बक्यौता नतिरी मिल सञ्चालनको तयारी

किसानको भुक्तानी नदिएकै कारण गत वर्ष अन्नपूर्ण चिनी मिल सञ्चालनमा आउन सकेन
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको दक्षिणी क्षेत्रका सयौं किसानको करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारीमा जुटेको छ ।

बक्यौता नतिरी मिल सञ्चालनको तयारी

किसानको भुक्तानी नदिएकै कारण यो उद्योग गत वर्ष सञ्चालनमा आउन सकेन । यस वर्ष भने बक्यौता भुक्तानी चुक्ता गरेर मिल सञ्चालनको तयारी भइरहेको उद्योग प्रशासनले जनाएको छ ।

अहिले दिनहुँ टेक्निसियनसहित दर्जनौं कामदार मेसिन मर्मत तथा सरसफाइमा जुटेका छन् । किसानलाई दिनुपर्ने बाँकी भुक्तानी सकेर चिनी उद्योग सञ्चालन गरिने उद्योगका उखु प्रबन्धक अजित सिंहले जानकारी दिए । ‘अब भुक्तानीमा झमेला हुँदैन भनेर बुझेको छु, त्यहीअनुसार हामी पनि काममा खटिएका छौं,’ उनले भने । अन्नपूर्णले स्थापना कालदेखि नै भुक्तानीमा आनाकानी गर्दै आएको छ । उद्योगले किसानको अझै २४ करोड रुपैयाँ दिन बाँकी छ । अहिले पनि केन्द्रीय कार्यालय काठमाडौंबाट किसानलाई थोरै–थोरै रकम भुक्तानी भइरहेको सिंहले बताए ।

यता दुई वर्षअघि उत्पादित पाँच हजार क्विन्टल चिनी र १४ हजार क्विन्टल मोलासिस उद्योगको गोदाममै थन्केको छ । उद्योगले किसानको भुक्तानी नदिएपछि गोदाममा रहेको चिनी किसानले रोकेका थिए । स्टोरमा थन्केको चिनी र मोलासिस कामै नलाग्ने अवस्थामा पुगेको उद्योगका स्टोर म्यानेजर एचपी शुक्लाले बताए । ‘किसानको भुक्तानी र स्टोरको सामान निकाल्ने–नलिकाल्नेबारेको निर्णय केन्द्रीय कार्यालयबाट मात्र हुन्छ, हामीलाई केही पनि थाहा हुँदैन,’ शुक्लाले भने, ‘गोदाममा थन्केको सामान कामै नलाग्ने भएको छ ।’

किसानले भने अन्नपूर्णले भुक्तानी नगरे उद्योग चल्नै नदिने बताएका छन् । बक्यौता तिरेर उद्योग चलाए पनि यस वर्ष अन्नपूर्णलाई उखु नदिने अडानमा किसान छन् । अन्नपूर्णले आफूहरूलाई ऋणमा डुबाइदिएको उनीहरूको गुनासो छ । नगदे बाली भनिएको उखुको वर्षौंअघिको भुक्तानी नपाउँदा यस क्षेत्रका किसान मारमा छन् । उनीहरूलाई उखु खेती निल्नु न ओकल्नु भएको छ । यस वर्ष अन्नपूर्ण चिनी उद्योग सञ्चालनको तयारी गरिरहे पनि किसानले अहिलेदेखि नै क्रसर उद्योगमा उखु बेच्न थालेका छन् । भुक्तानी नदिने उद्योगको बाटो कुर्नुभन्दा कम मूल्यमा क्रसर उद्योगलाई उखु बिक्री गर्नु ठीक लागेको बसवरियाका रामजी रायले बताए ।

सिँचाइ सुविधा नभएका कारण यस क्षेत्रका किसानसँग उखु खेतीको विकल्प छैन । उखुको भुक्तानीका लागि उद्योगीले जालझेल गर्न थालेपछि बर्सेनि आन्दोलन गर्नुपर्ने किसानको बाध्यता छ । २६ हजार हेक्टर क्षेत्रफलसम्ममा उखु खेती हुँदै आएको सर्लाहीमा भुक्तानीमा समस्या हुन थालेपछि बिस्तारै घट्दै गएको छ ।

प्रकाशित : कार्तिक १७, २०७७ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?