२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

चियाबारीमा लिंगेपिङ र एक्सरसाइज पार्क

विप्लव भट्टराई

इलाम — सदरमुकामको विद्यालयमा कक्षा ११ मा अध्ययनरत रमिला काफ्ले शुक्रबार इलाम चियाबगानमा रहेको लिंगेपिङ खेल्न प्रतीक्षामा थिइन् । उनीसहित टिममा रहेका सबैले घण्टौं त्यहाँ बिताए । परिवारसहित त्यहाँ भेटिएका भवानी गौतमभन्दा धेरै खुसी उनका बालबालिका पार्कमा भेटिन्थे ।

चियाबारीमा लिंगेपिङ र एक्सरसाइज पार्क

झापाबाट ससुराली आएका पारस राईलाई पनि छ्यांग खुलेको आकाशमुनि देखिएको हराभरा चियाबारी, पार्कमा राखेका विभिन्न एक्सरसाइज सामग्री र यसपटक बिरलै देखिएको लिंगेपिङले दिन बिताउन कठिन भएन ।

कोरोना महामारीका कारण यसपटकको चाडबाडमा खासै रौनक आएन । गएको चैतदेखि नै लकडाउन खेप्ने बानी परेकाहरूले घरघरमै बसेर पर्व मनाए । कोरोनाको प्रकोप तत्काल नहट्ने संकेत देखिए पनि दसैं–तिहारजस्ता चाडबाड र पर्यटकीय मौसम भएकाले इलाम बजार नजिकैको चियाबारीमा रहेको निःशुल्क एक्सरसाइज पार्कमा धेरैले मन बहलाउने गरेका छन् ।

विद्यालय बन्द भएकाले ८ महिनादेखि बालबालिका घरमै बन्धकझैं छन् तर यही बेला हराभरा चियाबारीबीच खोलिएको यो पार्कले बालकालिकालाई मन बहलाउन गतिलै सहयोग पुगेको छ । इलाम बजार आसपास र घुमघामका लागि आएकाहरूका लागि यो पार्क अब्बल विकल्प बनेको हो । ‘घरमा मात्रै बस्दा बालबालिकाको दिमागमै नकारात्मक असर परिरहेको छ,’ गौतमले भने, ‘पर्याप्त सुरक्षा सजगता अपनाएर बेलामौकामा बालबालिकालाई यस्तो रमाइलो गर्ने अवसर मिलाउँदा उति फरक नपर्ला ।’

इलाम नगरपालिका पर्यटन समितिले पार्क सञ्चालन गरेको हो । यही पार्कमा दसैंको अवसरमा लिंगेपिङमा हुइँकिएर चिया बगानको दृश्यमा रम्ने अवसर मिलाइएपछि आसपासका होमस्टे र ससाना व्यवसायीलाई पनि राहत मिलेको छ । ‘कोरोना महामारीले व्यवसाय ठप्प रहेकाले दैनिक गुजारा चलाउनै कठिन छ,’ मुकुमलुङमा होमस्टेका सञ्चालक भीम एक्तेनले भने, ‘सुरक्षा सावधानी अपनाएर भए पनि व्यवसाय धेरथोर चलाउन पाउँदा केही राहत भएको छ । किरातहरूको मौलिकता झल्कने प्रतिमासहित किरात राईहरूको धार्मिक स्थल पनि रहेकाले त्यहाँ पुग्नेका लागि समय बिताउन थप सहज भएको छ । लामो समयदेखि घरमै रहेका बालबालिकालाई मन बहलाउन र ठप्प रहेको पर्यटन व्यवसायलाई ब्युँताउन गरिएको यो प्रयास स्वागतयोग्य भए पनि कोरोना महामारी बढ्दै गएकाले सुरक्षा सतर्कता अपनाउन कुनै कन्जुस्याइँ गर्न नहुने सरोकारवालाले सुझाउँदै आएका छन् ।

प्रकाशित : कार्तिक १८, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?