३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विद्यालयमा पर्यटन र पर्वतारोहण शिक्षा

हरिराम उप्रेती

गोरखा — स्वरोजगारमूलक शिक्षामा जोड दिँदै धार्चे गाउँपालिका–४ लाप्राकको मणिकामादेवी माविले पर्यटन र पर्वतारोहणसम्बन्धी पढाइ सुरु गरेको छ ।

विद्यालयमा पर्यटन र पर्वतारोहण शिक्षा

पर्यटनमा आकर्षण बढाउन ११ र १२ कक्षामा यी विषयको पढाइ सुरु गर्ने विद्यालय गण्डकी प्रदेशकै पहिलो हो । गाउँपालिका क्षेत्रका ७५ प्रतिशत युवा पुस्ता पर्यटन क्षेत्रमा आबद्ध रहेकाले व्यावहारिक एवं सैद्वान्तिक ज्ञान बढाउन पढाइ थालिएको प्रधानाध्यापक धनकुमार गुरुङले जानकारी दिए ।

गत वर्ष अनुमति लिएर यस वर्ष कक्षा ११ मा अनिवार्यबाहेक ऐच्छिक विषयमा पर्यटन र पर्वतारोहणलाई समावेश गरिएको उनले बताए । ‘प्रायः स्थानीय प्रत्यक्ष, अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा आबद्ध छन्, यसो हुँदा अभिभावकले पनि छोराछोरीलाई यो विषय अध्ययन गर्न जोड दिएका छन्,’ उनले भने, ‘विद्यार्थीको आकर्षण बढेको पाएका छौं ।’ यस वर्ष कक्षा ११ मा ४७ विद्यार्थी पर्यटन र पर्वतारोहण विषय अध्ययनका लागि भर्ना भएका छन् । ‘भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण दिइसकिएको छ,’ उनले भने । पर्यटन क्षेत्रमा आकर्षण बढे पनि ज्ञानको अभावले रुमलिएका विद्यार्थीलाई लक्ष्य गरी पठनपाठन सुरु गरेको उनको भनाइ छ । ‘सम्बन्धित विषयको ज्ञान पाएपछि अभिभावकलाई पनि सजिलो हुने भयो, स्वरोजगार बन्न अझै सजिलो हुन्छ,’ उनले भने । विद्यालय तहमा पर्यटन र पर्वतारोहणसम्बन्धी अध्ययन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र विद्यालयले समझदारी गरेका छन् । यसअनुसार प्रतिष्ठानले ११ र १२ मा पर्यटन र पर्वतारोहणसम्बन्धी विषय अध्यापन गराउने अनुभवी प्रशिक्षक उपलब्ध गराउन सहयोग गर्नेछ ।

दुवै विषयको पाठ्यक्रम र अध्ययन सामग्री पनि उपलब्ध गराउने प्रतिष्ठानका निर्देशक उत्तम भट्टराईले जानकारी दिए । ‘नयाँ कोर्स छ, पढाउने कन्टेट नयाँ छन्,’ उनले भने ।पर्यटन र पर्वतारोहणसम्बन्धी अध्ययनको प्रबन्ध भने विद्यालयले नै मिलाउने सम्झौतामा छ । ‘धार्चे गाउँपालिका र लाप्राकको परिवेशमा मात्र हेर्दा प्रायः स्थानीय पर्यटन क्षेत्रमा आबद्ध छन्,’ उनले भने, ‘पर्यटन भावी पुस्ताका लागि पनि सम्भावित क्षेत्र हो, पर्यटनको हब तथा माटो सुहाउँदो पढाइ हुने भएपछि सीप सकेर व्यवहारमा लागू गर्न पनि सजिलो पर्छ ।’

प्रकाशित : कार्तिक १८, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?