१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रहस्यको चौघेरामा चामल प्रकरण : प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री !

शर्माले आफ्नो गोदाममा रहेको गत वर्षको मौज्दात चामल सस्तो मूल्यमा पठाउन लागिएको बयान प्रहरीलाई दिएका छन् । यसले अनुदानको चामलमा हुने गरेको घोटालाको शृंखला विगत वर्षहरूबाटै भएको खुल्न आउँछ ।
कलेन्द्र सेजुवाल

सुर्खेत — शर्मा ढुवानी सेवाले अवैध मात्र होइन, अस्वाभाविक मूल्यमा चामल बिक्री गर्ने गरेको खुलेको छ । खरिद गरेभन्दा साढे ९ रुपैयाँ सस्तोमा बिल काटेको भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीले भन्यो, ‘आखिर घाटाको व्यापारभित्र के रहस्य छ भन्ने हामी हेर्दै छौं ।’

रहस्यको चौघेरामा चामल प्रकरण : प्रतिकेजी साढे ५१ मा किनेर ४२ मा बिक्री !

ढुवानी सेवाले खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट जापानी चामल प्रतिकेजी ५१ रुपैयाँ ५० पैसामा खरिद गरेको थियो । दुर्गा भगवती इन्टरप्राइजेजले भक्तपुरको अजय खाद्यान्न सप्लायर्सलाई पठाएको बिलमा भने प्रतिकेजी ४२ रुपैयाँ उल्लेख छ । दुर्गा भवानी र शर्मा ढुवानीका मालिक एउटै व्यक्ति (वासुदेव शर्मा) हुन् । मुगुको कालै बिक्री केन्द्रका लागि कम्पनीबाट उठाइएको चामल भक्तपुर पठाउने क्रममा सुर्खेत प्रहरीले कात्तिक १३ मा सुब्बाकुना चेकपोस्टबाट नियन्त्रणमा लिएको थियो । सुर्खेत प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले भक्तपुर प्रहरीको सहयोगमा अजय खाद्यान्नमाथि पनि अनुसन्धान भइरहेको बताए । ‘चामल कहाँ र कति रुपैयाँमा बिक्री गर्ने गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘गायब बनाइएको चामलसमेत कहाँ छ भन्नेबारे खोजी गरिरहेका छौं ।’

शर्मा ढुवानी सेवाले असोज २३ देखि २६ सम्म कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट १ हजार क्विन्टल जापानी चामल र कात्तिक ५ मा १ सय क्विन्टल अरुवा मोटो चामल उठाएको थियो । त्योमध्ये भक्तपुर पठाउने क्रममा २ सय ५० क्विन्टल नियन्त्रणमा लिइएको छ भने करिब ६० क्विन्टल शर्माको वीरेन्द्रनगरस्थित गोदाममा र ६० क्विन्टल कालै बिक्री केन्द्रमा छ । बाँकी ७ सय ३० क्विन्टल चामल कहाँ छ भन्नेमा प्रहरी अनुसन्धान निचोडमा पुग्न सकेको छैन । ‘प्रहरी नियन्त्रणमा रहेका ढुवानीकर्ताबाट त्यो चामल कहाँ कसलाई बेचियो भन्नेबारे सहजै थाहा पाउन सकिन्छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका कर्णाली प्रदेश संयोजक आकाशतारा वयक भन्छन्, ‘कम्पनीको गोदामबाट उठाइएको र भेटिएको चामलको परिमाणले अनुसन्धानलाई अझ गहिराइमा पुर्‍याउनुपर्ने आवश्यकता खड्किएको छ ।’ नभेटिएको भनिएको चामलका साथै यस प्रकरणमा जोडिएका अन्यको पनि खोजी गरिनुपर्नेमा उनले जोड दिए ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार शर्माले आफ्नो गोदाममा रहेको गत वर्षको मौज्दात चामल सस्तो मूल्यमा पठाउन लागिएको बयान प्रहरीलाई दिएका छन् । यदि त्यसो हो भने अनुदानको चामलमा हुने गरेको घोटालाको शृंखला विगत वर्षहरूबाटै भएको खुल्न आउँछ । किनकि शर्माले गत आर्थिक वर्षमा मुगुको कालै तथा पुलु बिक्री केन्द्र र डोल्पाको दुनै डिपोको लागि ४ हजार ९ सय क्विन्टल चामल ढुवानीको जिम्मा लिएका थिए । कम्पनीको सुर्खेतस्थित शाखा कार्यालयका अनुसार तीन वटै स्थानमा चामल पुर्‍याएर बिक्रीसमेत भइसकेको छ । ‘गत आवको चामल ढुवानी भएर लेखा परीक्षणसमेत भइसकेको छ,’ शाखा प्रमुख माधव मिश्रले भने, ‘अहिले अनुसन्धानको दायरामा आएको चामल चालु आवकै हो ।’

अनुसन्धानका लागि मंगलबार पक्राउ गरिएका कम्पनी सञ्चालक शर्मा भने छातीको समस्या देखाउँदै अस्पताल भर्ना भएका छन् । एसपी भट्टले बिहीबार साँझ उनलाई अस्पताल लगिएको र चिकित्सकको सिफारिसअनुसार त्यहीँ राखेर निगरानी गरिएको बताए ।

नियन्त्रणमा लिएपछि रकम भुक्तानी

शर्मा ढुवानी सेवाले गोदामबाट चामल उठाएबापत भुक्तानी गर्नुपर्ने रकम अनुसन्धान सुरु भएको चौथो दिन मात्र बैंकमा जम्मा गरेको पाइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार शर्मा ढुवानीले एक हजार क्विन्टल जापानी चामलको ५१ लाख ५० हजार र १ सय क्विन्टल अरुवा मोटो चामलको ४ लाख ७० हजार (प्रतिकेजी ४७ रुपैयाँको दरले) गरी कुल ५६ लाख २० हजार रुपैयाँ बैंकमा दाखिला गरेपछि मात्र चामल उठाउन पाउँथे । तर ढुवानी सेवाले असोज १६ मा नेपाल बैंक लिमिटेडमा रहेको खातामा ५० लाख रुपैयाँ जम्मा गरेर चामल उठाएको थियो ।

चामल नियन्त्रणमा लिएर अनुसन्धान थालिएपछि कात्तिक १७ मा शर्माले बैंकमा ५ लाख रुपैयाँ जम्मा गरेका छन् । कम्पनीका तत्कालीन शाखा प्रमुख भीम थापाले शर्माको नाममा अघिल्लो आवको रकम मौज्दात रहेको भन्दै ‘उधारो’ मा चामल दिएका थिए । ढुवानी सेवाले अघिल्लो आवको करिब ७ लाख ३३ हजार ९ सय ६५ रुपैयाँ कम्पनीबाट लिनुपर्ने थियो । ‘सायद ढुवानीकर्ताको रकम कम्पनीसँग रहेकाले पूरा मूल्य जम्मा नगरेरै चामल दिइएको हुनुपर्छ,’ असोज २८ देखि शाखा प्रमुखको जिम्मेवारी सम्हालेका मिश्रले भने, ‘यसमा खासै अस्वाभाविक काम भएजस्तो लाग्दैन ।’

यद्यपि कम्पनीका कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कम्पनीकै केन्द्रीय कार्यालयले आ–आफ्ना तर्फबाट अनुसन्धान थालेका छन् । अख्तियारका उपसचिव देवकुमार राईको टोली स्थलगत अनुसन्धानका लागि मुगु पुगेको छ भने कम्पनीको टोली सुर्खेत आउँदै गरेको शाखा प्रमुख मिश्रले बताए ।

कहाँ बिक्री हुन्छ जापानी चामल ?

कर्णालीका जनताका लागि नेपाल सरकारले पठाएको जापानी चामल बजारमा किन्न पाइँदैन । कुपोषणलाई समेत दृष्टिगत गर्दै पौष्टिक तत्त्व बढी भएको जापानी चामल कर्णालीमा पठाउने गरिएको छ । यो चामलको भात गिलो भए पनि खाँदा स्वादिलो हुने गर्छ । ‘जापानी चामलको भात खाएपछि ढिलो भोक लाग्छ, शारीरिक काम गर्ने मान्छेको लागि उत्तम हुने गर्छ,’ मिश्र भन्छन्, ‘त्यसैले कर्णालीलाई लक्षित गरी जापानी चामल पठाइएको हुनुपर्छ ।’

तर ढुवानीकर्ताले यो चामल कर्णाली पठाउनुको साटो सहरमै बिक्री गर्नुको पछाडि यसको फरक खाले महत्त्व छ । जापानी चामल भातभन्दा खिर बनाउन बढी उपयुक्त हुने गर्छ । भक्तपुर–ललितपुरका नेवार समुदायमा यसको रक्सी (वासा) समेत बनाइन्छ । ‘कर्णालीका गाउँघरमा नरुचाइने यो चामल सहर–बजारमा महँगोमा बिक्री हुन्छ,’ एक व्यवसायीले भने, ‘एकातिर चामलको भाउ बढी पाइने, अर्कोतिर ढुवानी भाडा पनि झ्वाम पारिने भएपछि कर्णालीको चामल भक्तपुरतिर पठाइने गरिएको हुन सक्छ ।’ खाद्य कम्पनीका कर्मचारीसँग मिलेमतो नगरी कर्णालीका लागि आएको चामल अन्यत्रै बिक्री गर्न भने नसकिने उनले दाबी गरे ।


प्रकाशित : कार्तिक २१, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?