूर्वतयारीको काम जारी
विमल खतिवडा

काठमाडौँ — नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम सकिनै लागेको बताएको छ । कोभिड–१९ का कारण लामो समयदेखि रोकिएको काम पनि पुनः सुरु भएको आयोजनाले जनाएको छ । सुरुङ खन्दा आवश्यक पर्ने सपोर्ट राख्ने काम भइरहेको आयोजना निर्देशक नरेशमान शाक्यको भनाइ छ ।

तिहारलगत्तै नागढुंगा–सिस्नेखोला सुरुङ खनिने

‘पहिला सुरुङ खन्न आवश्यक पूर्वतयारीको काम सक्छौं,’ उनले भने, ‘तिहारलगत्तै सुरुङ खन्न थाल्छौं ।’ सुरुङ खन्न नौ सय टन विस्फोटक पदार्थ लाग्ने अनुमान गरिएको उनले बताए । त्यसमध्ये तीन सय टन विस्फोटक पदार्थ ल्याउन आयोजनाले नेपाली सेनाबाट स्वीकृति लिइसकेको छ । ‘पहिलो लटमा भारतबाट ६० टन विस्फोटक पदार्थ आउँदै छ,’ शाक्यले भने, ‘केही दिनभित्र नेपाल आउँछ ।’ स्वास्थ्य सावधानी अपनाएर आयोजनाका काम जारी राखिएको उनले बताए ।

आयोजना शिलान्यास भएको एक वर्ष भयो । ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि कामले त्यति गति लिन सकेको छैन । ‘कोभिड–१९ पछिको लकडाउनले आयोजनाको काममा ठूलो असर पुग्यो,’ उनले भने, ‘त्यसैले काममा सोचेअनुरूप प्रगति हुन सकेन ।’ उनका अनुसार अहिलेको सुरुङको मुख्य काम थालेपछि काममा प्रगति देखिनेछ । आयोजनामा चाहिने जापानी प्राविधिक आएका छन् । फिल्डमै उनीहरूको २० जनाको प्राविधिक टोली छ । ‘आवश्यकताअनुसार थप प्राविधिक टोली पनि आउँछन्,’ शाक्यले भने । निर्माणस्थलमा अहिलेसम्म दुई सय कामदार छन् । यति बेला कोभिड–१९ को त्रास रहे पनि काम रोकिएको छैन । ‘स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएरै काम गरेका छौं,’ शाक्यले भने, ‘कामदार र विज्ञ आउँदा नियमअनुसार क्वारेन्टाइनमा बसेर मात्र काममा जाने गरेका छन् ।’ उनका अनुसार निर्माणमा प्रयोग हुने ९८ प्रतिशत इक्विपमेन्ट आइसकेको छ । ‘निर्माणमा अब त्यस्तो खासै समस्या छैन,’ उनले भने, ‘थोरै धादिङतिरको जग्गामा समस्या छ, त्यो पनि तिहारपछि सल्टिनेछ ।’ मुआब्जाको काम ८५ प्रतिशत टुंगिइसकेको छ ।

‘निर्माणस्थलमा पर्ने दुई–चार वटा घर खाली नगर्दा समस्या देखिएको छ, त्यसलाई चाँडै समाधान गर्नेछौं,’ उनले भने । आयोजनाका अनुसार लकडाउनकै समयमा स्वास्थ्य सावधानी अपनाएर सुरुङसम्म पुग्ने सडक निर्माण गरियो । निर्माण कम्पनी जेठ तेस्रो साताबाट सुरुङ निर्माणको काम थाल्ने तयारीमा थियो । जेठमै सुरुङ खन्ने भनेर आयोजना निर्माण कम्पनीले योजना पेस गरेको थियो । तर विस्फोटक पदार्थ ल्याउन स्वीकृति दिन ढिलाइ गर्दा सुरुङको काम थाल्न चार महिना ढिला भएको हो । त्यस्तै समयमै साइट क्लियर गर्न नसक्दा शिलान्यास भएको वर्ष दिनसम्म पनि खासै प्रगति नदेखिएको हो ।

विस्फोटक पदार्थ, मुआब्जा र कोभिड–१९ को समस्याले गर्दा आयोजनाको काम समयमै सुरु हुन सकेन । जसले गर्दा तोकिएकै समयमा आयोजना सम्पन्न हुने देखिँदैन । जापानी कम्पनी हाज्मा एन्डोले आयोजना निर्माणको जिम्मा लिएको छ । प्राविधिक सबै जापानी छन् । २ दशमलव ६८ किमि दूरी रहने सुरुङ निर्माणका लागि जापानको साढे १६ अर्ब ऋण सहयोग छ । निर्माण ठेक्का भने साढे २२ अर्ब रुपैयाँको छ । जसमा ६ अर्ब नेपाल सरकारको रहेको छ ।

प्रकाशित : कार्तिक २२, २०७७ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?